दलितभित्रको विभेद अन्त्यको अभियान



नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा २००६ सालमा नै ब्राह्मणहरूले हलो जोतेर छुवाछुतका विरुद्ध आन्दोलन छोडेको ऐतिहासिक भूमि दुराडाँडाले दलित भित्र विद्यमान विभेद अन्त्यको अभियान थालेको छ । लमजुङको सुन्दरबजार नगरपालिका– ४, दुराडाँडा स्थित २००६ सालमा नै ब्राह्मणहरूले हलो जोतेको ऐतिहासिक थलो बाटोगरामा एक सार्वजनिक समानरोहको आयोजना गरी सो अभियानको घोषणा गरिएको हो । पं. तोयनाथ स्मृति दिवसका अवसरमा हालो क्रान्ति तथा तोयनाथ स्मृति प्रतिष्ठानले सो कार्याक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको सुन्दरबजार नगरपालिकाका मेयर जनक मिश्रले उदघाटन गर्दै अबका दिनदेखि भोज भतेरमा दुईवटा भाञ्सा बनाउने प्रचलन हटाउनु पर्ने र यस्ता सहभोज भन्दा पनि हामी एकअर्काका बीचमा अन्तरघुलनको समस्या रहेको बताउँदै विहावारी चलाउन तयार छौँ कि छनौँ ? त्यस्ता प्रकृया सुरु गरिएको खण्डमा सदिऔँदेखि समाजमा संस्कारको रुप धारण गरेको यस्तो कुप्रथाको अन्त्य हुने बताउनु भयो । उहाँले इतिहासको पुनर्लेखन जरुरी छ भन्नुहुँदै २००६ सालको हलोक्रान्ति आत्मनिर्भर हुनुपर्छ भन्ने सन्देश पनि भएको बताउनु भयो । अब संविधानले सुनिश्चित गरेको मौलिक हकको सुनिश्चितता हुन आवश्यक छ, त्यसो भएमा यो कार्यक्रमले सार्थकता पाउने बताउनु भयो ।

सो कार्यक्रममा सुन्दरबजार नगरपालिका– ४ का अध्यक्ष कृष्णराज खनियाले आफ्नो स्कूले जीवनको स्मरण गर्र्दै त्यो बेलामा एउटै घैटोको खानेपानी खाएको, एउटै बेञ्चमासँगै बसेको र आजभोलि पनि कुनै पनि घरमा गएर केही न केही खाने गरेको बताउनु भयो । उहाँले दलित, महिला वा वालबालिका नाराको फल अगुवाले मात्र पाएको बताउँदै आझै पनि आफ्नो गाउँमा २०– २२ जना स्कूले उमेरका केटाकेटी स्कूल जाँदैनन्, आफूले सम्झाउँदा नभएको र उनीहरुका अभिभावककै मानसिकता पढेर के हुन्छ र ? भन्ने रहेको आफूले पाएको बताउनु भयो ।

वडानं– ३ का अध्यक्ष अमृत न्यौपानेले एकल जातीय बाहुल्यता रहेको स्थानमा गरीबीबाट पिल्सिएकाहरू दलित बन्ने गरेको त्यस्तो ब्राह्मण जातिमासमेत रहेको बताउनु भयो । उहाँले चुनावको बेलामा हुने मतदाताको खरिद विक्रीले पनि यस्तो समस्या बढ्ने गरेको बताउनु भयो ।

सो कार्यक्रममा बयोबृद्ध सहभागी ८० वर्षीय समाजिक अभियन्ता एवम् तत्कालीन दुराडाँडा पाउँपञ्चायतका प्रधानपञ्च पूर्णभद्र न्यौपानेले पछिल्लो ५ वर्षदेखि आफूले वडादशैँको बेलामा आफ्नो घरमा बोलाएर टीका लगाउने गरेर र यो वर्षदेखि आफूभन्दा जेठा रहेको तीन घरमा टीका लगाउन जाने सोच छ तर ती घरहरू सफ सुग्घर हुनु पर्छ भनेर सम्झाएको छु त्यो आवश्यक छ भन्नुभयो ।

कार्यक्रममा आयोजक समितिकोतर्फबाट उक्तम बसेलले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । उहाँले दलित बीचको विभेदका बारेमा एक अवधारणा पत्र प्रस्तुत गर्दै आफूले डिग्री पढ्दै गर्दा समेत विभेदको यदाकदा अनुभव गर्नु परेको उदाहरण दिनु भएको थियो ।

उहाँले हिन्दू संस्कार अनुसार ब्राह्मणका घरमा जे जे हुन्छ विहान उठेर नुहाउनेदेखिका देवीदेवताका पुजापाठ ती सबै आफूले गर्ने गरेको र सबै दलित दाजुभाइले यस कार्यको अनुशरण गर्नु हुन अनुरोध गर्नु भयो । सो अवसरमा दर्जन बढी सहभागीले आ– आफ्ना धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा कवि टीकाराम खनिया, लक्ष्मीप्रसाद मिश्र, कृष्णबहादुर केसीले कवितामार्फत छुवाछुत विरुद्ध लेखिएका कविता वाचन गर्नु भएको थियो ।

हालो क्रान्ति तथा तोयनाथ स्मृति प्रतिष्ठानका संरक्षक एवम् तोयनाथका सुपुत्र शशिकान्त अधिकारीले यस कार्यमा आफूले सहजिकरण मात्र गरेको र आवश्यक सहयोगका लागि आफू तयार रहेको बताउनु भयो । उक्त सहभोज कार्यक्रमको सम्पूर्ण खर्च शशिकान्त अधिकारीले बेहोर गर्नु भएको प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मी न्यौपानेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्