स्याङ्जावासीको प्रमुख आयआर्जन सुन्तला



अमृत अर्याल, स्याङ्जा ।
स्याङ्जावासीका लागि सुन्तला राम्रो आम्दानीको स्रोत बन्न थालेको छ । सुन्तलाले आम्दानीको मात्रै राम्रो व्यवस्थापन गरेको छैन जिल्लाको पहिचानको रुपमा पनि लिने अवस्था आएको छ । प्रमुख नगदेवालीको रुपमा रहेको सुन्तला स्याङ्जावासीको प्रमुख आयआर्जनको स्रोत भएको छ ।

स्याङजा सुन्तलाको लागि प्रख्यात जिल्ला हो । सुन्तला खेती आम्दानीको स्रोतमात्रै होइन सिंगो गाँउ चिनाउने माध्यम भएको छ । सुन्तलाकै नाम राखेर सुन्तलावारी सामुदायीक होमस्टे संचालन गरेपछि आम्दानी सगै गाँउ पनि चिनिएको हो । सुन्तलाको पकेट क्षेत्रको रुपमा रहेको जिल्लाको एलादी खाल्डेका नागरिकले पर्यटकलाई सुन्तला चखाउदै आफ्नो गाँउको परिचय दिदै आएका छन् ।

कुनैबेला बजार नपाएर स्याङ्जाका सुन्तला बोटमै कुहिएका थिए । तर आजभोली स्याङ्जाको सुन्तला भनेपछि देशमात्रै नभएर देशबाहिर पनि राम्रो बजार पाएको छ । जिल्लाको वालिङ नगरपालिकाको सिद्धार्थ राजमार्ग अन्तर्गत त्रियासी देखि ७ किलोमिटर कच्ची सडक यात्रा गरेपछि पुग्न सकिने गाँउ हो खाल्डे । जहाँ सुन्तलाको बगैचाले गाँउ नै ढपक्क ढाकेको छ । सुन्तलै सुन्तलाको बगैचा रहेको खाल्डे गाँउलाई सुन्तलाबारी होमस्टेका नाममा पछिल्लो समय परिचय पाईने गर्दछ ।

वालिङ नगरपालिका ४ मा अवस्थित खाल्डे गाँउमा ३३ घर धुरी रहेका छन् जस मध्ये २९ घर गुरुङ् समुदायका रहेका छन् भने ३ घर बाहुन जातीका रहेका छन् । समुन्द्री सतहबाट ११८५ मिटर देखि १२ सय मिटरको उचाईमा रहेको यो गाँउ कृषिको उर्भरभुमिका रुपमा मानिन्छ । होमस्टेका लागि हाल १२ वटा घरमा संचालन गरिएको छ । जसमा सुविधायुक्त २० कोठामा एकपटकमा ४० जना पाहुना बस्न सक्ने व्यवस्था मिलाइएको छ ।

यस बर्ष हुरीबतास र असिना नपरेका कारण सुन्तला उत्पादनमा बृद्धि भएको यहाँको समितिले जनाएको छ । सुन्तला खेतीको सिजनमा पुग्दा अत्यन्तै आनन्द र सुन्तालाको मनोरम दृष्य देख्न पाईने होमस्टेको अनुभव र घुम्न जाने पाहुनालाई स्थानीय अर्गानीक उत्पादनले स्वागत गर्ने यो गाँउको विशेषता नै हो ।

करिव १० हेक्टर जमिनमा यहाँ सुन्तला फल्ने गर्दछ । सुन्तलाबारी भित्रै पर्यटक घुम्ने ट्रेकिङ समेत निर्माण गरिएको छ । गाँउभरी नै सुन्तलाको बगैचा रहेकाले यो गाँउलाई सुन्तलाबारी होमस्टे राखेको सुन्तलावारी सामुदायीक होमस्टेका अध्यक्ष क्याप्टेन डिलविक्रम गुरुङले बताउनुभयो ।

बाक्लै फलेका सुनजस्तै पहेलो देख्न पाईने यो गाँउमा पुषको दोस्रो साताबाट मात्रै सुन्तला विक्रिवितरण गर्न पाईन्छ अध्यक्ष गुरुङ्ले भन्नुभयो,“गाँउको नाम नै सुन्तलावारी होमस्टे राखेकाले सुन्तलालाई ढिलो गरी विक्रि गर्दछौं ।” गाँउमा आउने पाहुनाले सुन्तलाको दृष्य अवलोकन गर्न पाउन भनेर नै हामीले छिट्टै सुन्तला विक्रि गर्दैर्नौ गुरुङ्ले भन्नुभयो ।

आन्तरिक पर्यटक होस वा बाह्रय पर्यटक गाँउ घुम्न आउने पर्यटकलाई समान व्यवहारले स्वागत गर्ने यहाँका बासीन्दाहरुको दैनिकी पर्यटकको पर्खाई र स्वागतमा वित्ने गर्दछ । सुन्तलाको सिजन बाहेक आउने पर्यटकका लागि घुम्ने रमाउने अरुपनि पर्यटकीय क्षेत्रहरु रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

सुन्तला बगैचा बाहेक यहाँ बुढाकोटको भ्युटावर, बसन्ती झरना जहा क्यानोनिङको व्यवस्था छ । विभिन्न धार्मिक स्थलको अवलोकन र २ सय बर्ष पुरानो सिमलको रुख पनि अवलोकन गर्न पाईने व्यवस्था यहाँ रहेको छ ।

उत्पादन भएको सुन्तलाले बजार भाउ नपाएपछि समस्यामा पर्दै आएका यहाँका किसानहरुले होमस्टेका कारण सुन्तलाको बिक्रि वितरणमा सहजता मात्रै होईन आम्दानीमा समेत टेवा पुगेको छ । होमस्टे संचालनमा आ—आफ्नै विशेषता रहने गरेका छन् । मिठो आथित्यता सगै रमाईला दृष्य अवलोकन बढी मात्रैमा होमस्टेहरुमा रहने गरेपनि सुन्तलाबारी होमस्टे भने बिशेष प्रकारको देखिन्छ ।

हरेक बर्ष सुन्तलाखेतीबाट मात्रै आम्दानी गर्न सफल यहाँका बासीन्दा होमस्टे संचालन गरेर गाँउको परिचय राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन चाहान्छन् । अहिले न्युनतम एक घरधुरीले १ लाख देखि १० लाख सम्म सुन्तला बिक्रिगरेर आम्दानी गर्दै आएकोको अध्यक्ष गुरुङ्ले जानकारी दिनुभयो ।

यहाँ १ रात देखि २ दिन र २ रात देखि ३ दिन सम्मको प्याकेज भ्रमण रहेको छ । कृषिजन्य बस्तुको नामबाट गाँउलाई चिनाउने यो प्रयासलाई स्थानीय सरकार सगै प्रदेश र संघिय सरकारले पनि सहयोग गर्न सकेमा बाह्रय सगै आन्तरिक पर्यटक भित्राउन अझै सहजता मिल्ने देखिन्छ । स्याङ्जामा अघिल्लो वर्ष रु १६ करोड मूल्य बराबरको ११ हजार ४ सय ९७ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्