लिपस्टिक–पाउडर लगाएको लोकतन्त्र



जब मानिसलाई महँगी, बेरोजगार, असुरक्षा, धूलो धुवाँ र सवारी लथालिङ्ग र जामले सताइराखेको हुन्छ, तब मान्छेले यो लिपस्टिक–पाउडर लगाएको लोकतन्त्र मात्र रहेछ भन्ने आभास गर्दछ । एकहिसाबले मानिसको तर्क पनि सही हो, कारण लोकतान्त्रिक मुलुकमा आलोचना र खण्डन त गर्न पाइन्छ नि !

जब घरमा कमाउने एकजना हुन्छ, खाने मान्छे धेरै हुन्छन्, त्यसमाथि एक–दुईजना लालची र अप्ठ्यारा सदस्य हुन्छन् भने त्यो घरमा सधैँ भाँडभैलो हुन्छ । हाम्रो मुलुकको विकास नहुनुको कारण पनि यही नै हो । सधैँ भ्रष्टाचार, बढी भत्ता, पेन्सन, औषधि उपचार, मनोरञ्जन भ्रमण आदिजस्ता समस्याले चलिराखेको लोकतन्त्र यहाँ बदलामा आउने रकम न्यून छ । जस्तै सामानको निर्यात, व्यापार घाटा, बैंक तरलता, शेयर गिरावट हेरौं, सधैँ उस्तै ।

तर जुन मुलुकमा राम्रो लोकतन्त्र हुन्छ, त्यहाँ यस्तो हुँदैन । सरकारले त्यस्ता मुलुकमा कानुनमा कडाइ गर्ने गर्दछ र सर्वसाधारणलाई स्तरीय शिक्षा दिएर जनतालाई अनुशासित गरिराखेको हुन्छ । साथै मुलुकको विकास गरेर अघि बढिराखेको हुन्छ । तर हाम्रो मुलुकमा त्यस्तो छैन । नाम लोकतन्त्र, प्रजातन्त्रको दाबी गर्ने गर्दछन्, तर बदलामा नेपालीको जीवनस्तर उस्तै हो ।

उदाहरणको लागि दिग्दार भएर विदेशिने नागरिकहरुलाई लिऊँ, तिनीहरु यहाँ काम भएर त्यत्तिकै विदेशमा कामको खोजीमा गएको त होइन होला ।
असली लोकतान्त्रिक मुलुकहरुमा नेता अर्थात् देश चलाउनेहरुको संख्यामा कमी हुन्छ तर हाम्रो मुलुक सानो हुँदा पनि धेरै नेता त्यसमाथि कुर्सी, सत्ता, पैसा आफ्नो मान्छे, र भागवण्डाका लागि सधैँ कलह । त्यसकारण हाम्रो मुलुकमा नाम मात्रको लोकतन्त्र हुनुभएन ।

यी वाक्य किन भन्नुपरेको भने, यो देशमा एउटा रोटीको मूल्य १० देखि १५ रुपियाँ तिर्नुपर्दछ, ५ लाख जाने गाडी १५ लाख, एउटा अप्रेसनको लागि झन्डै लाख रुपियाँ खर्च र मध्यमवर्गका लागि स्कुल–कलेज शुल्कमा आर्थिक भार । यी समस्या त छँदै छन् । यीबाहेक करले पनि जनताको उत्तिकै ढाड सेकिराखेको हुन्छ, तर बदलामा खोई त जनतालाई सुख–सुविधा, सहुलियत ?
अरु त के कु्रा गरौं, धूलो, धुवाँ र यातायातजस्ता समस्याको समाधान पनि भएन यो मुलुकमा । जुन सरकार आए पनि यस्ता सानातिना समाधानका पछि लाग्नुको सट्टा अर्थ न बर्थका कुरामा अल्झिराखेको हुन्छ । वास्तवमा यस्तो अवस्थामा लचिलो, ठूलो सोच, सकारात्मक सोच, राम्रो भिजनको खाँचो पर्दछ ।

अन्यथा, मुलुकको हालत सधैँ उस्तै हो । कुनै पनि देश विकास हुन देश चलाउनेहरुमा स्वार्थ भावना त्यागी दुईवटा कुराको जरुरत पर्दछ, त्यो हो इमानदारिता र कडाइ । तर यो मुलुकमा सबैलाई रातारात धनी हुनुपर्ने, जसरी होस्, पैसा कमाउनुपर्ने । त्यसकारण यी सब समस्याको समाधानका लागि प्रधानमन्त्री नै एकदम कडा हुनु जरुरी छ, जुन भएको देखिँदैन ।

वास्तवमा भन्ने हो भने, हाम्रो मुलुकमा विकासले गति लिन नसक्नुका कारण सबै पक्ष उत्तिकै भागिदार छन् । शुरुमा सरकारसँग राम्रो भिजन नहुनाले गलत बाटोमा दौडिराखेको हुन्छ भने सरकारी प्रशासनहरु एकोहोरो भएर अनुशासनहीन तरिकाले कार्य गरिराखेका हुन्छन् । अब रह्यो सर्वसाधारण, यहाँका सर्वसाधारणहरु गलत कार्यविरुद्ध अघि सरेको देखिँदैन, सिवाय दाल, भात, तरकारी । यी कारणले गर्दा मुलुकमा विकास भएको जस्तो देखिए पनि व्यवहारमा विकास भएको मान्न सकिन्न ।

हाम्रो जस्तो मुलुकमा सोझा र सहनशील व्यक्तिहरु धेरै छन् । यसको फाइदा हरेक सरकारले उठाइराखेको हुन्छ, जुन गलत कुरा हो । एकपल्ट फेरि भन्नुपर्दा, जब यस लोकतान्त्रिक मुलुकका सर्वसाधारणले सहुलियत–सुविधाहरु पाउँदैनन र बिहान उठ्नासाथ अखबारमा नकारात्मक एवम् आपराधिक कुराहरु पढ्नुपर्छ, तब हामी सोच्न बाध्य हुन्छौं कि यो मुलुकमा अझै असली लोकतन्त्र आएको छैन । त्यसकारण अब असली लोकतन्त्रका लागि सबै पक्ष सरकार, प्रशासन तथा सर्वसाधारण सच्चिनै पर्दछ । यही हो असली लोकतन्त्रको माग ।
– रमेश केशरी वैद्य, छत्रपाटी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्