नागरिकसँग नेताको टाढिएको दूरी



आमनागरिकको धारणा राजनीतिक नेताहरुप्रति सकारात्मक देखिँदैन । यो कुरा सामाजिक सञ्जालहरुमा छाएका असन्तुष्टिहरुले पनि पुष्टि गर्दछन् । चुनाव जितेर गएपछि नेताहरुको फेरि जनतापट्टि फर्केर हेर्ने परिपाटी हराउँदै गएको छ । हुन त साधारण नागरिक मात्र नभएर पार्टीका कार्यकर्तासमेत नेताहरुसँग सन्तुष्ट हुन सकेका देखिँदैनन् । भ्रष्टाचार, जनउपेक्षा, विलासी जीवनशैली, सत्तालिप्सा, कामभन्दा कुरा बढी गर्ने प्रवृत्ति नेताहरुमा हाबी भएको देखिन्छ । साथै दलीय स्वार्थ र दण्डहीनताले पराकाष्ठा नाघिसकेको छ । यी यावत् कुराहरुले गर्दा यतिखेर जनता निराश भएका छन् ।

भ्रष्टाचारले मुलुक चुर्लुम्म डुबेको छ । यतिखेर मुलुकको सबैभन्दा ठूलो रोग नै भ्रष्टाचार बन्न पुगेको छ । समयमै यो रोग निमूल पार्न सकिएन भने देश समुन्नतिको मार्गमा होइन, अधोगतिमा जाने निश्चित छ । किनकि राजनीतिलाई पेसा बनाएर यसबाट आम्दानी गर्नै पर्ने ठम्याइ नेताहरुमा जागृत भएको छ । राजनीतिमा लागेपछि एकपटक त मन्त्री हुनै पर्छ भन्ने भोक नेताहरुमा जागेको छ । जोगी हुन राजनीति गरेको हो र ? भन्नेहरु यहाँ धेरै छन् । त्यसैले राजनीतिमा ठूलो रकम बगाएर नेताहरुलाई चुनाव जित्नै परेको छ ।

यसले गर्दा भ्रष्टाचारले प्रश्रय पाएको छ । भ्रष्टाचारले नेताहरुको जीवनशैली विलासी बन्न पुगेको छ । उता नागरिक भने बिहान–बेलुकाको छाक टार्न चाराको खोजीमा भौंतारिनुपरेको छ । अतः कुनै पनि राजनीतिज्ञले मुलुक बनाउँछु भनेर आएको छ भने उसले राजनीतिलाई पेसा होइन, सेवाको रुपमा लिनु अपरिहार्य छ । आमनागरिकले विनाभेद्भाव नेताहरुबाट सेवा पाउनुपर्छ । नागरिकले सधैँ यो अपेक्षा गरेका हुन्छन् ।

हाम्रा नेताहरु आफ्नो आलोचना सुन्न चाहँदैनन् । कसैले आफ्नो आलोचना गर्छ भने उसको खैरात हुँदैन । कामभन्दा बढी कुरा गर्ने र अरुको आलोचना गर्ने नेता यहाँ छन् । कुनै पनि नेताले अरुको आलोचना गर्ने होइन, बरु आलोचना सुन्ने हो । आफूले बोल्ने कम तर सुन्ने बढी हुनुपर्ने हो । तर यहाँ त कुरा बढी काम कम भएको छ । विनायोजना नेपाललाई सिंगापुर तथा स्वीट्जरल्यान्डजस्तो बनाइदिने उद्घोष गरिन्छन् ।

विनाआधार रेल दौडाउने, पानीजहाज तैराउने भाषण फलाकिन्छन् । यस्ता हावादारी कुराले नेताहरुप्रति जनता सकारात्मक हुन सकेका छैनन् । जनताका दृष्टिमा उनीहरु आलोचनाका पात्र भइरहेका छन् । ‘काग कराउँदै छ पिना सुक्दै छ’ भनेझैँ हाम्रा नेताहरु जनताका कुरा सुन्नै चाहँदैनन् । यहाँ गणतन्त्र आयो, व्यवस्था परिवर्तन भयो तर नेताको शैली परिवर्तन भएन । यदि मुलुकलाई समृद्धशाली बनाउने हो भने नेताहरुले राजनीतिलाई पेसा होइन, सेवाको रुपमा लिनै पर्छ र जनताका कुरा सुन्नै पर्छ । जनतासँग टाढिएको दूरीलाई निकट बनाउनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्