सिस्नेमा गोलभेडा खेती



रुकुम पूर्व ।
जिल्लाको सिस्ने गाउँपालिका– ५ निवासी प्रकाश र विमल विसी सधैं खेतबारीमै भेटिनुहुन्छ ।

विसी दाजुभाइमध्ये प्रकाशले स्नाकोत्तर र विमलले एसएलसी उत्तीर्ण गर्नुभएको छ । एक वर्षदेखि गोलभेडाखेती गर्दैै आउनुभएका दाजुभाइले वार्षिक आम्दानी रु दुईदेखि तीन लाख हुने बताउनुभयो ।

परम्परागत बाली मकै, गहँु, जौ लगाउँदा मुस्किलले खान पुग्ने अवस्था थियो । अहिले त्यही खेतबारीमा गोलभेडाखेती गर्दा राम्रो आम्दानी भइरहेको छ । “ ऋण खोज्नुपरेको छैन, बच्चाको पठनपाठन, घरखर्च चलाउन सजिलो भएको छ, गोलभेडाबाहेक बन्दागोपी, फूलकाउली, प्याज, आलुखेती पनि गरेका छौ,” प्रकाश विसी भन्नुहुन्छ । गोलभेडा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि छिमेकीहरु पनि विस्तारै आकर्षित हुन थालेको बताइएको छ । परम्परागत बालीबाट छ महीनाको छाक टार्न पनि धौधौ पर्ने परिवारमा अहिले गोलभेडाखेती आम्दानीको राम्रोे स्रोत बन्न पुगेको छ ।

सदरमुकाम नजिकै भएकोले उत्पादित तरकारी सदरमुकाम रुकुमकोटमै खपत हुने गरेको छ । जैविक उत्पादन भएकाले गोलभेडाको मागसँगै मूल्य पनि राम्रो रहेको विमल बताउनुहुन्छ । उहाँहरुले अहिले प्रतिकीलो ७० रुपँैयाका दरले गोलभेडा बेचिरहनुभएको छ । उहाँहरु भन्नुहुन्छ, “व्यावसायिक खेतीको लागि सहुलियत र बजारीकरणमा स्थानीय सरकारबाट सहयोगको अपेक्षा गरेका छौ ।”
रासस

प्रतिक्रिया दिनुहोस्