पूर्वप्रधानमन्त्री भट्टराईलाई गुन्द्रुक र पिठो उपहार



रामधन राई, खोटाङ
बिभिन्न कार्यक्रमका लागि खोटाङ आईपुग्नुभएका पूर्वप्रधानमन्त्री बावुराम भट्टराईलाई गुन्द्रुक र कोदाको पिठो उपहार प्रदान गरिएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका विद्यार्थी आफैले उत्पादन गरेको कृषि उपज सामाग्री विक्रि कार्यक्रमको क्रममा डाक्टर भट्टराईलाई विद्यार्थीले उत्पादन गरेको गुन्द्रुक, कोदोको पिठो र मकैको च्याँख्ला उपहार दिईएको हो ।

बुधवार र शनिवार नियमित हटिया लाग्ने दिक्तेलवजारस्थित हाटडाँडामा शनिवार आयोजित विक्रि कार्यक्रममा स्थानीय अभिभावकको हातवाट भट्टराईलाई उक्त कृषि उपज प्रदान गरिएको हो । उहाँलाई विद्यार्थी तथा स्थानीयहरुले आफुले उत्पादन गरेको तथा विक्रिको लागि ल्याएको विभिन्न उपजहरु उपहार दिँदै स्वागत गरेका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडा शिक्षा समितिले लागु गरेको शैक्षिक क्यालेण्डर अनुरुप वडाका पाँच विद्यालयका विद्यार्थीले उत्पादन गरेको कृषि उपज विक्रि कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष निर्मल राईले जनाउनुभएको छ । एक मावि, एक आधाुरभूत र तीन प्राविका विद्यार्थीले शैक्षिक क्यालेण्डर वमोजिम आफुले उत्पादन गरेको ६० प्रकारका कृषि उपज सामाग्री वितरणका लागि ल्याएका थिए ।

उत्पादन तथा व्यवसायमुखी शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गराउन उक्त कार्यक्रम क्यालेण्डरमा समावेश गरिएको वताईएको छ । गएको भदौ–१ गते करेसावारी निर्माण गरी विद्यार्थी आफैले उत्पादन गरेको सामाग्रीहरु वजारमा ल्याईएको थियो । किन्न गर्व गर्ने तर उत्पादन गर्न र वेच्न हिच्किचाउने खालको अवस्था अन्त्यका लागि यस्तो कार्यक्रम प्रभावकारी भएको कार्यक्रमका वक्तहरुले जनाएका छन् ।

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ती पार्टी नेपालको संयोजक समेत रहनुभएको भट्टराईले आफुले पाएको उपहार आफैले पकाएर खाने वताउनुभएको छ । उहाँले विद्यार्थीको उत्पादनलाई खरिद गरेर समेत लैजानुभएको छ ।
त्रिधार्मिक स्थल हलेसीको सम्भावना अध्ययन लगायतका विभिन्न पाँच दिने कार्यक्रम तय गरी गत वुधवारदेखि जिल्लामा रहनुभएको भट्टराईले दिक्तेल वजारमा शुभम फाउण्डेसनले सञ्चालन गरिरहेको जीवनपयोगी वैकल्पिक शिक्षाको अध्ययन गर्नुभएको छ । यस्तै, सङ्घीयतालाई दीगो वनाउने सन्दर्भमा स्थानीय तहमा देखिएका समस्याहरुको विषयमा छलफल गर्ने कार्यक्रम समेत लिएर उहाँ जिल्ला आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्