विष चिकित्साका ज्ञाता तक्षशिलामा




पतञ्जलि–११ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला

पुनर्वसु आत्रेय बाबुजस्तै यायावर ऋषि थिए। यिनी पनि आफ्ना शिष्यका साथ ठूला–ठूला रोगका चिकित्साका लागि यत्रतत्र विचरण गरिरहन्थे। खेचर पर्वतमा अभिजन भएका हुनाले, चरकशाखाका आनुवंशिक स्वाध्यायी हुनाले र रोगीहरूको चिकित्साका लागि बोलाएका ठाउँमा तत्कालै पुग्ने द्राक्चर भएका हुनाले पनि यिनी समाजमा चरक उपनामले प्रसिद्ध भए। यिनी मात्र होइन, यजुर्वेद र चरक संहिताका विशिष्ट विद्वान् भएकाले नै महाभारत कालिक कृष्णद्वैपायन व्यासका शिष्य वैशम्पायन र तिनका शिष्यहरूको उपनाम पनि चरक थियो।

आत्रेय पुनर्वसु रोगीहरूको चिकित्सा गर्ने क्रममा आफ्ना चेलाचाटीका साथ एकपल्ट गान्धार देश पुगे। गान्धार देश महाभारतकालीन हस्तिनापुरका राजा धृतराष्ट्रको ससुराली देश हो। गान्धार नरेशकी राजकुमारी गान्धारीसँग उनको विवाह भएको थियो। गान्धार नरेशको छोरो शकुनि दुर्योधन आदि सय भाइ कौरवका मामा थिए। गान्धार देश यसका बीचमा बग्ने सिन्धुनदीका कारण दुई भागमा बाँडिएको थियो। यसको पश्चिमीतटको प्रसिद्ध नगरको पुरातन नाम पुष्करावती थियो। यसलाई पछि–पछि जनभाषामा पुरुषपुर– पेसावर भनियो। सिन्धुतटको पूर्वी भागको नाम तक्षशिला थियो। अहिले यो ठाउँ पाकिस्तानको रावलपिण्डी र पेसावर नगर क्षेत्रमा पर्दछ।

गान्धार देशका राजा तिनताका नग्नजित् थिए। यिनी स्वयं पनि आयुर्वेदका विद्वान् थिए। इनका छोराको नाउँ स्वर्जित् (स्वर्गजित्) थियो। पुनर्वसु आत्रेय आफ्नो देशमा आएको थाहा पाएर राजा नग्नजित् स्वयं यिनको अगुवानी गर्न गए। नग्नजित् यद्यपि आयुर्वेदका ज्ञाता थिए। तथापि यिनलाई औषधिमा विष प्रयोग र विष चिकित्साबारे राम्रो ज्ञान थिएन। यस विषयको ज्ञान यिनी पुनर्वसुबाट प्राप्त गर्न चाहन्थे। यिनले यसका लागि उनीसँग प्रार्थना गरे। पुनर्वसुले विष प्रयोग र विष चिकित्साबारे राजा नग्नजित्लाई उपदेश दिए।

पुनर्वसु आत्रेयले त्यहाँबाट तक्षशिला विश्वविद्यालयको पनि यात्रा गरे। यो विश्वविद्यालय तिनताका समस्त भारतवर्षकै प्रसिद्ध विद्याकेन्द्र थियो। त्यहाँ काशी, राजगृह, पञ्चाल, मिथिला र उज्जयिनीबाट पनि छात्रहरू अध्ययन गर्न आउने गर्दथे। शालातुरीय पाणिनिले पनि केही समय यस विश्वविद्यालयमा बसेर अध्ययन गरेका थिए। तक्षशिला विश्वविद्यालयका कुलपतिले पुनर्वसु आत्रेयका विद्वत्ताको कदर गर्दै यिनलाई आफ्नो विश्वविद्यालयमा भिषगाचार्यको पदमा सम्मानसाथ बहाली गराए। त्यसपछि केही समय पुनर्वसु आत्रेयले त्यहाँ पनि अध्यापन गरे।
क्रमशः

प्रतिक्रिया दिनुहोस्