दुर्गा कौराका साथ एकल साँझमा



कौरा किङ दुर्गा गुरुङ पहिलोपटक एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएका छन्। गायक गुरुङ सांगीतिक क्षेत्रमा आएको रजत वर्ष पुगेको अवसरमा एकल गायन कार्यक्रमममा प्रस्तुत हुन लागेका हुन्।
उनी भोलि शनिबार राष्ट्रिय नाचघरमा हुने दुर्गा गुरुङ एकल साँझ–२०७५ मा आफ्नो कौरा (चुट्का) गीतका साथ प्रस्तुत हुनेछन्। एकल साँझ तमु (गुरुङ) समाज तनहुँ, काठमाडौंले आयोजना गर्न लागेको हो। समाजका अध्यक्ष गंगाराम तमुले आफ्नो कला संस्कृति परम्पराको जगेर्ना तथा चुट्का (कौरा) गीतको संरक्षण र सम्वद्र्धन गर्ने हेतुले गायक, संगीतकार, संगीत संयोजक तथा वाद्यवादक दुर्गा गुरुङको एकल साँझ आयोजना गर्न लागेको बताए। ‘म गीत–संगीतको क्षेत्रमा लागेको २५ वर्ष पुगेको छ। यसै अवसरमा पहिलोपटक एकल साँझमा प्रस्तुत हुँदै छु। अरू विधाको गीतसमेत गाउँदै आए पनि विशेष गरी कौरा गायकका रूपमा पहिचान बनेकाले एकल साँझमा पनि विशेष गरी कौरा गीत नै प्रस्तुत गर्नेछु। यो हाम्रो परम्परा पनि हो। धेरैजसो कौरा गीत गाउनेछु, अरू विधाका केही गीत पनि पस्कनेछुु।’ –गायक गुरुङले भने।

करिब ३ घन्टासम्म चल्ने एकल साँझमा प्रत्यक्ष वाद्यवादनमा गायक गुरुङले १ दर्जन बढी गीत प्रस्तुत गर्नेछन्। उनले हे कानछी, साली भेना, सोलुु जुब्रुको, आकाशै उज्यालो, रिसिङ डाँडा रमाइलो, ठुलढुंगाको बजारैमा जस्ता आफुनो लोकप्रिय कौरा गीतका साथमा रोदी बस्न आउँछ रे भन्दिनु जस्ता लोकपप, आयो मैना गयो मैना जस्ता झोरा गीतका साथमा गुरुङ भाषाका गीतसमेत प्रस्तुत गर्नेछन्। दुर्गालाई गायनमा लोकदोहोरी गायकगायिका रेशम गुरुङ, भीम दुरा, तेजेन्द्र दुरा, प्रकाश गुरुङ, पृथ्वी गुरुङ, रिदम थापा, राज गुरुङ, प्रेम गुरुङ, टेक गुरुङ, शर्मिला गुरुङ, दुर्गा गुरुङ, टीका पुन, बबिता गुरुङ, अनु गुरुङ, शोभा गुरुङ, एलिना गुरुङ, कल्पना गुरुङ र माया गुरुङले साथ दिनेछन्।

कुशल बाँसुरीवादक तथा मादल, तबला, हार्मोनियम, किबोर्डलगायतको वाद्यवादनमा पोख्त रहेका तनहुँ–८ वसन्तपुरका दुर्गा सांगीतिक क्षेत्रमा छाउने उद्देश्यले २०५३ सालमा राजधानी आएका थिए। करिब १ दशक बाँसुरीवादनकै क्षेत्रमा सक्रिय रहेका उनी २०५६ देखि २०६० सालसम्म सांगीतिक समूह मंगोलियन हार्टमा बाँसुरीवादकका रूपमा रही गीत एरेन्ज र संगीत कम्पोज पनि गर्थे। डेढ दर्जन गुरुङ फिल्ममा संगीत तथा स्वर दिई ५ हजार गीतको म्युजिक एरेन्ज गरेका दुर्गाले आँसु नझार एल्बममा रहेको आँसु नझार बोलको दोहोरी गीतबाट गायन यात्रा शुरूआत गरेका थिए।

दुर्गाले रोदी घरैमा नामक लोकपप एल्बममा रहेको रोदी बस्न आउँछ रे भन्दिनु यानी मायालाईबाट लोकपप गायकको परिचय बनाए भने हे कानछी ढल्क्यो जोवन माइतै नभुल, आकाशै उज्यालो, रिसिङ डाँडा रमाइलो, ठुलढुंगाको बजारैमा, रसैको माया हे माया जस्ता गीतमा स्वर दिएका छन्। कौरा, लोकपप, दोहोरी गरी डेढ सयभन्दा बढी गीत गाएका उनको चांैरी गोठैमा, माछी लेवैमा, रोधी घरैमा जस्ता लोकपप, हे कानछी, रिसिङ डाँडा रमाइलो, सोलोजुलुको, साली भेना, रसैको माया, आकाशै उज्यालो जस्ता कौरा एल्बम बजारमा आइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्