शान्ति सुरक्षा मजबुद बनाऊ



नेपालमा केही समयदेखि सुरक्षाको अवस्था कहालीलाग्दो भएको छ । विभिन्न स्तरका आपराधिक व्यक्ति, समूह वा जत्थाले समाजमा सामान्यदेखि गम्भीरतम् प्रकृतिसम्मका आपराधिक घटना घटाउँदै आएका छन् । कलिला बालिका बलात्कारदेखि लुटपाटसम्मका खबर आइरहनु राम्रो पक्ष होइन । निर्मलाका हत्यरा एकजना पक्राउ गरिएको भनिए पनि थप सत्यतथ्य आएको छैन । र, बलात्कार पनि रोकिएको छैन ।

अहिले अपराधका असामान्य घटनाहरूलाई समेत सरकारले सामान्य रूपले लिइरहेको देखिन्छ । अहिलेको सरकारको कामको गतिले नेपाली समाजमा अपराधले कुन रूपमा जरा गाडेको रहेछ र गलत क्रियाकलापबाट अवैध लाभ उठाउन चाहनेहरू कुन मनोबलबाट कतिसम्म सक्रिय रहेछन् भन्ने बुझ्न सकिन्छ ।

अपराध नियन्त्रण तथा यसबाट मुक्तिका लागि आपराधिक क्रियाकलापमा संलग्न रहेकाहरूको खोजी, निगरानी, पहिचान र उसमाथि उचित कारबाही हुनु आवश्यक हुन्छ । बितेका निकै वर्षदेखि नै शान्ति–सुरक्षा र अपराध नियन्त्रणका मामलामा नेपालका सरकार तथा राजनीतिक नेतृत्वहरू चुक्दै आएका छन् । यसरी अपराध फस्टाउनुमा दलका कैयौं नेता र सरकारी रबैया नै बढ्ता जिम्मेवार छन् ।

अपराधकर्म बढेर शान्ति–सुरक्षामा चुनौती थपिएको छ भने छिमेकी मुलुकहरूसँगको सम्बन्धमै खलल पर्ने गरी घटनाबारे अनेक कोणबाट जथाभावी विचार वा विश्लेषण सार्वजनिक भइरहेका छन् । सुरक्षा व्यवस्थामा सुधार ल्याउन कौशल प्रदर्शन नगर्ने, आफूमातहतका कर्मचारीलाई अनुशासनमा बाँध्न नसक्ने, गलत कर्म गर्ने वा अक्षमहरूलाई ठेगान लगाउन खुट्टा कमाउने पाराले सरकार फेल हुँदै छ । यस विषयमा सरकार गम्भीर हुनै पर्छ ।
– प्रदीप पुरी, खोटाङ ।

प्रधानमन्त्री सच्चिन जरुरी
प्रधानमन्त्रीको चालामालाले नेपाली जनता दिक्क भइसकेका छन् । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा धेरै आशा अनि अपेक्षा थियो । उनले भर्खरै सम्पन्न एक विदेशी कार्यक्रममा सम्मान थापे । त्यसैका कारण सामाजिक सञ्जालदेखि उनकै नेतृत्वको पार्टीभित्रैं र आमजनतामा निराशा उत्पन्न भयो ।

एक क्रिश्चियन धर्मप्रचारक संस्थाको सक्रियतामा सम्पन्न एसिया प्यासिफिक समिटले राज्यलाई नै कमजोर र निकम्मा साबित गर्दै आफ्नो प्रभाव नेपालमा देखाएपछि सत्तारुढ दलभित्रै चर्को ध्रुवीकरण देखिएको छ । ‘विवादास्पद र शंकास्पद’ एक गैरसरकारी कोरियाली संस्थाले सरकारलाई नै सहजकर्ता बनाएर सम्मेलन ग¥यो । सम्मेलनको उद्देश्य के, उपलब्धि के र प्रयोजन के भन्ने विषय त बिस्तारै खुल्दै जाला, तर सम्मेलनका कारण काठमाडौंवासीले भने चर्को सास्ती झेल्नुप¥यो । ट्राफिक जामले जनता हैरान भए । सम्मेलनको नाममा राज्यकोषबाट करोडौं रुपियाँ स्वाहा पारियो । सामाजिक सुरक्षाका योजनाका नाममा पोस्टर आतंकपछिको पछिल्लो प्रधानमन्त्रीको रमिताले सामाजिक सञ्जालहरुमा आलोचना चुलिएको छ ।

‘विवादास्पद र शंकास्पद’ संस्थाको आयोजनामा तामझामपूर्ण कार्यक्रम हुनु, क्रिश्चियन धर्मप्रचारकका अनुयायीहरुको स्वागत र सत्कारका निम्ति उपत्यकामा सवारी आवागमन अवरुद्ध बन्नु, कुनै व्यक्ति विशेषको निहित स्वार्थमा गरिएको कार्यक्रममा जनताले दुःख झेल्नु आफैंमा विडम्बनापूर्ण छ ।
प्रधानमन्त्रीको पाहुनालाई स्वागत गर्ने जिम्मेवारी पाएका सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसमेत उक्त कार्यबाट सन्तुष्ट नभएबाट कार्यक्रमको औचित्य पुष्टि हुन सकेको छैन । झुक्याएर सम्मेलन गरिएको भन्दै नेकपाभित्र नेतृत्वको व्यापक आलोचना भएको छ । कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थका लागि सरकार र पार्टीको दुरुपयोग हुनु राष्ट्रिय हित र कूटनीतिक मर्यादाविपरीतको कार्य हो ।

अर्को दुर्भाग्य भनेको प्रधानमन्त्री ओलीले क्रिश्चियन धर्मप्रचारमा लागेको एउटा कोरियन संस्थाको सम्मान ग्रहण गर्नु हो । यो सम्मान प्रकरणले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना त भएकै छ, मुलुकको कार्यकारीको सम्मान मोहले समग्र देशवासीमा ठेस पुगेको छ । नेपालको संविधानको धारा २७७ को उपधारा (२) ले नेपालको कुनै पनि नागरिकले कुनै विदेशी सरकारबाट प्रदान गर्ने सम्मान, उपाधि वा विभूषण सरकारको स्वीकृतिविना ग्रहण गर्न नहुने उल्लेख छ । तर, मुलुकको प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट निर्णय नगरी ‘विवादास्पद र शंकास्पद’ संस्थाले प्रदान गरेको सम्मान थापेर मुलुुककै गरिमा घटाएका छन् ।

आइतबार क्रिश्चियन धर्मप्रचारक युपीएफकी महिलाबाट एक लाख डलरसहित ‘लिडरसिप एन्ड गुड गभर्नेन्स’ नामक अवार्ड थापेपछि प्रधानमन्त्रीको चर्को आलोचना भइरहेको छ । सरकारले उक्त अवार्डबारे आफ्नो धारणा सार्वजनिक गरेको छैन । नेपालमा सरकारसम्म अन्तर्राष्ट्रिय संस्थाको पहुँच रहनुले सरकार कसरी प्रभावित हुन्छ, भइरहेछ सहजै अनुमान गर्न सकिन्छ । उक्त प्रकरणले नेताहरुको सांस्कृतिक विचलन र नग्नताको राष्ट्रिय परेड प्रदर्शन भएको प्रतिक्रिया नेकपाकै नेताहरुबाट सामाजिक सञ्जालहरुमा व्यक्त भइरहेका छन् ।

शान्तिका नाममा सम्मेलन गर्नेहरुले पहिले खर्चको स्रोत खुलाउन सक्नुपर्छ । सम्मान थाप्न हतार गर्नेहरुले पनि कस्तो संस्थाले कुन प्रयोजन र सन्देश दिन कार्यक्रम गरेको हो भन्ने बुझ्न सक्नुपर्छ । कहिलेकाहीँ विवादास्पद संस्थाको सम्मानले सम्मान नभई अपमान गराउन पनि सक्छ । त्यसमा पनि मुलुुकको कार्यकारी प्रमुखले धर्मप्रचारक संस्थाको सम्मान थाप्नु ठूलो अपमानमात्रै होइन देशकै शिर निहुराउनुबराबर हो । राष्ट्रिय हित र कूटनीतिक मर्यादाको विषय जोडिँदा पनि सत्तापक्ष र प्रतिपक्षको तमासामा अल्झिनु अर्को दुर्भाग्य हुनेछ । यस विषयमा प्रधानमन्त्री ओलीले जवाफ दिनु आवश्यक देखिन्छ ।
– मन्दिरा शर्मा, पशुपति, काठमाडौं ।

निःस्वार्थ समाजसेवा धर्म हो
संसारमा विरलै मात्र निःस्वार्थ ढंगले समाजसेवामा लागेका हुन्छन् । प्रायजसो समाजसेवालाई हतियार बनाएर गैरसरकारी संस्था चलाउने, दातृ संस्थाबाट डलर भित्र्याउने, समाजसेवाकै नाममा राजनीतिक अभीष्ट पूरा गर्ने र कमाउने धन्दाकै लागि समाजसेवा गर्नेहरुको भीड बढी देखिन्छ ।

तर, स्वयंसेवा मनदेखि स्वस्फूर्तरुपमा गरिन्छ, जुन सेवाले एउटा राम्रो अभियानको शुरुवात हुनसक्छ । त्यो देशका लागि मात्रै नभएर विश्वकै लागि उदाहरणीय बन्न पुग्छ ।

विश्वमा उदार मन भएका, आफू र आफ्नो परिवारभन्दा माथि उठेर निःस्वार्थ ढंगले स्वयंसेवा गर्दै आएका स्वनामधन्य मनकारी व्यक्तिहरु धन्यवादका पात्र भएका छन् । स्वयंसेवाको माध्यमबाट कतिपय विद्यालयहरुमा गरिब तथा विपन्न विद्यार्थीले पढ्न पाएका छन्, कति अस्पतालमा स्वयंसेवी रक्तदाताले रक्तदान गरेर बिरामीको जीवन बचाएका छन्, कति डाक्टरहरुले स्वयंसेवाकै कारण भगवान्को उपाधि पाएका छन्, विभिन्न सामाजिक क्षेत्रमा योगदान गरेर ज्ञात–अज्ञात मानवताका पूजारीहरुले मानवसेवा गरेका छन् । भोका, नांगा, अभाव र अन्यायमा परेका बालबालिकाको हितमा सक्रिय रहने सबै स्वयंसेवकहरु यस दिवसमा स्मरणीय छन् ।

स्वयंसेवाको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमै पवित्र उद्देश्यले सामाजिक र मानवीय सेवामा सहयोग गर्ने रेडक्रस, स्काउट, लायन्स क्लब, एम्नेस्टी इन्टरनेसनल, रोटरी इन्टरनेसनलजस्ता संस्थाहरु एउटै देशमा सीमित छैनन् । यसका संस्थापकहरु कमैमात्र जीवित छन्, तर अनन्त कालसम्म उनीहरु बाँचिरहनेछन् र धेरैभन्दा धेरैलाई बचाइरहनेछन् । राष्ट्रसंघका विभिन्न संस्थानहरुको नेपाल च्याप्टर स्थापना गरेर महिला, बालबालिका तथा मानवताको सेवामा सामाजिक गतिविधि गर्दै आएका छन् । निःस्वार्थ समाज सेवा नै धर्म हो ।
– प्रनिशा पौडेल, बलम्बु ।

प्रतिक्रिया दिनुहोस्