हुवावे सीएफओ वाङजोको गिरफ्तारीले, चीन–अमेरिका सम्बन्धमा थप तनाव



बेइजिङ, (एजेन्सी)
चीनको चर्चित इलेक्ट्रोनिक्स कम्पनी हुवावेकी प्रमुख वित्त अधिकृत सीएफओ मेंग वाङजोलाई क्यानाडामा गिरफ्तार गरेपछि टोरोन्टो र वासिङटनसँग बेइजिङको सम्बन्ध तनावपूर्ण बनेको छ।
वाङजोमाथि इरानलाई लगाइएको अमेरिकी प्रतिबन्धको सर्त उल्लंघन गरेको आरोप लागेको छ। वाङ्जो कम्पनीका संस्थापककी छोरी हुन्। गत डिसेम्बर १ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी–२० शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग विद्यमान व्यापार युद्धलाई स्थगित गर्ने सहमति गरिरहँदा क्यानाडामा वाङजोलाई पक्राउ गर्ने तयारी भइरहेको थियो। अब वाङजोलाई अमेरिका हस्तान्तरण गर्ने तयारी भइरहेको छ।

वाङजोमाथि वास्तवमा के आरोप लगाइएको हो भन्ने विषयमा प्रस्ट भइसकेको छैन। इरानमाथि लगाइएको अमेरिकी प्रतिबन्धको सर्त उल्लंघन मामिलामा उनको जाँच चलिरहेको छ। तर यो एक महिलाको गिरफ्तारी वा एक कम्पनीको मामिला भने नभएको बताइएको छ।

यो गिरफ्तारीले अमेरिका र चीनबीचको पहिले नै अस्थिर रहेको सम्बन्धलाई नराम्रो क्षति पुर्याउन सक्छ। चीनले वाङजोको गिरफ्तारीलाई आफूविरुद्धको आक्रमण र ‘बन्धक बनाइएको‘ मामिलाका रूपमा लिएको छ।

चिनियाँ अखबार ग्लोब टाइम्सका सम्पादक हु सिजिनले अमेरिका चीनमाथि आक्रमण गर्ने उपायको खोजीमा रहेको बताएका छन्। ग्लोबल टाइम्स चिनियाँ सरकारको मुखपत्रका रूपमा लिइन्छ।
‘यो हुवावेलाई खराब देखाउने प्रयास हो। त्यसैले अमेरिकाले आफ्ना सहयोगी देशमाथि हुवावेको उत्पादन प्रयोग नगर्न दबाब दिइरहेको छ। यो हुवावेको प्रतिष्ठा नष्ट गर्ने प्रयास हो’ – सिजिनले बताए।
हालैमात्र अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतसहित कयौं सहयोगी देशले हुवावेको मोबाइल प्रयोग नगर्न भनेका थिए। यद्यपि बेलायतमा यसको एन्टिना र अन्य उत्पादनको प्रयोगमाथि रोक लगाउने तत्काललाई कुनै योजना छैन।

हुवावेले अहिलेसम्म कुनै जासुसी गरेको वा चिनियाँ सरकारलाई नागरिकहरूको निजी डाटा उपलब्ध गराएको प्रमाणित गर्ने कुनै प्रमाण भेटिएको छैन।

यसका बाबजुद अमेरिका सरकार र पश्चिमी सञ्चार माध्यम हुवावेलाई गलत तरिकाले प्रस्तुत गरिरहेकोमा कम्पनीका वरिष्ठ अधिकारीहरूले निरासा र आक्रोश व्यक्त गरिरहेका छन्।

उक्त कम्पनीलाई चिनियाँ सरकारको स्वामित्वमा रहेको र सरकारको इसारामा चल्ने कम्पनीका रूपमा लिने गरेकोमा पनि कम्पनीको अधिकारीहरू आक्रोसित छन्।

उनीहरू कम्पनीलाई कानुनको पालना गर्ने एक आधुनिक र विश्व कम्पनीका रूपमा हेर्नुपर्ने बताउँछन्। यस विषयमा अमेरिकाको रवैया गलत र आधारहिन भएको उनीहरूले बताएका छन्।

हुवावेका संस्थापक तथा वाङजोका पिता रेन जेन्फेइ चिनियाँ सेनाका अधिकारी रहेका थिए। त्यसैले उक्त कम्पनीको चिनियाँ पिपुल्स लिबरेसन आर्मीका सम्बन्धमा चिन्ता र अष्पटता एक कारण भएको मानिएको छ।

वाङजोको गिरप्mतारीलाई चीनका तमाम जनता उनको देशलाई अगाडि बढ्नबाट रोक्ने एक प्रयासका रूपमा हेरेका छन्। कम्प्लिट इन्टेलिजेन्सका टोनी नेसले भने– यदि हुवावेलाई विश्वको बाँकी देशमा कारोबार गर्न यसरी नै रोक्ने हो भने बढ्दो बजारमा यसको ५ जी पुर्याउने उद्दश्यलाई खतरा पुग्न सक्छ।

प्रतिक्रिया दिनुहोस्