‘लागु पदार्थ’ सम्बन्धि जनचेतना फैलाउदै डोटी प्रहरी



विमल बिष्ट, डोटी ।
जिल्ला प्रहरी कार्यालय डोटीले जिल्लामा ‘लागु पदार्थ’ सम्बन्धि जनचेतना फैलाउन थालेको छ । दिपायल सिलगढी नगरपालिका वडा न ६ को पहलमा शुक्रबार जिल्ला सदरमुकाम सिलगढीमा लागूऔषध सम्बन्धि सरोकारवालाहरुको सहभागितामा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले लागू औषधका प्रकार, प्रयोगको अवस्था र असर सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो । त्यस्तै उहाँले लागु औषधको कारोबार र सेवन गर्नेहरूका लागि कानुनी सजायको व्यवस्था सम्बन्धी समेत जानकारी गराउनु भएको थियो ।

जिल्ला सदरमुकाम सिलगढीमा लागू औषध विक्रीवितरण गर्ने शंकास्पद व्यक्ति र सेवन गर्ने सम्भावित युवाहरूलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको दिपायल सिलगढी नगरपालिका कार्यपालिका सदस्य दीपा श्रेष्ठले जानकारी दिनु भयो ।

लागू औषध सेवनबाट शारीरिक, मानसिक, आर्थिक, सामाजिक सबै खालको असर पर्ने भएकोले यसको नियन्त्रणमा प्रहरी मात्रै नभएर सबैले लाग्नुपर्ने प्रहरी उपरीक्षक माझीले बताउनु भयो ।

नगरपालिका क्षेत्रमा लागु औषध बिक्रीवितरण र सेवन गर्ने जो कोहिलाई कडा कानुनी कारबाही गरिने दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले बताउनु भयो ।

नेपालमा गाजा, चरेश, अफिम, कोकिन, हिरोइन, ब्राउन सुगर जस्ता लागू पदार्थको कारोबार हुने गरेको र फेन्सिडोल, फेनरागन, कोरेक्स, डाइजापाम, नेप्च्युन, टिटिजेसिक, डेन्ड्रोइट जस्ता ट्याब्लेट, पाउडर र इन्जेक्सन प्रयोग हुने गरेको पाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्