विश्वकै अग्लो पैदलयात्री पुल र बन्जी जम्प निर्माण अन्तिम चरणमा



नेपाल समाचारपत्र, पर्वत
अग्ला र लामा झोलुंगे पुलका कारण चर्चामा रहेको कालीगण्डकी नदीमाथि बन्दै गरेको विश्वकै अग्लो पैदलयात्री पुल र बन्जी जम्पको निर्माण अन्तिम चरणमा पुगेको छ । सदरमुकाम कुश्माबजारदेखि बागलुङको बागलुङको बलेवा जोड्ने गरी निर्माण भएको पुलसहितका संरचना निर्माणको काम अन्तिम चरणमा पुगेका लगानीकर्ताले जनाएका छन् ।

विश्वकै दोस्रो अग्लो बन्जी जम्प, विश्वकै अग्लो लठ्ठामा खेलिने पिङ, बिश्वकै अग्लो र नेपालकै एक मात्र तारमा खेलिने (स्काई साइक्लिङ) को निर्माण करिब ८० प्रतिशत काम सकिएको सञ्चालक राजु कार्कीले बताउनुभयो । ‘हामी पुल, बञ्जी र रिर्सोट निर्माणको काम ५ महिनाभित्र सक्छौ।’ उहँँले भन्नुभयो–‘हामीले ६ महिना अघि नै सक्ने लक्ष्य राखेका थियौ, प्रविधि र निर्माण सामग्री जुटाउँदा अलि समय लाग्यो।’ कालीगण्डकीमाथि ५ सय २० मिटर लामो र २ सय २८ मिटर उचाइको सिंगल स्पान झोलुंगे पुल बिश्वकै अग्लो र साहसीक पैदलयात्री पुल हो ।

कालीगण्डकीको खोंचमा बागलुङको नारायणस्थान र पर्वतको कुश्मा जोड्ने गरी बनाइएको पुल निर्माणका लागि नेपालमा यति लामो लठ्ठा तान्ने प्रविधि र सामग्री नहुँदान केही समय बढी लागेको सञ्चालक कार्कीले बताउनुभयो । बन्जी स्पटमध्ये नमुना मानिएको यो पुल र बन्जी २०७३ वैशाखमा निर्माण शुरु भएको थियो । बन्जी जम्पसँगै पर्यटकहरुलाई थप आकर्षणका लागि स्काइ साइक्लिङ, स्वीङ र रिसोर्ट समेत सञ्चालनको तयारी भइरहेको छ।
स्काई साइक्लिङ विश्वकै अग्लो र लामो हो । ‘मकाउमा दुई टावर जोड्न योभन्दा लामो भए पनि नेचुरल्ली बनाएको यो नै विश्वकै अग्लो हो।’ कार्कीको दाबी छ ।

कुश्माका नेत्र पराजुली, नवराज पौडेल, युवराज जोशी, राजन जोशी, सिन्धुपाल्चोकका राजु कार्की, फ्रेन्च नागरिक फ्लोरेन्स र प्रभु बैंकको ऋण लगानीमा बन्जी जम्प निर्माण भइरहेको छ । १५ करोडमा रिर्सोट सहितका संरचना सम्पन्न गर्ने लक्ष्य राखिएको सञ्चालक कार्कीले बताउनुभयो ।

साहसिक पर्यटनमा रुची राख्ने पर्यटकलाई लक्षित गरी बनाउन थालिएको बन्जी जम्प पर्वतको चिनारी हुने लगानीको विश्वास छ । बन्जी जम्पमा आउने पर्यटकलाई ध्यानमा राखेर बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफल जग्गामा ग्ल्याम्पिङ रिसोर्ट सञ्चालनको लागि संरचना निर्माण काम भइरहेको छ । रिर्सोटमा सबै जसो कोठा टेन्टबाट बनाइदै छ । टेण्टबाट सबै बाहिरी दृश्य देखिने गरी निर्माण भइरहेको छ । १० वटा डिलक्स र १० वटा स्टान्र्डर्ड टेन्ट बनाइएको छ । जसमा ६० जनासम्म बस्न सक्छन, खुल्ला चौरमा बस्नका लागि टेन्ट राख्ने र त्यसरी ३ सय जनासम्म राख्न सकिने कार्कीको भनाइ छ ।

पुलमा तल राखिएका अँँखी झ्याल डेकबाट तल हेर्दा आनन्द लिन सकिने भएकाले साहसिक पर्यटन बढ्ने विश्वास कार्कीको छ । सबै संरचना बनिसकेपछि कुस्मा बजार नेपालमै साहसिक पर्यटनको हब बन्ने विश्वास उहाँको छ । कुस्माबाट बागलुङको मुलाबारी तथा घोरेपानीतर्फ पनि पदयात्रा र हाइकिङ गर्न सकिने गरी प्याकेज बनाउने तयारी सञ्चालकको छ । फेमिली प्याकेजसहित आउने पर्यटकले बन्जी, स्विङ र स्काई साइक्लिङ तथा हाइकिङ गर्न सकिने व्यवस्थापन हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्