रुकुमकोट कृषि मेलामा कृषकले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी



धनवीर दाहाल, रुकुम पुर्व ।
कृषकहरुले उत्पादन गरेका कृषि उत्पादनको प्रदर्शनी कृषि मेला रुकुम पुर्वको रुकुमकोटमा संचालन भएको छ । कृषि मेला प्रदर्शनीमा खाद्यान्न बाली, नगदे बाली, फलफूल बाली, तरकारी बाली र मसला बाली आदि बस्तुहरु प्रदर्शनी गरिएको थियो । कृषि मेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री एवं प्रतिनिधि सभा सांसद कमला रोकाले कृषकको मेहनतलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले समृद्ध नेपाल र सुखी नेपालीको मुल आधार कृषि भएको बताउनुभयो । सांसद रोकाले रुकुम पुर्बमा कृषि खेतीका स्रोत र सम्भावना धेरै रहेकाले मेहनतका साथ कृषि पेसामा लाग्न किसानहरुलाई आग्रह गर्नुभयो । उहाँले जिल्लाका ३ स्थानिय तहमा कृषि परियोजना सम्बन्धि गुरुयोजना बनिसकेको बताउँदै उत्पादित बस्तुको बजारीकरण गर्न सरकार तयार रहेको जानकारी दिनुभयो । साथै स्थानीय सरकार कृषकका समस्या समाधान गर्न अग्रसर हुनुपर्ने तथा उत्कृष्ट कृषक लाई सम्मान गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

टिडिएस बिएमजेडको आर्थिक सहयोगमा रुकुमेली समाज विकास केन्द्र, हुरेड कार्स, भुमे गाँउपालिका र सिस्ने गाँउपालिकाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कृषि मेला प्रदर्शनी कार्यक्रममा सिस्ने र भुमे गाउँपालिका विभिन्न स्थानमा उत्पादन भएका विभिन्न प्रदर्शनीमा राखिएका विभिन्न उत्कृष्ट बाली ल्याउने ब्यक्ती लाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्