इन्दुलको शब्द–विम्ब



किरण श्रेष्ठ
निजामती प्रशासनमा जीवनका धेरैजसो क्षणहरू गुजारिसकेका प्रशासकका रूपमा पनि चिनिएका डा. इन्दुल के.सी. सामाजिक सेवा, अध्यात्म कर्म, प्राकृतिक चिकित्सा, शिक्षण–प्रशिक्षण, पत्रकारिता, साहित्यलेखन गर्दै आएका बहुमुखी व्यक्तित्व हुन्। हास्यव्यङ्ग्य कविता लेख्दै आएका यिनी हास्यव्यङ्ग्य कवि पनि हुन्। इन्दुल के.सी. प्राकृतिक चिकित्सा क्षेत्रका राम्रा डाक्टर पनि हुन्। यिनै इन्दुलले आफूबारे विभिन्न व्यक्तिहरूले पोखेका उद्गारहरू, लेख–रचनाहरू संकलन गरेर भर्खरै ‘व्यक्तित्व र कृतित्वको तेस्रो आयाम’ पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएको छ।

वरिष्ठ आख्यानकार परशु प्रधानले उनीबारे ‘भुइँचालो’ कवितासङ्ग्रहमा यसरी आफ्नो अनुभूति पोखेका छन्, जुन सान्दर्भिक रहेकाले उल्लेख गर्न रुचाएँ। इन्दुलबारे उनी लेख्छन्– ‘म सधैँ सोचिरहन्छु, इन्दुल के.सी. के हो, के होइन ? इन्दुल के.सी. के गर्छन्, के गर्दैनन् ? इन्दुल के.सी. के सोच्छन्, के सोच्तैनन् ? के लेख्छन्, के लेख्तैनन् ? सुप्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ‘प्याज’ जस्तो लाग्छ उनको जीवन र गतिविधि। अर्थात् एब्स्य्राक्ट प्याज, जति पत्र झिके पनि नयाँ पत्र आइरहने। एउटा लामो र भयपूर्ण जीवनचक्र।’ परशु प्रधानले लेखेजस्तै छन् इन्दुल के.सी.को जीवन–क्रमहरू।

व्यक्तित्व र कृतित्वको पहिलो आयाममा ‘भुइँचालो’ कवितासङ्ग्रहमा समेटिएका केही कविताहरू, प्रकाशित मन्तव्यहरू, लेखकीय, प्रकाशकीय लेख–रचनाहरू छन्। दोस्रो आयाम ‘इन्दुल के.सी. व्यक्ति एक दृष्टि अनेक’ मा सीमाविद् बुद्धिनारायण श्रेष्ठ उनको मूल्याङ्कन गर्दै लेख्छन्– ‘यिनी योजनाकार, सपनाकार, कल्पनाकार छन्। यिनमा कर्मचारीको सान, वकिलको मान, कानुनको ज्ञान रहेको बुझिन्छ। यसैले इन्दुल के हुन् अनि के होइनन् भन्ने कुरा मैले अझै पूरै बुझिसकेको छैन। छरिएर रहेको ज्ञान आफ्नो खोपडीभित्र बटुल्न इन्दुल अझ दौडादौड गर्दै छन्, मानौं कि यिनी कलकत्ताको हाउडा स्टेसनबाट रेल छुट्नै लागेजस्तो गर्दछन्।’

तेस्रो आयाममा डा. इन्दुल के.सी.बारे दृष्टि पोख्नेहरूमा अच्युतप्रसाद पौडेल ‘चिन्तन’, अर्जुनमणि दीक्षित, एनपीएस निरौला, कृष्णगोपाल प्रजापति, कृष्ण प्रजापति, प्रा.डा. कृष्णप्रसाद दाहाल, कृष्णमणि कुइँकेल, कृष्णहरि बाँस्कोटा, गीता मञ्जुश्री, गोविन्द ताम्राकार, चन्द्रमान सुवाल, टीका ढुङ्गेल ‘रटन’, तेजप्रसाद पौडेल, नयनसिंह धामी, न्हुक्षेभक्त कवाँ, पशुपति पमाँलगायत अन्य १२ जना जति लेखकहरू प्रकाशित छन्। यसै सङ्ग्रहमा इन्दुल के.सी.का अनुभव, टिप्पणी, स्मरण र कविताहरू समेटिएका छन्। समग्र पुस्तकको मूल्याङ्कन गर्दा भन्न सकिन्छ कि पुस्तकमा धेरै थोकको जमघट छ। ती धेरै थोकको जमघटबाट ‘व्यक्तित्व र कृतित्वको तेस्रो आयाम’ बनेको छ। इन्दुल के.सी. के हो, कस्तो छ, के गर्छन्, कस्तो लेख्छन् ? यी सबै खालका दृष्टिको लेखहरूकै सङ्ग्रह बनेको छ यो पुस्तक।

प्रतिक्रिया दिनुहोस्