थिएटरमा विवाहको प्रस्ताव



शैली थिएटरले रुसी साहित्यकार आन्तोंन चेकोभको एकाङ्की नाटक विवाहको प्रस्ताव (द म्यारिज प्रपोजल) मञ्चन गरेको छ। पहिलो चरणमा रुसी सांस्कृतिक केन्द्रमा बुधबार र बिहीबार मञ्चन भएको नाटक केही दिनको विश्रामपछि पुनः देखाइने थिएटरले जनाएको छ।

बिहेसँग जोडिएको सरल कथावस्तुको चेकोभको नाटकले हास्यास्पद अवस्था सिर्जना गरी सामाजिक चालचलनलाई व्यंग्य गरेको छ। नाटकको शुरुआत एक ७० वर्षीया वृद्ध, स्टिपान स्टेपानोभिज र उसको ३५ वर्षीय छिमेकी इभान भ्यासिलिचको वार्तालापबाट हुन्छ। सामान्य कुराकानीपछि इभानले स्टिपानकी छोरी नतालियालाई माग्न पुग्छ। इभान र नतालियाबीच अझै पनि प्रशस्तै विवाद हुने सम्भावना देखाउँदै नाटक सकिन्छ।

सशांक बोहोरा (इभान) र स्नेहा पौडेल (नतालिया) ले विवाह गर्ने उमेरका युवायुवतीको भूमिकामा दर्शकलाई स्वाभाविकरूपमा हसाउँछन्। उनीहरू बीच हुने विवाद अनि केही समयमा नै एक–अर्काप्रतिको आकर्षण बढो रुचिपूर्ण तरिकाले देखाइएको छ। नाटकमा २६ वर्षे युवा कलाकार सुवास सुवेदीले ७० वर्षे स्टेपान स्टेपानोभिचको भूमिकालाई न्यायपूर्ण तरिकाले निर्वाह गरेका छन्। सेटमार्फत दृश्यमा देखाइएको वातावरण र भेषभूषाले रुसको झ–झल्को दिने नाटकमा निर्देशकले संगीत र प्रकाशको सुहाउँदो प्रयोग गरिएको छ। आन्तोंन चेकोभको कृतिलाई सविन न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन्। देवेन्द्र बब्लुले नवराज बुढाथोकीलाई निर्देशनमा सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्