महिला संघले माग्यो गृहमन्त्रीको राजीनामा



काठमाडौँ ।
नेपाल महिला संघले गृहमन्त्री राम बहादुर थापा मगरको राजिनामा मागेको छ ।
महिला संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघकी महासचिव धना खतिवडाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन र घटनाका दोषीलाई सरकारले कारबाही गर्न नसकेको भन्दै गृहमन्त्रीकोे राजिनामा माग्नुभएको हो ।

राष्ट्रियसभाकी सांसदसमेत रहनुभएकी खतिवडाले सरकारका गतिबिधि जनताको हितमा नभएको र आफ्नै कारणले सरकार आलोचित भएको बताउनुभयो । खतिवडाले नक्कली अभियुक्त खडा गरेर निर्मला पन्तका बास्तविक हत्यारालाई सरकारले उन्मुक्ति दिन खाजेको आरोप लगाउनुभयो ।

‘गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारालाई सरकारले उन्मुक्ति दिन खोज्दैछ, यो कसैलाई पनि मान्य हुन सक्दैन’ खतिवडाले भन्नुभयो ‘ पटक–पटक नक्कली अभियुक्त खडा गरेर सरकार असली हत्यारालाई जोगाउन लागेको छ, यस्तो घृणित र खेदजनक कार्यप्रति नेपाल महिला संघ घोर भत्र्सना गर्दछ ।’

दुई तिहाइ भनिएको यो सरकारले जनताको बाँच्न पाउने अधिकार कुण्ठित गरेको भन्दै उहाँले थप्नुभयो ‘सरकारले आफ्नो दायित्व बिर्सेको छ, अनावश्यक भ्रम सिर्जना गरेर बास्तविकता ढाकछोप गर्ने कार्य गलत हो ।’ खतिवडाले नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिन ढिलो भइसकेको बताउनुभयो । उहाँले महिला हिंसाविरुद्धको १६ दिने राष्ट्रिय अभियान औपचारिकतामा सीमित भएको बताउनुभयो । पीडितले न्याया नपाउञ्जेल र महिला तथा बालबालिकाले सुरक्षित भएको महसुश नगरुञ्जेलसम्म महिला संघले देशव्यापी अभियान चलाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्