हिट्स एफएम म्युजिक अवार्डस् २०७५, जानी नजानीलाई ४ र बानिकालाई २ अवार्ड



रश्मी थापा

राजधानीबाट हिट्स एफएम सञ्चालन गर्दै आएको हिट्स नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको २२औं हिट्स एएफएम म्युजिक अवार्डस् २०७५ मा गायिका बानिका प्रधानद्वारा स्वरबद्व जानी नजानी बोलको गीत वर्ष गीत सावित भएको छ।

बानिकाले यसै गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुमेकी छिन् भने यही गीतबाट दिनेश सुब्बा सर्वोत्कृष्ट संगीतकार चाँद सिंह संगीत संयोजनको अवार्डलाई आफ्नो बनाएका छन्। दीप श्रेष्ठ सम्पत्ति दिए बोलको गीतबाट सर्वोत्कृष्ट गायकको विजेता भएका छन् भने यसै गीतबाट डा. राजुबाबु श्रेष्ठ रचनाकारको विजेता भएका छन्।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्ड समारोहमा ख्यातिप्राप्त संगीतकार, गायक तथा गीतकार दीपक जंगमलाई संगीत क्षेत्रमा योगदान पुर्याएबापत लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ। उनलाई सम्मान प्रदान गरिंदा संगीतकर्मीहरुले स्वतस्फूर्तरूपमा उठेर सम्मान व्यक्त गरेका थिए। गीत संगीत प्रस्तुतिमार्पmत रोचकरूपमा अगाडि बढेको समारोहमा लोचन रिजालको काँचो आवाज नामक एल्बम वर्ष एल्बम ठहरियो भने हाम्रो नेपालमा बोलको गीतबाट नितेजजंग कुँवर पप गायक र नवप्रतिभाको विजयी भए। त्यसै गरी मन चरीबाट श्रेया सोताङ पप गायिका, नाइ मलाई थाछैनबाट सञ्जिव पराजुली र टीका प्रसाईं युगल गायन, पिरै पिरबाट १९७५ एडी समूह गायनको विजेता भए। पिरै पिरबाटै निराकर याक्थुम्बा पप रक संगीत सिर्जनाको विजेता हुँदा हक बोलको गीतबाट प्रयत्न श्रेष्ठ रक गायन, साईंलीबाट राजन ठकुरी र विष्णुमाया गुरुङ लोक गीत, दुई रुपियाँ नामक फिल्मको कुटुमा कुटुबाट राजनराज शिवाकोटी फिल्मी गीतको विजेता भए।

उद्घोषकको ठट्यौलो प्रस्तुति तथा रमाइलो भिडियो प्रस्तुतिका साथ सम्पन्न समारोहमा गायकगायिकाहरु जेम्स प्रधान, बानिका प्रधानका साथमा सांगीतिक समूहहरु उपेन्द्र र साथीहरु, १९७४ एडी, आरके स्क्वायर, द याक्ट र वास्तुले गीत संगीत प्रस्तुत गरेका थिए। त्यसै गरी संगीतकार दीपक जंगमलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिंदा त्रिभुवन विश्वविद्यालयको संगीत विभागको एक समूहले उनीद्वारा संगीतबद्व गीत प्रस्तुत गरेको थियो भने रेडियो नेपालका प्रथम गायक स्व. हरिप्रसाद रिमालको सम्झनामा भिडियो प्रस्तुति गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्