डोटीका सुन्तला किसानलाई बजार भाउको चिन्ता



विमल बिष्ट, डोटी ।
डोटीमा अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ । सुन्तला उत्पादन बढेकोमा खुशी भएका यहाँका ग्रामिण क्षेत्रका किसानहरु बजार नपाउने भएपछि चिन्तित बनेका छन् । वर्षभरी गरेको मिहिनेतलाई बिर्साउने गरी सुन्तला त फल्यो तर, दुःख गरी लगाएको सुन्तलाले फल दिने बेलामा बजार नपाउँदा आफुहरु चिन्तामा परेको निरौलीका सुन्तला किसान हर्क साँउदले बताउनु भयो ।

करिब एक दशक अघि देखि सुुन्तला खेती गर्दै आउनुभएका यहाँका किसान हर्क साँउदले यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए पनि बजारको अभावले किसानहरुलाई चिन्तित बनाएको बताउनुभयो ।

‘आस गरेको भन्दा बढी सुन्तला फलेका छन् तर बजार पाउन मुस्किल छ, उहाँले भन्नु भयो ‘उत्पादन गरेर के गर्नु आम्दानी हुने बेला मुल्य पाईन् ।’ साँउदले मात्रै करिब ३ रोपनी जमीनमा सुन्तला लगाउनु भएको छ । बजारमा अझै पनि सुन्तलाको भाउ आइ नसकेको र आफूहरु बजारकै खोजीमा रहेको उहाँले बताउनुभयो ।

सुन्तला, मौषमी, जुनार, कागती लगायतका अमिलो जातका फलफूलको खेती गर्दै आउनु भएका साँउदले वर्षमा करिब एक डेढ लाख रुपैयाँ जति आम्दानी गर्नुहुन्छ । उहाँको बगैचाबाट फलेको सुन्तला नखाने त बिरलै होलान । सुन्तलाको फल लागेर पाक्ने बेलामा परेको असिना पानीले क्षति पुर्याए पनि यस वर्ष डोटीका ग्रामिण क्षेत्रमा सुन्तला भने राम्रै उत्पादन भएको स्थानिय किसानहरु बताउँछन् ।

त्यस्तै बजार व्यवस्थापन र शीत भण्डारको अभावले गर्दा पनि यहाँका सुन्तला उत्पादक किसानहरु मर्कामा पर्ने गरेका छन्। पहिलेका बर्षहरुमा यहाँका किसानहरुका बारीमा सुन्तला किन्नेहरु आउने भएपनि यो बर्ष बढी सुन्तला उत्पादन भएकाले कोही नआएको किसानको गड्सेराका अर्का सुन्तला किसान लिलाधर बिष्टले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘बिगतका बर्षमा सुन्तला ब्यापारीले बारीमै मुल्य निर्धाण गथ्र्यो यो बर्ष सुन्तला जताततै फलेकाले अहिले सम्म कोही आएको छैन् ।’

जिल्लाको बोगटान, जोरायल, गड्सेरा, मन्नाकापडी, बर्छैन, कपल्लेकी, मुडभारा लगायतका ठाउहरुमा सबै भन्दाबढी सुन्तला खेती गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्