नेपाल–कतार श्रम सम्झौता परिमार्जन प्रस्ताव



काठमाडौं, (नेस)
नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता परिमार्जन गर्ने विषयमा छलफल भएको छ ।छलफलबाट दुई देशका अधिकारी सम्मिलित प्राविधिक समितिमार्फत पहल गरिने जनाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र कतारका श्रम तथा सामाजिक मामिलामन्त्री युसुफ महम्मदबीच आइतबार राति भएको द्विपक्षीय भेटवार्ताका क्रममा सो विषयमा छलफल भएको हो । मन्त्री विष्ट सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जीसीएम) महासभामा सहभागी हुन मोरक्को पुग्नुभएका मन्त्री विष्टसँगको भेटवार्ताका क्रममा दुई देशबीच आप्रवासी श्रमिकका विभिन्न पक्षबारे गम्भीर छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रवासी श्रमिकका पक्षमा विभिन्न कल्याणकारी कार्यक्रम सुनिश्चित र आप्रवासी श्रमिकका अधिकार तथा संवेदनशीलता सम्बोधन गर्ने विषयमा समेत दुई देशबीच छलफल भएको थियो । भेटका क्रममा मन्त्री विष्टले नेपालमा लगानीको सम्भावना प्रवल रहेकाले जलविद्युत् कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह गर्नुभएको थियो । मन्त्री विष्टले कतारी समकक्षीलाई नेपाल भ्रमणका लागि आमन्त्रण समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्