युक्रेनमा अमेरिकी निगरानी विमान



वासिङ्टन, (एजेन्सी)
अमेरिकाले रुसविरुद्ध युक्रेनप्रति समर्थन देखाउन एक निगरानी विमान किभ पठाएको छ। यो कदम हालै अजोब सागरमा रुसका तर्फबाट युक्रेनका ३ नौसैनिक डुंगामाथि कब्जा र चालकदलका १४ सदस्यलाई हिरासतमा लिएपछि चालेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

गत महिना नोभेम्बर २५ मा भएको उक्त घटनामा सन् २०१४ मा शुरू भएको क्रिमिया संकटपछि पहिलोपटक रुस र युक्रेनबीच प्रत्यक्ष जम्काभेट भएको थियो। पेन्टागनका तर्फबाट जारी विज्ञप्तीमा अमेरिका र उसका सहयोगीका एक विमानले मुक्त आकाश सन्धिअन्तर्गत एक असाधारण उडान भरेको उल्लेख गरेको छ। यसको उद्देश्य युक्रेन र अन्य मित्र देशका लागि गरिएको प्रतिबद्धता पुरा गर्नुरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

युक्रेनका सेनाले उक्त उडानका लागि अनुरोध गरेको र त्यसका लागि ओसी–१३५बी विमान पठाइएको विज्ञप्तीमा जनाएको छ। अमेरिका, क्यानाडा, जर्मनी, फ्रान्स, बेलायत, रोमानिया र युक्रेनले यसको निगरानी गरिरहेका थिए। यसबीच पेन्टागनले काला सागरस्थित कर्च स्ट्रेट नजिकै युक्रेनी जहाजहरूमाथि अनावश्यक आक्रमणका लागि रुसको उक्साउने गतिविधि भइरहेको आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस्