अमेरिकी बालिकाको लागि विश्वभरि रगतको खोजी



वासिंगटन, (एजेन्सी)
क्यान्सरसँग भिड्नका लागि अमेरिकाको एक दुई वर्षीया बालिकालाई थुप्रै ब्लड ट्रान्सफ्युजन आवश्यक भएको घटना उनलाई म्याच हुने रगत खोजिका लागि विश्वव्यापी अभियानै बनेको छ।

जाइनाव मुगल नामक ती बालिकाको रगतको प्रकार विश्वमै दुर्लभमध्ये एक भएकाले उनको उपचारमा समस्या भइरहेको उनको उपचारमा खटेका डाक्टरहरूले बताएका छन्। स्वतःस्फूर्त अभियानकर्ताहरूले अहिलेसम्म १ हजार व्यक्तिको रक्त परीक्षणपछि केवल तीनजनाको मात्र रगत उनीसंग मिलेको बताएका छन्। डाक्टरहरूले उनको क्यान्सरको उपचार अवधिभरिमा कम्तिमा सातदेखि दसजना रक्तदाताको आवश्यकता रहेको बताएका छन्।

यसै वर्षको शुरूमा जाइनावलाई विशेष गरी शिशु र कलिला बालबालिकाहरूलाई लाग्ने दुर्लभ र खतरनाक किसिमको न्युरोब्लास्टोमा नामक क्यान्स भएको पत्ता लागेको थियो।
जाइनावको रगतमा अधिकांश मानिसको रातो रक्तकणमा हुने ‘इन्डियन बी’ नामक एक एन्टिजेन नरहेकाले उनको रगत अत्यन्तै दुर्लभ भएको जाइनावका लागि रगत खोज्न लागिपरेको वन व्ल्ड नामक गैरआयमूलक रक्त केन्द्रले जनाएको छ।

वन ब्लडले विशेष गरी पाकिस्तानी, भारतीय र इरानी मुलका ओ तथा ए व्लड ग्रुपका व्यक्तिहरूको मात्र रगत उनीसँग मिल्ने सम्भावना रहेको पनि जनाएको छ। तर यस्ता रक्तदाताहरूमध्ये पनि ४ प्रतिशतभन्दा कम मानिसको रगतमा मात्र इन्डियन बी एन्टिजेन नरहेको पाइएको जनाइएको छ।

वन ब्लडका प्रयोगशाला व्यवस्थापक फ्रियदा व्राइटले भनेकी छिन्, ‘यो निकै अनौठो घटना हो। मैले २० वर्षपछि पहिलोपटक यस्तो समस्या समाधानका लागि काम गर्नुपरेको हो। ’

वन ब्लडले अहिले जाइनावका लागि अन्य व्लड बैंकहरू र विश्वभरि दुर्लभ किसिमका रगतका दाताहरू खाज्ने योजना अर्थात अमेरिकन रेर डोनर प्रोग्राम (एआरडीपी) संग सहकार्य गरिरहेको छ।

अहिलेसम्म संयुक्त राज्य अमेरिकामा दुईजना र संयुक्त अधिराज्यमा एकजना रगत मिल्ने दाता फेला परिसकेको बताइएको छ। ब्राइटले अभियानका लागि बनाइएको विशेष भिडियोमा भनेकी छिन्, ‘रगतले उनको उपचार गर्न लागिएको होइन्। तर क्यान्सरको उपचारको क्रममा उनलाई जीवित राख्न यसको निकै महत्व रहेको छ।’ जाइनावकी आमा र परिवारका अन्य कुनै पनि सदस्यको रगत उनकोसंग नमिलेको पनि बताइएको छ।

प्रतिक्रिया दिनुहोस्