करोडमा बिक्यो हनुमन्ते खोला, कहाँ चुके मेयर श्रेष्ठ



भक्तपुर ।
एउटा खोलाको मूल्य कति हुन्छ ? हजार, लाख कि करोड । खोला त सार्वजनिक हो, यसको कुनै मूल्य हुदैन, यो किनबेच पनि हुदैन, यो नियम र कानूनका कुरा होलान् । तर सहमति बन्यो भने खोला करोडौं मूल्यमा बिक्री हुन्छ भन्ने कुरा यतिखेर भक्तपुरमा निकै चर्चाको विषय बनेको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका र तत्कालिन बालकोट गाविस हुँदादेखि नै हनुमन्ते खोला फर्काउने चलखेल निकै पटक बन्यो ।

भूमाफियाले पैसा र पावरको आडमा प्रहरी, प्रशासन र माथिल्लो निकायसम्मलाई प्रभावमा पार्दै पटक–पटक हनुमन्ते खोला फर्काउने दुस्प्रयास गरिरहे । तत्कालिन समयमै करोडौंको खेल चलिरहयो । हनुमन्ते खोला बिक्ने र बिकाउने खेल चलिरहदाँ मध्यपुरथिमिका बासिन्दा यसको घोर बिरोधमा उत्रिरहे । बालकोट गाविस हुदाँ सिमा विवाद कै कारण फर्काउन नसकेको हनुमन्ते खोला तत्कालिन अनन्तलिङ्गेश्वर नगरपालिका हुदा पनि फर्काउने खेल चलिनै रहयो ।

भूमाफियाले राती–राती डोजर लगाएर खोला फर्काउन खोज्ने र मध्यपुरका बासिन्दा त्यसको प्रतिकारमा उत्रने काम भईनै रहयो । यो खेलमा ज्यान जाने खतरासम्म भए । हनुमन्ते फर्काउने र फकाएन नदिने दुईपक्ष बिच हतियार बोकेरै आक्रमण र प्रत्याक्रमणको खेल डरलाग्लो भईरहदाँ स्थानीय आतंकितसम्म बन्न पुगे । मध्यपुरथिमिमा तत्कालिन एमालेका नेता मदनसुन्दर श्रेष्ठलगायतका केही नेताहरु र स्थानीय बासिन्दा सिमाना मिच्न र खोला फर्काउन कुनै हालतमा नदिने अडानमा अडिग रहे ।

हनुमन्ते खोला फर्काउने विवाद चर्किरहदा सर्वोच्च अदालतमा रिट परेपछि सर्वोच्च अदालतले तत्काल हनुमन्ते खोला नफर्काउन अन्तरिम आदेश नै जारी गर्यो, सर्वोच्चको अन्तरिम आदेशलाई लत्याउदै भूमाफियाले खोला फर्काउने षडयन्त्र गरि नै रहे । खोला फर्काउने पक्ष र फर्काउन नदिने पक्ष दुबैले कयांै रात हतियारधारी गुण्डाहरु ल्याएर राखेपछि भिडन्तको अबस्था आउदा प्रहरी प्रशासनको साबधानीका कारण अप्रिय घट्ना हुनबाट रोकियो भन्ने चर्चा पनि नचलेको होइन ।

यसमा ठूला नेताहरुको चलखेल पनि निकै नै रहेको चर्चा चलिरहयो । खोला फर्काउने आठ वर्षको प्रयास अन्ततः देशमा जनप्रतिनिधीको बाहालीपछि सफल भयो । पक्ष र विपक्षमा उभिएका नेताहरु अन्ततः खोला फर्काउने नै सहमतिमा पुगेपछि त रोए जस्तो गर, म कुटे जस्तै गर्छु भन्ने उखान झै भयो र करोडांैमा चलखेल भयो हनुमन्ते खोला ।

मध्यपुरठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ यतिखेर निकै चर्चामा छन् । एकवर्ष अघि जब भूमाफियाले हनुमनते खोला फकाउन आए, त्यस बेला प्रतिकारमा उत्रिए मेयर मदन सुन्दर । उनले कुनै हालतमा खोला फर्काउन नदिने अडान दोहर्याए । उनका अडानका कारण उनकै पार्टीका नेताहरु समेत उनीबाट बिच्किए । त्यसको भोलीपल्ट रातारात खोला फर्कियो । त्यसपछि किन हनुमन्ते विवादमा किन ओईलाए ? रहस्य बन्दै आएको यो चर्चाको यतिखेर घुम्तो उख्रिएको छ । अन्ततः हनमुन्ते खोला करोडौंमा बिक्री भएको चर्चा यतिखेर बजारमा ब्यापक चलेको छ ।

कमाउनेले हनुमन्तेबाट निकै कमाए, सानादेखि ठूलासम्मको नाम जोडिए । सबै पार्टीका नेताहरु हनुमन्ते खोलाको विवादमा मौन बसे । श्रोत भन्छ । दुईसाता अघि करोडको खेल र गोप्य भेलामा अन्ततः मेयर श्रेष्ठले सहमति जनाए पछि बल्ल खोला बिक्रीको रहस्य खुल्यो । यही खोलामा हनुमन्ते करिडोर र दुईवटा नयाँ शहर बन्ने सहमति भयो । विकास राम्रो हो तर यही विकाससंगै खोला फर्काउन नदिने अडानमा रहेका मेयर मदन सुन्दरले किन सहमति जनाए, यो कुरा मध्यपुर ठिमीका बासिन्दा जान्न चाहन्छन् ।

ठिमीका एक बासिन्दाले भने, ‘हामीले मेयरलाई साथ दिएर खोला फकाउन नदिन उसैको पछि लागेर ज्यान धरापमा राखेर उत्रियौ, अहिले जनताले थाहै नपाई कसरी बन्यो सहमति यो जवाफ मेयरले दिनुपर्छ । खोला बिक्यो भन्छन् बास्तविक के हो जनता जान्न चाहन्छन् । खोलाको सिमाना अब कहाँ हुने हो, मध्यपुर नगरपालिका कहाँसम्म पुग्ने हो ? हाम्रो खोला र त्यहाँको सार्वजनिक जग्गा जिवित रहन्छ कि त्यो पनि करोडौको खेलमा सति जान्छ ? यो जवाफ अब दिनु पर्दैन ?’

प्रतिक्रिया दिनुहोस्