चिडियाखानाका जन्तुको प्रजनन अधिकार हनन



टीका बन्धन, काठमाडौं
थाइल्यान्डले एक अर्को मुलुकमा जीवजन्तु आदान–प्रदान गर्ने उद्देश्यका साथ २०५९ वैशाखमा एकजोडी जलगैंडा सदर चिडियाखानालाई उपलब्ध गरायो ।
नेपालमा नभएको सो जन्तुको संख्या विस्तार हुने धेरैको अपेक्षा थियो तर ८ वर्षअघि बयस्क पोथी र ७ वर्ष अघि भाले वच्चा मरेपछि अहिले चिडियाखानामा जलगैंडा एक्लै छ । चिडियाखानाकै अर्को आकर्षण ‘चाइनिज इलिगेटर’ (गोही) जोडीविहीन बनेको साढे ५ दशक नाघिसकेको छ । छिमेकी मुलुक चीनले २०१९ मा उपहारस्वरुप प्रदान गरेको सो गोही त्यही बेलादेखि एक्लै छ ।

जलगैंडा र चाइनिज एलिगेटर प्रतिनिधि उदाहरण मात्रै हुन्, जोडीविनाका जीवजन्तु चिडियाखानामा दर्जनौं छन् । जीवजन्तुले चाहेको आहरा खाने÷खुवाउने अनि नियमित औषधि उपचारको व्यवस्था भए पनि आफ्ना दौंतरी र जोडी नहुँदा चिडियाखाना जीवजन्तु खुलेर रम्न पाएका छैनन् । जोडी बाँध्ने पहल अघि नबढाइँदा धेरै जन्तुको प्रजनन अधिकार समेत हनन भएको छ ।

मलेसियाबाट २०५७ भदौ अन्तिम साता ल्याइएको एक जोडी सिमाङ्ग (वन मान्छे) ले चिडियाखानामा दुईपटक वच्चा जन्माउँदा चर्चा निकै बटुलेको थियो । तर ८ वर्षअघि रोग संक्रमणले पोथी मरेपछि हाल वनमान्छेका बाउ÷छोरा मात्रै छन् । चिडियाखानाले संख्या थप्ने पहल अघि नबढाउँदा त्यसयता न बाउले नयाँ जोडी पाएको छ न त छोराले नै । जोडीविहीन जन्तुलाई जोडी बाँध्ने र दौंतरी थप्ने रहर हुँदाहुँदै पनि कानुनी र अन्य व्यावहारिक कठिनाइले सम्भव नभएको चिडियाखानाका आयोजना व्यवस्थापक डा. चिरञ्जीवीप्रसाद पोखरेल बताउनुहुन्छ ।

‘नेपालकै प्राकृतिक बासस्थानका जन्तुलाई यहाँ ल्याउन केही सरल भए पनि विदेशबाट ल्याइएका जन्तुको जोडी थप्न हाम्रो पहल मात्रै पर्याप्त हुँदैन, केही कानुनी र नीतिगत समस्या छन्’, उहाँले भन्नुभयो– ‘यसका लागि कूटनीतिक पहल पनि जरुरी हुन्छ ।’ नेपालमै उपलब्ध जीवजन्तु थप्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमार्फत पहल अघि बढाइएको पोखरेलले बताउनुभयो ।

घाइते, समस्याग्रस्त, टुहुरा र अवैध व्यापारका क्रममा विदेशबाट भित्रिएर उद्धार गरी प्रदर्शनमा राखिएका केही जन्तुका जोडी र साथी नभएको उहाँले प्रस्ट्याउनुभयो । बाघ, गैंडा, जलगैंडा, सिमाङ्ग (वन मान्छे), जरायो, घोरल, नाउर, हिमाली भालु पोथीविहीन छन् भने घडियालका भाले छैनन् । चिडियाखानाको पोथी हात्ती (पवनकली) पनि २०३७ देखि एक्लै छ । विभिन्न समयमा जोडी बाँधिएका बाघ, घोरल, हिमाली भालु जोडीविहीन भएको वर्षौं भयो । नाउरको भने सुरुआतदेखि नै जोडी नभएको चिडियाखानाका वरिष्ठ भेट प्राविधिक राधाकृष्ण घर्तीले जानकारी दिनुभयो ।

लोपोन्मुख जन्तुलाई संरक्षण गरी संख्या बढाउन, अध्ययन अनुसन्धानलाई फराकिलो बनाउने शैक्षिक थलोका रुपमा चिडियाखानालाई बुझ्ने गरिए पनि नेपालले त्यस्तो लाभ लिन नसकेको वन्यजन्तुविज्ञ बताउँछन् । विदेशबाट ल्याइएका जन्तुको प्राकृतिक बासस्थानको न्यूनतम सर्त पूरा नगर्दा नेपालले अपेक्षित परिणाम हासिल गर्न नसकेको र जीवजन्तु जोडिविहीन बन्नुपर्ने अवस्था आएको वन्यजन्तुविज्ञ डा. मुकेश चालिसे बताउनुहुन्छ ।

‘चिडियाखाना शैक्षिक प्रयोजनका अतिरिक्त कृतिम प्रजनन केन्द्र पनि हो, तर वन्यजन्तु केही गरी जोडीविहीन बने भने तीनको व्यवस्थापन कसरी गर्ने भन्ने दीर्घकालीन योजना नहुँदा समस्या निम्तिने गरेको छ’ –उहाँले भन्नुभयो । अहिले भक्तपुरको सूर्यविनायकमा प्राणी उद्यान निर्माण भइरहँदा वन्यजन्तु प्रजनन र व्यवस्थापनका दीर्घकालीन योजनाको खाका पनि तयार गर्न ढिलो गर्न हुने चालिसेको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्