रन्जीतको गोलमा थ्रीस्टार विजयी



नेपाल समाचारपत्र, काठमाडौं
जारी सहिद स्मारक ए डिभिजन लिगमा उपाधिको दावेदारीमध्ये एक टोली थ्रीस्टार क्लबले जितलाई निरन्तरता दिएको छ ।

आईतबार भएको खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई २–० गोलले हरायो । टोलीको जितमा दुबै गोल रञ्जित धिमालले गरेका हुन् । योसँगै रञ्जितले जारी लिगमा व्यक्तिगत ६ गोल गरेका छन् । साथै थ्रीस्टार लगातार चौथो जित हात पार्दै अंकतालिकामा १८ अंकसहित दोस्रो स्थानमा समेत उक्लियो ।

म्यान अफ द म्याच रञ्जितले ५२औं मिनेटमा पेनाल्टी गोलमार्फत् टोलीलाई अग्रता दिलाएका थिए । सुनील बलले प्रहार गरेको बलले डिबक्समा रहेका जावलाखेलका कुलदीप कार्कीको हातमा लागेको थियो । जसले थ्रीस्टारलाई खेलमा अग्रता दिलाउन प्रमुख भुमिका समेत खेल्यो ।

रञ्जितले ६९औं मिनेटमा अर्को गोल गरेर टोलीको अग्रता दोब्बर पारे । उनले प्राप्त फ्रिकिक प्रहारलाई गोलमा परिणत गरेका थिए । सो फ्रिकिक रन्जन विष्टलाई ट्याकल गरेपछि जावलाखेलविरुद्ध दिइएको थियो । जसमा ट्याकल गरेका कुलदीप कार्की रातो कार्डको भागीदार समेत भएका थिए । जावलाखेलको ७ खेलमा ४ अंक रहेको छ ।

एपीएफ र च्यासलको जित
विभागिय टोली एपीएफ क्लबले जारी लिगमा तेस्रो जित हात पारेको छ । एपीएफले सरस्वती क्लबलाई ३–० गोलअन्तरले हराएको थियो । रुपबहादुर लामाले २ तथा युवराज खड्काले १ गोल गरे । योसँगै एपीएफको ७ खेलबाट १० अंक भएको छ । सरस्वतीको ६ अंक रहेको छ ।

यसैगरी हिजै भएको अर्को खेलमा च्यासल युथ क्लबले फ्रेन्डस् क्लबलाई ३–१ ले पराजित गर्दै तेस्रो जित हासिल ग¥यो । टोलीको जितमा सन्तबहादुर गुरुङले दुई तथा देवेन्द्र तामाङले एक गोलको योगदान दिएका थिए । फ्रेन्डस्का लागि विकास लामाले एक गोल फर्काएका थिए । च्यासलको १० अंक भएको छ भने फ्रेन्डस् ५ अंकमै सीमित छ ।

प्रतिक्रिया दिनुहोस्