प्रहरीद्वारा फ्रेन्च विद्यार्थीहरूको अपमान



पेरिस, (एजेन्सी)
सामाजिक सञ्जालमा राखिएको विद्यालयका छात्रछात्राहरूलाई फ्रान्सका दंगा प्रहरीले टाउको पछाडि हात राखेर घुँडाले टेक्न लगाएको भिडियोका कारण फ्रान्समा व्यापक जनआक्रोश फैलिएको छ। राजधानी पेरिसदेखि पश्चिममा रहेको मान्तेस ला जोलीस्थित एउटा विद्यालयबाहिर प्रदर्शन गरिरहेका ती विद्यार्थीहरू प्रहरीसँग भिडन्तमा उत्रिँदा प्रहरीले १ सय ४० जनाभन्दा बढी पक्राउमा परेका थिए।
सरकारले परीक्षा प्रणालीमा ल्याउन लागेको सुधार योजनाले अवसर सीमित पार्दै असमानताको स्थिति निम्त्याउन लागेको भन्दै आक्रोसित विद्यार्थीहरू सडकमा ओर्लेका हुन्।
फ्रान्स सरकारले लामो समयदेखि इन्धनको मूल्यवृद्धि विरुद्ध ‘यल्लो भेस्ट’ धारी प्रदर्शनकारीहरूको विरोध झेल्दै आएको हो। प्रहरीले भने सेन्ट एक्सुपरी स्कुलनजिक समातिएका विद्यार्थीहरू सशस्त्र बैठकमा भाग लिने तयारीमा रहेको आरोप लगाएको छ।

फ्रेन्च अखबार ले मोनडेले स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि तिनीहरूलाई गिरफ्तार गरिएको जनाएको छ। तर पेरिस कम्युनिस्ट काउन्सिलर क्लेमेन्टाइन औटेनले पर्खालतिर मुख फर्काउन दिई फोहोरमा घुँडाले टेक्न लगाइएको दृश्य निकै भयावह, अपमानजनक र अस्वीकार्य रहेको बताएका छन्। ओक्स्फाम फ्रान्सका अध्यक्ष सेसीले डफलोटले ट्विट गर्दै मान्तेस ला जोली स्कुलका दृश्यहरू असहनीय भएको प्रतिक्रिया दिएकी छिन्।

राष्ट्रभरिका विद्यार्थीहरू राष्ट्रपति इम्मान्युयल म्याक्रोन विद्यालयको अन्तिम परीक्षामा ल्याउन लागेको परिवर्तन योजनाबाट आक्रोसित हुन पुगेका छन्। नयाँ योजनाअनुसार विद्यार्थीहरूले विश्वविद्यालयमा भर्ना हुन समेत योग्यता परीक्षा दिनुपर्नेछ।

यसैबीच फ्रान्सका गृहमन्त्री क्रिस्टोफे क्यास्टानरले फ्रान्समा सरकार विरोधी प्रदर्शनले अत्यन्तै भयावह परिस्थिति सिर्जना गरिसकेको शुक्रबार बताएका छन्। साथै उनले सप्ताहान्तमा हुने यल्लो भेस्ट समूहको प्रदर्शनमा अतिवादी तत्वहरूको पनि घुसपैठ हुनसक्ने चेतावनी पनि दिएका छन्। थप सडक हिंसा हुने सन्त्रासका कारण शनिबार पेरिसका पर्यटक क्षेत्रहरू बन्द गरिने भएको छ। शुरूमा इन्धन कर वृद्धिलाई लिएर शुरू भएको यस विरोध प्रदर्शनमा अहिले थुप्रै अन्य मागहरू पनि थपिँदै गएका छन्।

प्रतिक्रिया दिनुहोस्