भिक्षुणीले बनाई दिईन २ करोडको विद्यालय



मोतीराम तिमल्सिना, काभ्रे
जिल्लाको पाँचखाल नगरपालिका स्थित आजाद माध्यमिक विद्यालय बालुवामा कोरियन नागरिक भिक्षुणी मानोले ९० वर्षको उमेरमा आफ्नो सम्पती विक्री गरेर ८ कोठे पक्कि भवन सहितका विद्यालयका संरचनाहरु निर्माण गरिदिएकी छिन् ।

अम होङ्ग ह्युमन फाउण्डेशन मार्फत उनले गरेको सहयोगलाई फाउण्डेशनका डाईरेक्टर क्याप्टेन अम होङ्ग गिलले आजाद माध्यमिक विद्यालयसम्म ल्याएका थिए । १६ पटक सफल पर्वतारोहण गरेका गिलले भुकम्पबाट क्षति भएका विद्यालयहरु मध्ये १६ वटै पुनर्निर्माण गर्ने प्रतिवद्धता अनुसार १७ वटा विद्यालय नेपालका विभिन्न स्थानमा निर्माण गरिदिएका छन् ।

आजाद मावी बालुवाको भवन १४ औ विद्यालय हो । रोल्पामा १५ औ विद्यालय निर्माण भई हस्तान्तरण गरिएको छ भने काठमाडौमा निर्माण भईरहेका दुई विद्यालय निर्माणको अन्तिम चरणमा रहेको डाईरेक्टर गिलले बताए । १ करोड ९५ लाख रुपैया खर्च गरी निर्माण भएको विद्यालयको ८ कोठे पक्कि भवनमा कप्युटर ल्याब सहित रहेको छ । कम्प्युटर सामाग्री तथा कक्षा कोठामा आवश्यक पर्ने फर्निचर समेत उक्त संस्थाले सहयोग गरेको छ ।

कम्प्युटर ल्यावका लागि कोरियन रोटरियनहरुले सहयोग गरेका थिए । पक्कि भवनका कक्षा कोठाहरुमा आरामदायी रुपले ४० जना विद्यार्थीहरु बस्न सक्नेछन् । खेलकुदका सामानहरु, छात्रछात्राका लागि अलग अलग शौचालय निर्माण, विद्यालय घेराबार, बगैचा तथा खेलकुदका बालउद्यान सँग सम्वन्धित सामाग्रीहरु समेत विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

झण्डै ८ सय विद्यार्थीहरु अध्ययन गर्ने उक्त विद्यालयका विद्यार्थीहरुलाई फाउण्डेशनले शैक्षिक सामाग्री, विद्यालय पोशाक तथा स्टेशनरी समेत वितरण गरेको थियो ।

कार्यक्रममा प्रदेश सभा सांसद लक्ष्मण लम्साल, पुर्व मन्त्री गंगालाल तुलाधार, फाण्डेशनका डाईरेक्टर अम होङ्ग गिल, विद्यालयका प्रधानाध्यापक प्रल्हादप्रसाद तिमल्सिना, फाउण्डेशनका नेपालका डेपुटी डाईरेक्टर संजीव हुमागाई लगायतले विद्यालय निर्माणमा गरेको सहयोगका बारेमा बताएका थिए । भुकम्पले क्षति पुगेको उक्त विद्यालयको भवन ९ महिनामै तयार भएको विद्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्