बुद्ध मूर्तिका लागि एकै दिन १६ लाख



नेपाल समाचारपत्र, हेटौंडा
हेटौंडा–१८ को हर्नामाडीस्थित ‘कलागाउँ’ का रुपमा परिचित गुम्बाडाँडालाई बौद्धमय बनाउन शाक्यमुनि गौतम बुद्धको २५ फिट अग्लो ढुंगाबाट निर्माण गरी स्थापना गरिने मूर्तिका लागि एकै दिन करिब १६ लाख रुपियाँ संकलन भएको छ ।

मूर्ति निर्माण तदर्थ समितिले शनिबार काठमाडौंको बौद्धमा आयोजना गरेको एक कार्यक्रममा १६ लाख ४० हजार रुपियाँ सहयोग संकलन भएको हो । गत वर्षको बुद्ध पूर्णिमाका दिन शिलान्यास गरिएको मूर्ति निर्माण तथा स्थापना र उक्त स्थानमा पार्कलगायत संरचना निर्माणका लागि करिब ३ करोड खर्च अनुमान गरिएको मूर्ति स्थापना समितिका संयोजक हेटौंडाका समाजसेवी कमलचन्द्र सुमनले बताउनुभयो । उहाँले मूर्ति स्थापनापछि उक्त क्षेत्रको मुहार फेरिने बताउनुभयो ।

उहाँका अनुसार मूर्ति स्थापनासँगै उक्त क्षेत्रमा विभिन्न भवनहरु, पानीट्यांकी, मनोरञ्जन पार्क, कम्पाउण्डवाल र अन्य संरचना बन्नेछन् । कार्यक्रममा सुमनले उक्त क्षेत्रको नेपाल एकीकरणताकाको इतिहास, मूर्ति स्थापनाको अवधारणा, आवश्यकता, उद्धेश्य, लागत आदि विषयबस्तुबारे प्रकाश पार्नुभएको थियो ।

प्रदेश–३ सभा सदस्य छिरिङ दोर्जेलामाले स्थानीय र प्रदेश सरकारले यस कार्यमा सहयोग गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले आफूआवद्ध दल नेपाली कांग्रेसको तर्फबाट यथाशक्य सहयोग गरिने विश्वास दिलाउनुभयो ।

मूर्ति निर्माण तदर्थ समिति अध्यक्ष सम्पूर्णकुमार लामाले बुद्धको शान्तिको सन्देश गाउँगाउँमा पु¥याउनुपर्ने भन्दै आफूहरुले अभियान थालेको बताउनुभयो । प्रमुख अतिथि बौद्ध धर्मगुरु लोसाङ नाम्गेल रिन्पोछेले धर्म सन्देश व्यक्त गरेको सहयोग संकलन कार्यक्रममा निर्माण समिति सचिव दुर्गामान शाक्यले २०७४ माघमा भएको छलफलले मूर्ति निर्माणको प्रयास थालेको भन्दै आर्थिक प्रलोभनमा परेर धर्म परिवर्तन गर्ने अवस्था मूर्ति स्थापनापछि न्यून हुने विश्वास व्यक्त गर्नुभयो ।

मुक्तिनाथको यात्राबाट बचत भएको १ लाख ४६ हजार रुपियाँ मूर्ति निर्माणमा लगाइएको जानकारी दिँदै उहाँले अब राराको यात्रा गरी सहयोग संकलन गरिने जनाउनुभयो । उहाँले मूर्तिलगायत संरचना निर्माणका लागि हेटौंडेली दाताहरुको पनि सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा गुम्बाडाँडाको भौगोलिक अवस्था र त्यहाँ हालसम्म भएका धार्मिक र पर्यटकीय गतिबिधिबारे अमृतबज्र लामाले प्रस्तुतिकरण गर्नुभएको थियो । गुम्बाडाँडा हेटौंडा बजारबाट करिब १७ किमी पूर्व दक्षिणमा पर्दछ, जहाँ पछिल्लो समय बिदाका दिन आन्तरिक र वाह्य पर्यटकको भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्