सीमा सुरक्षाका लागि आएको सशस्त्र प्रहरी सदरमुकाममै



विनोदसिंह विष्ट, बैतडी
सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने, सीमारक्षा गर्ने उद्देश्य सहित बैतडीमा आएको सशस्त्र प्रहरी बल बिगत ३ महिनादेखि सदरमुकाममै बसेको छ ।
गत असोजमा आएको सशस्त्र प्रहरी बलको गुल्म नेपाल भारत सीमा नाका झुलाघाटमा नगई सदरमुकाम गढीमा स्थापना भएको हो । नेपाल सरकारले सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयानुसार बैतडीमा पहिलोपटक सशस्त्र प्रहरी बलको गुल्म स्थापना भएको हो ।

शान्तीसुरक्षा र सीमा अपराध न्युनीकरणका लागी भन्दै सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेडक्वाटर नं ५१ कार्यालय रुपमा गुल्म सदरमुकामममै रहेको छ । सशस्त्र प्रहरीको सुदूरपश्चिम क्षेत्रिय कार्यालयवाट सीमामा बस्नको लागी अनुमती दिन ढिलाई हुदाँ सदरमुकाममै बसेको सशस्त्र प्रहरी नायव उपरिक्षक दुर्गादत्त पन्तले जानकारी दिए । सुरुका केही दिन झुलाघाटमा बस्नको लागी घर नमिलेको र केही दिन अगाडी घर मिलिसकेको छ , उनले भने“क्षेत्रले अनुमती दिनासाथ सीमामा जान्छौं ।”

अर्को व्यवस्था नहुँदासम्मको लागी भनेर सशस्त्र प्रहरी अहिले साविकको डिभिजन सहकारी कार्यालय र साविकको जिल्ला कृषि विकास कार्यालयको भवनमा बसीरहेको छ । सरकारले गत साउनमा सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयानुसार जिल्लास्तरीय कार्यालयको रूपमा सदरमुकामस्थित गढीमा गुल्म हेडक्वाटरको नं ५१ कार्यालय स्थापना भएको छ ।

गुल्मले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि अन्य सुरक्षा निकायहरुसंग मिलेर काम गर्ने सशस्त्र प्रहरी नायव उपरिक्षक दुर्गादत्त पन्तले बताए । गुल्ममा तत्कालका लागि सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १६० जनशक्ति रहने भएको छ ।

कार्यालय स्थापना भएसँगै समुदायमा शान्ति स्थापनार्थ गस्ती, हुल दंगा नियन्त्रण, विपद् व्यवस्थापन, लागूऔषधलगायत अवैध सामग्री नियन्त्रण, चोरी निकासी, पैठारी र शान्ती सुरक्षा मजबुत बनाउनेजस्ता काममा आफूहरू सक्रिय रहेको जनाएको छ ।

सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने, सीमारक्षा गर्ने उद्देश्य सहित सशस्त्र प्रहरीको गुल्म स्थापना भएको गुल्मले सीमा क्षेत्रको रक्षाको म्याडेण्ड पनि सशस्त्र प्रहरीले पाएकाले, केही दिनमै सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटिने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए ।

भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा सशस्त्र प्रहरी बलको क्याम्प राख्ने तयारी भएको े जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले जानकारी दिए । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई तैनाथ गराउने तयारी भएको उनलेबताए । सीमा नाकामा सशस्त्र प्रहरी खटाउनका लागि सशस्त्र प्रहरी र जिल्ला समन्वय समितिको टोलीले सीमा नाकाको निरीक्षण समेत गरिसकेको छ ।

सीमा क्षेत्रमा चोरीपैठारी तथा सीमा क्षेत्रमा अपराधिक घटना हुने भएकोले सशस्त्र प्रहरीको गुल्म सदरमुकाममा नभई सीमा क्षेत्रमा गुल्म जानपर्ने जनगुनासो बढ्दै गएको छ । यसका साथै सीमामा नेपाली नागरिकमाथि हुन सक्ने दुरव्यवहारलाई न्यूनीकरण गर्ने, सीमाको सुरक्षा अवस्थालाई बलियो बनाउने उद्देश्य सहित झुलाघाटमा सशस्त्र प्रहरी परिचालन गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्