ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु



नेपाल समाचारपत्र, नवलपरासी ।

पश्चिम नवलपरासीको सुनवलमा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

विहान ९ बजे सुनवल ४ बाह्रघरेस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आएको ग १५ प ३४९२ नमबरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका १६ लामाचौर बस्ने २९ वर्षका प्रवीन गुरुङ र २६ बर्षका विनोद बानियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

गुरुङको पृथ्वीचन्द्र अस्पतालमा पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको थियो भने बानियाँको देवदह मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि ट्यांकर चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्