विराटनगरको विजयी सुरुवात



नेपाल समाचारपत्र, काठमाडौं
ललितपुर पेट्रियटस्ले दिएको १ सय ५ रनको सहज लक्ष्य विराटनगर वारियर्सले ७ विकेट गुमाएर भेटाउँदा एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा डिफेन्डिङ च्याम्पियनको विजयी शुरुवात भएको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उदघाटन खेलमा कप्तान पारस खड्कासहित शीर्ष सात ब्याटसम्यानको खराब प्रदर्शन भएको थियो । ७३ रनको लागि ७ विकेट गुमाइसकेको अवस्थामा ललितपुर जित निकट थियो । तर बलर करण केसीलाई आउट गर्न नसकेपछि विराटनगरले ज्ञानेन्द्र मल्लको टोलीसँग जित खोसेर लियो ।

प्लेयर अफ द म्याच करणले १९ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै नटआउट रहेर ३६ रन बनाए । उनलाई अर्को इन्डबाट पउल एड्रियन भान मिकेरन १ छक्काको सहयोगमा १२ रन बनाएर साथ दिएका थिए । उनीहरुले एक बल बाँकी राखेर टोलीलाई रोमाञ्चक जित दिलाएका थिए ।

यसअघि विराटनगरका ओपनर जोडी अनिल कुमार साह (११ रन) लाई आउट गरेर सन्दीप लामिछानेले ललितपुरलाई राम्रो शुरुवात दिलाएका थिए । १९ रनको योगफलमा अनिल आउट भएपछि कप्तान पारसले ब्याटिङ सम्हाल्न आएका थिए । तर उनलाई भारतीय खेलाडी गौरव तोमरले व्यक्तिगत ८ रनमै पवेलियन फर्काइदिए ।

यसपछिका ब्याटसम्यान समीत पटेल र रोलफ भान डर मर्वे छिटै आउट हुँदा विराटनगर ३४÷४ को दयनीय स्थितिमा पुग्यो । आसिफ शेखले १९ रनमा र सुमित महर्जन ८ रनमा आउट भएपछि विराटनगरमाथि ललितपुरको नियन्त्रण बलियो भएको थियो । ५० रनसम्म ६ विकेट गुमाएको विराटनगरलाई सन्दीपले अर्को झट्का दिए । उनले हरिबहादुर चौहानलाई आउट गर्दा विराटनगर १६ दशमलव ४ ओभरमा ७३ रन बनाएर ७ विकेट गुमाएको अवस्था थियो ।

जितको खुशी मनाउन तयार भएको ललितपुरलाई करण र भान मिकेरनले आठौं विकेटका लागि १९ बलमा ३२ रनको साझेदारी गरेर निरास तुल्याइदिएका थिए । अन्तिम ओभरमा विराटनगरलाई जित्न १० रनको आवश्यक थियो भने ललितपुरका लागि रन बचाउनु पर्ने दवाव थियो ।

योगेन्द्र सिंह कार्कीको बलमा करणले छक्का प्रहार गर्नु नै ललितपुरले नतिजा सुम्पन बाध्य भएको थियो । ललितपुरका बलरमा गौरवले ३ र सन्दीपले २ विकेट लिए भने ललित राजवंशीले १ विकेट हासिल गरेका थिए ।
खेलमा टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षेतिमा १ सय ४ रन बनाएको थियो । टोलीका लागि कप्तान ज्ञानेन्द्रले नै सर्वाधिक ४९ रनको योगदान दिएका थिए । उनले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको ललितपुरले औसत ब्याटिङ प्रदर्शन गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४ रन जोडेको थियो । कप्तान ज्ञानेन्द्र मल्लले सर्वा्धिक ४९ रनको योगदान दिंदा अन्य ब्याट्सम्यानले ठूलो स्कोर जोड्न सकेनन् । ज्ञानेन्द्र ४९ रन जोड्दै इनिङसको अन्तिम बल बाँकी छँदा करण केसीको बलमा कट बिहाईन्ड भए । उनले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

भारतीय ब्याट्सम्यान ओपनर जयकिशन कोल्सावाला ४ रन र गौवर तोमर ४ रनमा पेभेलियन फर्कंदा ललितपुरले अपेक्षित सुरुवात लिन सकेन । तोमरले १४ बलको सामना गरेका थिए । अर्का ओपनर पवन सर्राफले २१ बलमा १ चौका र १ छक्कासहित १४ रनमात्र जोडे । यसपछि सन्नी पटेलले २० रन र पवन शराफले १४ रन बनाउनु नै टोलीले बनाएको दोहोरो अंक थियो । अन्यले निरास नै गरेका थिए । विराटनगरका बलरमा करण र भान डेर मर्वेले २÷२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्