शिक्षण जगत्का उज्ज्वल नक्षत्र



मोहन दुवाल
गम्भीरमान मास्केको जन्म काठमाडौंको अति व्यस्त ठाउँ खिउँ लँ टोल, बाङ्गेमुढामा वि.सं. १९८९ जेठ २७ गते पिता कलाकार चन्द्रमान मास्के र माता जुलुम मास्केको कोखबाट भएको थियो। उनी २ वर्षको छँदा नै माताले छाडेर गइन्। त्यस्तै दुःख, कष्टसँग सानै छँदादेखि संघर्ष गर्दागर्दै ९ वर्षको सानो बालक हुँदा उनका बाबु कलाकार चन्द्रमान मास्केलाई राणा शासकले पक्रेर जेल हाले। अनि सानो बालक गम्भीरमानका लागि ठूलोबुबा वज्रमान मास्के नै अभिभावक र सहारा बने। भेडासिंहस्थित महावीर स्कुलको घरको अगाडि रहेको घर नै गम्भीरमान मास्के परिवारको घर रहेका कारणले कलाकार चन्द्रमान मास्केलाई राणा शासकले पटक्कै सहेन, त्यसैले चन्द्रमान मास्केलाई राजनीतिको डरलाग्दो नेता सम्झेर पक्राउ गरे। गम्भीरमान मास्के सहाराहीनजस्तो जीवन बाँच्न बाध्य भए।

यस्तै दुःख र वेदनाकै लहरमा लहरिँदै गम्भीरमानले आफूलाई आफ्नो जीवनपथमा दौडाए। वि.सं. २००७ मा मात्र जसोतसो एसएलसी उत्तीर्ण गरेका यिनले धेरै पसिना बगाएर बी.ए., बी.एड. सम्म उत्तीर्ण गरेको देखिन्छ। २३–२४ वर्षको छँदा अर्थात् वि.सं. २०१२ मा गंगा मास्केसँग विवाह गरेका यिनका तीन छोरा र एक छोरी जीवनपथमा सक्रिय छन्। वि.सं. २०५४ जेष्ठ २७ गते बुधबार यिनका लागि सहनै नसक्ने खालको दिन रह्यो। गम्भीरमानलाई जीवनमा साथ दिइरहेकी गंगा भाउजूले छोडेर गएको उक्त दिन उनका लागि सबैभन्दा दुःखद रह्यो। ४२ वर्ष सँगै बसेका जीवनका दुःख–सुखमा साथ दिँदै गरेका साथीले छाडेर गएपछि धेरै विह्वल बनेका यिनी हाल २ छोरा र १ छोरी छोडेर चित्त बुझाएर आफ्नो बाटो लागे।

अंग्रेजी भाषाका ज्ञाता र योग्य शिक्षक गम्भीरमानले घर–घरमा गई धेरै वर्षसम्म ट्युसन मास्टर भएर जीवनका क्रमहरू गुजारेको देखिन्छ। वि.सं. २०१७ मा विश्व निकेतन मा.वि.का यिनी शिक्षक भए र त्यहीँ रहँदा रहँदै वि.सं. २०२३ देखि यसै विद्यालयको प्रधानाध्यापक भई २०४९ सालसम्म सेवा पुर्याए। २०४९ मा नै निवृत्त भइसक्नुपर्ने यिनलाई २ वर्ष सेवा गर्न अनुरोध गरेअनुसार २०५१ मा मात्र यिनीले यस विद्यालयबाट निवृत्त भए। पछि पनि यिनले यस विद्यालयद्वारा स्थापित विज्ञान क्याम्पसको व्यवस्थापन समितिका आजीवन सदस्य र विद्यालयका शैक्षिक सल्लाहकार भएर शैक्षिक व्यक्तित्वका रूपमा आफूलाई चिनाएर गए।

जन्मेपछि केही गरेर जानुपर्छ। मान्छे हुनु अहोभाग्य हो, त्यसैले मान्छेको स्वभावअनुसारको चरित्र बनाएर जिउनुपर्छ। यस्तै खालका विचारका धनी मास्केले ढोंगी आदर्शलाई कहिल्यै पनि जीवनमा मन पराएनन्। मंगलमानजस्तो समाजसेवकका मित्र गम्भीरमान मास्केले हरिजन स्कुलमा वि.सं. २००६ तिर नै शिक्षक भई सेवा पुर्याएको देखिन्छ। यिनका बुबा कलाकार चन्द्रमान मास्केलाई पक्राउ गरी जेलमा राणाहरूले राखेका कारणले दरबार स्कुलमा भर्ना लिन गाह्रो मानेको र पछि मृगेन्द्र शमशेरले भनेपछि मात्र भर्ना लिएका यिनले पद्मोदय मा.वि.बाट एस.एल.सी. परीक्षा उत्तीर्ण गरेको देखिन्छ। अति सरल अनि भावुक यिनले शायद ढाँट्न जानेका भए पजेरामा चढेर हिँड्थे होला। यिनले रामशरण महतजस्ता अर्थ मन्त्रीहरूलगायत थुप्रै शक्तिशाली मान्छेहरू जन्माएका छन् तर पनि यिनले कहिल्यै पनि आफ्नो शालीनतालाई कतै बन्धकी राखेनन्। शिक्षामा व्यापारीकरण र राजनीतीकरण भएको स्थिति औंल्याउँदै उनले शिक्षाको विकासमा सामूहिक प्रयास हुनुपर्ने विचार राखेर गएको देखिन्छ। महात्मा गान्धी र टाल्सटायबाट विशेष प्रभावित यिनले कहिल्यै पनि कसैको कुभलो गर्ने विचारसम्म पनि सोचेको देखिएन, त्यसैले त यिनी हिमालजस्तै चोखो पनि छन्।

यिनले बताएअनुसार वि.सं. २०२३–२०२४ सालमा धुलिखेल सेन्टरको सुपरिटेन्डेन्ट भई जाँदा देखेको धुलिखेलको टुँडिखेल यिनलाई सबभन्दा मन परेको बताए। प्रकृतिप्रेमी गम्भीरमान मास्केका लागि धुलिखेलकै टुँडिखेलबाट देखिने हिमाल, तरेली परेका पहाड, घुम्ती बाटो, नदीनालाकै शृङ्खला जीवनका स्मरणमा कहिल्यै पनि बिर्सन नसकिने सुन्दर प्रकृति भइदिएका छन्। नराम्रो हेर्न मन नपराउने, राम्रो मात्र हेर्न मन लालायित भइरहने भनी राम्रैको बखान गर्न रुचाउने खालका साथीहरू मन पराउने कुरा गम्भीरमान बताउने गर्छन्। शिक्षाप्रेमी, बौद्धिक र साहित्यप्रेमी मान्छेहरू मन पराउने यिनले नेपालभाषामा थुप्रै कथा प्रकाशित गराएका छन्। दुईवटा यिनका कथा अंग्रेजीमा पनि प्रकाशित छन्। धर्मोदय, उदयजस्ता पत्रपत्रिकाहरूमा कवितासमेत छापिसकेका यिनका नेपालभाषामा पुस्तक प्रकाशित छन्। आफ्नै जीवन संगिनीको संस्मरणमा पनि पुस्तकमा आफ्नो विचार पोखेका छन्।

पढाइरहने, पढिरहने र डाकेको ठाउँमा पुगी सक्दो योगदान पुर्याइरहेका गम्भीरमान माड्साहेबले आफ्नो आमाको सम्झनामा विश्व निकेतन मा.वि.मा छात्रवृत्ति राखेका छन्। सक्दो समाजलाई दिनुपर्छ, अनि मात्र महानता खुल्छ मान्छेका मनमा यस्तै सन्दर्भ खोपेर शिक्षाक्षेत्रमा निष्कलङ्कता रोपेर गएका यिनी अंग्रेजी प्रिपेटोरी विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष रहेर, शिद्धार्थ वनस्थलीको शिक्षक भएर, विश्व निकेतन उच्च मा.वि.कै सल्लाहकार रहेर ट्युसन पढ्न आउने विद्यार्थीलाई सरल ढङ्गले अंग्रेजी सिकाएर जीवन गुजार्दै गएका देखिन्छन्।

एउटै कुरामा ध्यान केन्द्रित गर्न नसक्दा, मन–मनमा कुरा खेलाइरहँदा बेथिति भोग्नुपर्ने हुन्छ। यिनले पनि यस स्थितिमा बेथिति भोगेका छन्। जीवनभर शिक्षण पेसामा आफूलाई समर्पित तुल्याउन सफल एकजना शिक्षक योद्धा गम्भीरमानले जीवनमा कहिल्यै पनि शिक्षण सेवालाई मगन्तेको पेसा बनाएनन्। शिक्षण सेवामा पनि गौरव र गरिमा सधैँ समाहित रहिरहन सक्छकै उदाहरण बनेर देखाइदिए। यिनको महत्व यस्तैमा रह्यो। निःस्वार्थ भावना राखेर शिक्षण सेवामा जुटेका यिनी आफ्नो पेसाप्रति कहिल्यै पनि वितृष्णा जनाएर निष्कृय भएनन्। आफूले रोजेको निष्कलङ्क मार्गमा अविछिन्न लागिरहनु नै यिनको महानता हो। शिक्षण पेसा निष्कलङ्क मार्ग मानिन्छ। यस मार्गलाई यिनले आफ्नो जीवनमार्ग बनाए। गुरुत्तर भार बोकेर शिक्षण सेवामा आफूले पुर्याएको योगदानमा गौरव गर्छन्, शिक्षण सेवा भनेको पवित्र सेवा हो भनेर मन–मनमा सन्तोषको श्वास फेर्छन्। यिनै त हुन् उनका मन र आँखाहरूमा रहेका महानताका उत्सर्गहरू ⁄ देशका सबै क्षेत्रमा यस्ता शालीन विम्बहरूको खोजी हुनुपर्छ।

फलफूलकै बोटविरुवाझैँ लटरम्म आफू झुलेर अरूलाई सुख बाँड्न खोजिरहेका, खोज्न तत्पर रहेका यस्ता सौम्य मनमस्तिष्कहरू छामिदिनुपर्छ, उनीहरूका पदचिन्हलाई पछ्याइदिनुपर्छ। गम्भीरमान मास्के यस्तै राम्रो सन्दर्भमा झुलेका शिक्षाका बोटबिरुवा हुन्, जसले राम्रा–राम्रा पाकेका रसहार फलफूलहरू हुर्काएका छन्। यस्ता बोटबिरुवाहरूकै संरक्षणमा देश लाग्दैन भने देशमा विकास फुल्दैन, रम्दैन। मैले यसरी गम्भीरमान मास्के सरलाई सम्झेँ। केही वर्षदेखि अस्वस्थ रहँदै घरमै उपचाररत मास्के सर ८६ वर्षको उमेरमा यही मङ्सिर १६ गते आइतबार दिवंगत भए। यिनै शिक्षण जगत्का एकजना उज्ज्वल नक्षत्र गम्भीरमान मास्केकै स्मृतिमा श्रद्धाञ्जलिका शब्दहरू समर्पण गरिरहेछु।

प्रतिक्रिया दिनुहोस्