चन्द्रौटा कृष्णनगर बजार अनुगमन, होटलमा बालश्रमिक



सीताराम चौधरी, कपिलवस्तु ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कपिलवस्तुको चन्द्रौटा कृष्णनगर बजारको अनुगमन गरिएको छ । इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।

बजार अनुगमनका क्रममा कृष्णगनर क्षेत्रका होटलहरुमा बालश्रमिक फेला परेको शाखा अधिकृत अर्यालले जानकारी दिनुभएको छ । अधिकांश होटलहरुमा १४ वर्ष नपुगेका वालवालिकाहरु श्रम गरेर जीविकोपार्जन गरिरहेको पाइएको अर्यालले बताउनुभयो ।

घरायसी समस्या तथा अन्य विविध कारणले काम गर्न आएको प्यूठानका एक बालकले बताए । उनले मासिक ३ हजार पाएको र पाएको तलब घर पठाउने गरेको बताए । उनी जस्तै अधिकांश बालकहरु होटल अनुगमनका क्रममा बालश्रम गरेको पाइको छ । पढ्ने उमेरमा आर्थिक अभाव तथा परिवारबाट माया नपाउँदा उनीहरु होटलमा काम गर्न बाध्य छन् । कतिपय बालबालिकाका आमा वुवा नहँुदा होटलमा काम गरी पेट पाल्दै आएका छन् ।

इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले जो कसैले पनि वालश्रम गरे कानुन अनुसारको कारवाही गरिने जनाउनुभयो । अनुगमनका क्रममा चन्द्रौटाका केही होटलहरुमा मूल्यसूची र सरसफाई समेत नभएको पाइएको उहाँले जानकारी दिनुभयो ।

शान्ति पुनस्र्थापना गृह कृष्णनगरको समन्वयनमा अनुगमन गरिएको हो । अनुगमनमा स्थानीय जनप्रतिनिधि, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद खतिवडा, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष गोपाल बहादुर खत्री, वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्ती, इन्सेक प्रतिनिधि नन्दराम पौडेल, पीआरसी संयोजक भूमिराज भट्टराई, प्रहरी र संचारकर्मीहरुको सहभागिता थियो ।

अनुगमनका क्रममा होटल व्यवसायीले बालबालिकाहरुलाई १५ दिनभित्र अभिभावकसहित प्रशासन कार्यालय आउने प्रतिवद्धता जनाएका थिए । बालबालिकालाई श्रमिकका रुपमा होटलमा प्रयोग नगर्न प्रशासन शाखा अधिकृत अर्यालले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्