भैरहवाले ठूलो लक्ष्य भेटायो



नेपाल समाचारपत्र, काठमाडौं
कीर्तिपुरमा जारी एभरेस्ट प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोजले दिएको ठूलो लक्ष्य भेटाएर सानदार जित हात पारेको छ ।

आईतबार भएको खेलमा पोखराले २ सय १६ रनको ठूलो लक्ष्य तेर्साएको थियो । भैरहवाले सो लक्ष्य ६ विकेटको क्षेतिमा २ बल बाँकी राखी भेटाएको थियो । टोलीले जित्न रवि इन्दर सिंहको नटआउट सतकीय इनिङले प्रमुख भुमिका खेलेको थियो । ४७ बलमा सतक पुरा गरेका भारतीय ब्याटसम्यानले १ सय २५ रन जोडे । ६० बलमा उनले ८ चौका र १० छक्का प्रहार समेत गरेका थिए । भैरहवाको जितसँगै ईपीएलको इतिहासमा सबैभन्दा ठूलो लक्ष्य पार गरेको कीर्तिमान समेत बनेको छ ।

म्यान अफ द म्याच रविले पाँचौ विकेटका लागि आरिफ शेखसँग ८९ रनको साझेदारी गरेका थिए । आरिफ २३ रनमा आउट भएका थिए । यसपछि रोहित पौडेल पनि आउट भएपछि भैरहवा ६ विकेटको नोक्सानीमा १ सय ७१ रनमा थियो । तर रविलाई पुनित मेहराले अन्तिमसम्म साथ दिए । उनीहरुले सातौं विकेटका लागि २२ बलमा ४५ रनको अटुट साझेदारी गर्दै टोलीलाई जित दिलाएका थिए ।

यसअघि पोखराले दक्षिण अफ्रिकी ब्याटसम्यान रिचार्ड लेभीको विस्फोटक ब्याटिङको सहयोगमा २० ओभर खेल्दै २ सय १५ रन जोडेको थियो । लेभीले ३६ बलमा ७ चौका र ७ छक्का प्रहार गर्दै ७९ रन बनाएका थिए । उनले काएल कोट्जरसँग पहिलो विकेटका लागि १ सय ४ रनको साझेदारी समेत गराएका थिए । कोट्जरले ४७ रनको योगदान दिए । नेपाली खेलाडी सुनील धमलाले ३८ रन बनाएका थिए ।

ललितपुरको जित
ललितपुर पेट्रियट्सले पहिलो खेलमा हारेको पीडालाई चितवन टाइगर्सलाई ११ रनले हराएर बिर्साएको छ । ललितपुरले १ सय ४४ रनको लक्ष्य तेर्साएकोमा चितवन १ सय ३२ रनमै समेटिएको थियो । विराटनगर वारियर्ससँग जित्नै लागेको खेल गुमाएको ललितपुरको जितमा सन्दीप लामिछानेले ३ विकेट लिए भने सनी पटेलले २ विकेट हात पारेका थिए ।

सन्दीप अस्टे«लियातिर
सन्दीप लामिछानेले एभरेस्ट प्रिमियर लिगमा आफनो टोली ललितपुर पेट्रियट्सलाई जित दिलाएर अस्टे«लिया प्रस्थान गरेका छन् । अस्टे«लियाको घरेलु टी २० लिग बिग बाशमा सहभागि जनाउन सन्दीप आईतबार राति नै त्यसतर्फ गएका हुन् । मेलबर्न स्टार्सबाट खेल्ने नेपालका लेग स्पिनरले सोमबार नै सो टोलीबाट खेल्नेछन् । त्यहाँ केही खेल खेलेपछि उनी बंगलादेस प्रिमियर लिगका लागि उपलब्ध हुनेछन् । जनवरी ५ देखि शुरु हुने बंगलादेसको लिगमा उनले सिल्हेट सिक्सर्सबाट खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्