दुर्गालाई एकल साँझमा अपार साथ, संकलन भयो १० लाख रुपियाँ



रश्मी थापा
कौकिङका रूपमा परिचय बनाएका कौरा गायक तथा संगीतकार दुर्गा गुरुङले पहिलोपटक एकल साँझमा प्रस्तुत हुँदा अपार साथ र समर्थन पाएका छन्। सांगीतिक क्षेत्रमा आएको रजत वर्ष पुगेको अवसरमा पहिलोपटक एकल साँझमा प्रस्तुत भएका उनले गायन प्रस्तुतिका क्रममा लगातार तालीमात्र पाएनन्, कार्यक्रमलाई सघाउन लगाताररूपमा आर्थिक सहयोग पाए भने कतिपयले मञ्चमै गएर खादा र माला तथा नोट नै नोटले भरिएको माला पहिराएर सम्मानसमेत गरे।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठ किसनले त आफूलाई कौरा गीत असाध्यै मनपर्ने जनाउँदै एक महिनाको पारिश्रमिक गायक गुरुङको कार्यक्रमलाई सहयोग गर्ने घोषणासमेत गरे। उनको एकल साँझका लागि देशदेखि विदेशका विभिन्न व्यक्ति तथा संस्थाले करिब १० लाख रुपियाँ सहयोग गरेका थिए। खर्च कटाएर बाँकी रकम चुट्का गीतको संरक्षणका लागि कोषमा जम्मा गर्ने दुर्गाले बताए।


शनिबार राष्ट्रिय नाचघरमा आयोजित दुर्गा गुरुङ एकल साँझ २०७५ मार्फत उनी आफ्ना लोकप्रिय कौरा (चुट्का), झोरा, लोकपपलगायतका गीतका साथ प्रस्तुत भएका थिए। तमु (गुरुङ) समाज तनहुँको आयोजनामा सम्पन्न एकल साँझमा गायक दुर्गाले प्रत्यक्ष वाद्यवादनमा १ दर्जन बढी गीत प्रस्तुत गरेर संगीतप्रेमीलाई मुग्ध बनाएका थिए। उनले खैमु लोसार (आयो लोसार) बोलको गुरुङ गीत गाएर आउँदै गरेको लोसारलाई स्वागत गरेका थिए। त्यसपश्चात हे कान्छी, साली भेना, सोलुु जुब्रुको, आकाशै उज्यालो, रिसिङ डाँडा रमाइलो, ठूलढुंगाको बजारैमा जस्ता आफ्ना लोकप्रिय कौरा गीतका साथमा आयो मैना गयो मैनाजस्ता झोरा गीत प्रस्तुत गरेका थिए।

 

त्यस्तै १३ वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा बेल्जियममा रहेकी श्रीमती नन्दशोभा गुरुङको सम्झनामा रोधी बस्न आउँछ रे भन्दिनु यानी मायालाई बोलको गीत प्रस्तुत गरेर दर्शक नचाएका थिए। उनका हरेकजसो प्रस्तुतिमा गुरुङ जातिको पहिरनमा सजिएकाहरूले नृत्य गरेर कार्यक्रमलाई थप रोचक बनाइएको थियो भने कतिपय गीतमा अतिथिहरू मञ्चमै गएर नाची साथ दिएका थिए।

दुर्गालाई गायनमा सर्जक तथा संगीतकार रेशम गुरुङको साथमा लोकदोहोरी गायकगायिका भीम दुरा, तेजेन्द्र दुरा, प्रकाश गुरुङ, पृथ्वी गुरुङ, रिदम थापा, राज गुरुङ, राजु गुरुङ, प्रेम गुरुङ, टेक गुरुङ, शर्मिला गुरुङ, दुर्गा गुरुङ, टीका पुन, बबिता गुरुङ, अनु गुरुङ, शोभा गुरुङ, एलिना गुरुङ, कल्पना गुरुङ र माया गुरुङले साथ दिएका थिए। खचाखच दर्शकका बीचमा करिब ३ घन्टासम्म चलेको एकल साँझमा दुर्गालाई प्रत्यक्ष वाद्यवादनका लागि किबोर्डमा दुर्गाबहादुर गुरुङ, बाँसुरीमा धनबहादुर गुरुङ, सारंगीमा कमल विश्वकर्मा र बुकुन गन्धर्व, रिदम गितारमा दीपेन्द्र गुरुङ, बेस गितारमा दीपक थापा, प्याट्रममा धर्म गुरुङ, हार्मोनियममा कृष्ण गुरुङ तथा खैजेडीमा मनाङ गुरुङ, गणेश गुरुङ, पृथ्वी, गुरुङ, विक्रम गुरुङ, प्रेम गुरुङ, चौबहादुर गुरुङ, पोषण घर्तीमगर र पारसमणि सुवेदीले साथ दिएका थिए। प्रदेशसभा सांसद रामबहादुर गुरुङ, तमु ह्युला गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङ र नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर बिरहीको आतिथ्यतामा सम्पन्न कार्यक्रम शोभा गुरुङको संयोजनमा भएको थियो।

डेढ दर्जन गुरुङ फिल्ममा संगीत तथा स्वर दिई ५ हजार गीतको म्युजिक एरेन्ज गरेका दुर्गाले आँसु नझार एल्बममा रहेको आँसु नझार बोलको दोहोरी गीतबाट गायन यात्रा शुरू गरेका थिए। उनी कुशल बाँसुरीवादक तथा मादल, तबला, हार्मोनियम, किबोर्डलगायतको वाद्यवादनमा समेत पोख्त छन्।

 

 

प्रतिक्रिया दिनुहोस्