सवा ९ लाख प्रतिष्ठानमा ३४ लाखलाई रोजगारी



दीपेन्द्र थापा, काठमाडौं
देशभरका व्यापारिक प्रतिष्ठानका ३४ लाखले रोजगारी पाएका छन् । कुल ९ लाख २२ हजार ४ सय ४५ व्यापारिक प्रतिष्ठानबाट ३४ लाख ८ हजार ७ सय जनशतिmले रोजगार पाएको केन्द्रीय तथ्यांक विभागले गरेको प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५ को प्रारम्भिक नतिजाले देखाएको हो ।

जसमध्ये पुरुषको संख्या २० लाख ४४ हजार ९ सय ८९ र महिलाको संख्या १३ लाख ६३ हजार ७ सय ५७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

आर्थिक गतिविधिको तथ्यांक राख्ने लक्ष्यका साथ शुरु गरिएको प्रथम राष्ट्रिय आर्थिक गणनाअनुसार सबैभन्दा बढी व्यापारिक प्रतिष्ठान ३ नम्वर प्रदेशमा रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

विभागका अनुसार ३ नम्बर प्रदेशमा सबैभन्दा बढी २ लाख ८२ हजार ५६ प्रतिष्ठान रहेका छन् ।

त्यस्तै प्रदेश नम्बर १ मा १ लाख ६८ हजार ४ सय ३४, प्रदेश ५ मा १ लाख ४७ हजार ८ सय १७, प्रदेश २ मा १ लाख १७ हजार ५ सय ८८, गण्डकी प्रदेशमा १ लाख ६ सय ८८, प्रदेश ६ मा ६२ हजार ९ सय ७० र कर्णली प्रदेशमा ४२ हजार ८ सय १७ प्यापारिक प्रतिष्ठान रहेको विभागले जनाएको छ ।

सबैभन्दा बढी प्रदेश नम्बर ३ मा करिब १२ लाखले रोजगार पाएका छन भने कम कर्णली प्रदेशमा १ लाख ३२ हजार ४ सय २५ जना रोजगारीमा संलग्न छन् ।

विभागका आर्थिक गणना निर्देशक अनिल शर्माका अनुसार सबै बढी काठमाडौं जिल्लामा १ लाख २३ हजार ९ सय ९४ र सबैभन्दा कम मनाङ जिल्लामा ४ सय ८७ व्यापारिक प्रतिष्ठान रहेका छन् ।

कुनै न कुनै हिसाबले आर्थिक इकाईमा आर्थिकरूपमा सहभागी क्षेत्रलाई गणनामा उल्लेख गरिएको विभागको भनाइ रहेको छ । हाल विभागले आर्थिक गणनाको डाटा इन्ट्री गरिरहेको छ । विभागले पुसभित्र डाटा इन्ट्रीको काम सकेर माघ–फागुनमा डाटा विश्लेषण गरी वैशाखभित्र अन्तिम प्रकाशन गर्ने तयारी गरिरहेको निर्देशक शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘समय अगावै नतिजा प्रकाशन गर्ने गरी हामीले काम गरिरहेका छौं । हामीले सोही आधारमा काम गरिरहेका छौ कुनैखालको समस्या नआएको खण्डमा लक्ष्यभन्दा अगाडि नैहामीले आर्थिक गणनाको विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने योजना छ।’

सरकारले दिगो आर्थिक विकासको आधारका लागि आर्थिक गणना भन्ने नाराका साथ वैशाखदेखि गणना शुरु गरिएको थियो ।

मुलकको समग्र आर्थिक स्थितिको बारेमा तथ्यांक संकलन गरेर विभागले आर्थिक अभिलेख राख्ने उद्देश्यका साथ गणना थालिएको विभागले जनाएको छ । ७७ वटै जिल्लामा ३ हजार ५ सय आर्थिक गणक खटाएर जेठ ३१ गतेसम्म संकलन गरिएको थियो । गणना गर्दा विभागले करिब ४० करोड रुपियाँको बजेट खर्च भएको अनुमान छ ।

आर्थिक गणनाले सानादेखि ठँला उद्योग पसल ठँला औद्योगिक प्रतिष्ठानसमेतको अभिलेख राखिने लक्ष्य राखिएको थियो । विभागले गरेको गणनाले मुलुकको अर्थतन्त्रको समग्र वस्तुगत अभिलेख प्राप्त हुनेछ ।

आर्थिक गणनामा मुलकको आर्थिक गतिविधिसँग सम्बन्ध राख्ने जस्तै बैंक, वित्तीय, बीमासम्बन्धी कारोबार थोक तथा खुद्रा व्यापर, कृषि, वन, आपँर्ति व्यावस्थापन, शिक्षा, स्वास्थ्य, यातायात, आवास, औद्योगिक उत्पादन, पेसागत क्रियाकलाप, मर्मत सम्भार, उत्पादन तथा प्रशोधन क्रियाकलाप, मानवीय आर्थिक उपार्जनका लागि गरिने क्रियाकलाप कला मनोरञ्जनलगायतका आर्थिक गणनामा समावेश गरिएकोछ । प्रतिवेदनमा रोजगारदाता, व्यवसायको प्रकृति आर्थिक उपार्जको अवस्थासमेत सार्वजनिक गरिने विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्