आजबाट ईपीएल टी २० क्रिकेटको मेला



फिरोज राजोपाध्याय
मंसीर २२ गतेदेखि यानि कि भोलिदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करण शुरु हुँदैछ ।

पहिलो संस्करणमा पन्चकन्या तेज विजेता बन्यो भने दोस्रो संस्करणमा विराटनगर वारियर्सले उपाधि जितेको थियो । पारस खड्काको वारियर्सले सरद भेषवाकरको भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गरेको थियो । निकै नजिक भएको फाइनल खेल जित्दै विराटनगरले आफुलाई च्याम्पियन बनायो र २१ लाख पहिलो पुरस्कार रकम पनि हात पा¥यो ।

यसपटकको संस्करणमा पनि विगतमा झै ६ टोलीले सहभागिता जनाउनेछन् । गत वर्षको च्याम्पियन विराटनगर वारियर्स, रनर्सअप भैरहवा ग्लाडीएटर्स, पोखरा राइनोज, चितवन टाइगर, काठमाण्डु किंग्स इलेभेन र ललितपुर पेट्रिटस्ले यस पटकपनि सहभागिता जनाएको छ । यसपटक कसले जित्ला त्यो हेर्नै बाँकी छ ।

भैरहवा ग्लाडिएटर्स
यस पटक भैरहवा गत वर्ष फाइनल गुमाएको नमीठो क्षण मेटाउन चाहन्छ । कप्तान सरद भेषवाकरले बताए पनि यस पटक उपाधि जितेर छाड्नेछौ । त्यसो त हालै सम्पन्न पोखरा प्रिमियर लिगमा सरदले पोखरा पल्टनलाई उपाधि दिलाइसकेका छन् । अब यस सिजनमा दोस्रो उपाधितिर हुनेछ सरद । यस्तै नेदरल्यान्डस्का अल राउन्डर रायन टेन डोइसकेटको आगमनले टोलीमा नयाँ उर्जा थपिने पनि विश्वास गरिएको छ । उनले वानडे अन्तर्राष्ट्रियतर्फ ५ सतक र ९ अर्धसतक प्रहार गरेका छन् । उनको इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सबाट पनि खेलेको अनुभव छ । त्यस्तै रायनले बंगलादेस प्रिमियर लिग, पाकिस्तानी सुपर लिगमा समेत खेलेका छन् ।

भैरहवाको भाग्य चम्कन युएईका अलराउन्डर मोहम्मद नाभीद र भारतका रवि इन्दर सिंहमाथि पनि भर पर्नेछ । र३१ वर्षीय नाभीदले ३२ वानडे अन्तर्राष्ट्रिय, २३ टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । भारतका सिंह पनि रणजी ट्रफीमा राम्रो प्रदर्शन गरिरहेका खेलाडी हुन् । रविले पोखरा प्रिमियर लिगमा समेत राम्रो प्रदर्शन गरेकोले पनि भैरहवा ईपीएलको उपाधि दावेदारीमा रहेको छ ।

टोली
शरद भेषवाकर (कप्तान), प्रदीप ऐरी, कृष्ण कार्की, प्रकाश केसी, रोहित कुमार पौडेल, हरिशंकर साह, आरिफ शेख, दिपेश श्रेष्ठ, भुपेन्द्र थापा, अनिल खरेल, कुशल मल्ल
विदेशी खेलाडीः रायन टेन डोइसकेट (नेदरल्यान्डस्), मोहम्मद नाभीद (युएई), रवि इन्दर सिंह (भारत)

चितवन टाइगर्स
चितवन टाइगर्सले २३ वर्षीय इंग्लिस क्रिकेटर जर्ज स्कटलाई आबद्ध गरेपछि टोली बलियो भएको महसुस गरेको छ । आयरल्यान्डमा पउल स्टर्लिङ र इंग्ल्यान्डका जोन सिम्पसनसँगै स्कटको आगमनले टोलीले राम्रो गर्न सक्ने जनाएको छ । स्कटले ५ पहिलो श्रेणी खेल खेलेका छन् । त्यस्तै लिस्ट ए मान्यता प्राप्त खेल र टी २० अन्तर्गत १५ वटा खेल खेलेका छन् ।

यसैगरी चितवनमा ट्यालेन्ट हन्टबाट आकाश थापा, गौतम केसी, अभिनास बस्याल, प्रशान्त महत र संघर्ष पौडेललाई टोलीमा राखेका छन् । ९४ टी २० अन्तर्राष्ट्रिय खेल खेलेका जोन सिम्सन आएकाले पनि टोली राम्रो हुने टोलीले वक्तव्यमा निकालेको छ । टोलीका सहायक मेनेजर जसकरण भगतले बताउनुभयो—गत सिजनमा आशा गरे जस्तो हुन सकेन । पहिलेकै प्रदर्शनको आधारमा हामीले जोन सिम्पसन जस्ता अनुभवी खेलाडीको आवश्यकता महसुस गरेका थियौ । उनको आगमनले टोलीमा नयाँ जोस र लक्ष्यमा पु¥याउने अपेक्षा गरेका छौ ।

टोली
पृथु बास्कोटा (कप्तान), दिपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, साहब आलम, ललित भण्डारी, सागर ढकाल, आदिल खान, दिलीप नाथ, भीम सार्की, सन्दीप सुनार, आकाश थापा
विदेशी खेलाडीः पउल स्टरलिङ (आयरल्यान्ड), जोन सिम्पसन र जर्ज स्कट (इंग्ल्यान्ड)

पोखरा राइनोज
पोखरा राइनोजले भने हङकङका उदीयमान क्रिकेटर २५ वर्षीय सन्नी भिमसारियालाई अनुबन्ध गरेको छ । युवा तथा प्रतिभावान खेलाडी भीमसारियाले हङकङका लागि २०११ देखि २०१३ सम्म यु १९ टोलीबाट खेलेका थिए । हङकङकै लागि उनले ए टिमबाट हालसम्म खेलिरहेका छन् । नेपालमा जन्मेका उनले हालै कोउलून क्रिकेट क्लबलाई हङकङको प्रतिष्ठित प्रतियोगिता हङकङ टी २० ब्लीट्ज उपाधि दिलाए ।

पोखराले दक्षिण अफ्रिकाका विस्फोटक ब्याटसम्यान रिचार्ड लेभीलाई टोलीमा भित्रयाएपछि ब्याटिङ क्रम बलियो हुने कप्तान शक्ति गौचनले आस गरेका छन् । रिचार्ड टी २० अन्तर्राष्ट्रिय खेलमा नाम चलेका खेलाडी हुन् । उनले न्युजिल्यान्डविरुद्ध सन् २०१२ मा डेब्यु गरेका थिए । टी २० अन्तर्राष्ट्रियमा उनको केही कीर्तिमान पनि बनेको छ ।

रिचार्डले राष्ट्रका लागि १२ वटा टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले कूल २सय ३६ रन बनाएका छन् । उनको नाममा ४५ बलमा छिटो १ सय १७ रनको सतक बनाएको कीर्तिमान छ । उनले ४५ बलमा १३ छक्का प्रहार गरेको पनि कीर्तिमान बनेको छ । यो एउटै टी २० अन्तराष्ट्रिय खेलमा प्रहार भएको सर्वाधिक छक्काको संख्या हुन् ।


टोली
शक्ति गौचन (कप्तान), विनोद भण्डारी, सुसन भारी, सुनील धमला, सौरभ खनाल, विविन खत्री, राजेश पुलामी मगर, किशोर महतो, सुभेन्दु पाण्डे, देव शाह, विक्रम सोब, नन्दन यादव
विदेशी खेलाडीः सन्नी भिमसारिया (हङकङ), पउल कागलीन (इंग्ल्यान्ड), रिचार्ड लेभी (दक्षिण अफ्रिका)

बिराटनगर वारियर्स
विराटनगर वारियर्स गत संस्करणको विजेता टोली हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले यसपटक उपाधि रक्षा गर्ने लक्ष्य लिएका छन् । तर पारसको टोलीले यस सिजनमा धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगमा उपाधि जित्न सकेको छैन । टोलीमा पारससहित आसिफ शेख, बाबर हयात, पउल भान जस्ता खेलाडी छन्। त्यस्तै अनिल साह, करण केसी, वसन्त रेग्मीको उपस्थितले पनि टोलीलाई बलियो बनाउनेछ ।

बाबर हयात पाकिस्तानमा जन्मेर पनि हङकङबाट खेल्ने गर्छन्। उनको ब्याटिङ शैली निकै आक्रमण रहेको छ । बाबरले हालै सम्पन्न धनगढी प्रिमियर लिगमा सर्वाधिक रन बटुल्नेमा शीर्ष स्थान जमाएका थिए । यसैले पनि पारस धुक्क छन् कि टोलीको ब्याटिङ कमजोर हुनेछैन । दायाँहाते ब्याटसम्यानले ओडीआई अन्तर्राष्ट्रियमा २२ वटा र टी२० अन्तर्राष्ट्रियमा २४ वटा खेलिसकेका छन् । यस्तै गतसंस्करणको ईपीएलमा उनी सर्वाधिक रन जोडेर म्यान अफ द सिरिज घोषित भएका थिए ।

टोली
पारस खड्का (कप्तान), आकास विष्ट, हरिबहादुर चौहान, करण केसी, दिपेश कँडेल, प्रनीत थापामगर, सुमीत महर्जन, बसन्त रेग्मी, अनिल साह, आसिफ शेख, पुष्प थापा, रामनरेश गिरि
विदेशी खेलाडीः पउल भान मीकेरन (नेदरल्यान्डस्), बाबर हायत (हङकङ), रोइलोफ भान डेर मेर्वे (नेदरल्यान्डस्), समीत पटेल (भारत)

काठमाण्डु किंग्स इलेभेन
काठमाण्डु किंग्स इलेभेन कप्तान सोमपाल कामीको नेतृत्वमा हुनेछ । टोलीमा औसत खेलाडीको जमघट रहेको छ । अमित श्रेष्ठ, नरेश बुढाऐर, राजु रिजालले हाल त्यति राम्रो प्रदर्शन गर्न सकेका छैनन् । अलराउन्डर सागर पुन, कप्तान कामी सहित विदेशी खेलाडी रोहन मुस्तफा र केभिन ओ ब्रायनमाथि टोलीको भर हुनेछ ।


केभिनको ब्याटिङ पनि आक्रमक नै छ । ओडीआई अन्तर्राष्ट्रियमा १ सय २८ खेल खेलिसकेका केभिन विपक्षी बलरका लागि समस्या बन्नसक्ने छन् । टी२० अन्तर्राष्ट्रियमा ६७ खेल खेलेका उनी नेपालमा खेल्न आतुर भएको पनि बताएका छन्। सागर भने समस्या परेको बेला रन बटुल्ने सक्षम छन् । त्यस्तै बलिङमा पनि उनले विकेट दिलाउन सक्ने क्षमता छ ।

टोली
सोमपाल कामी (कप्तान), बिक्रम भुषाल, नरेश बुढाऐर, सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, सागर पुन, राजु रिजाल, अमर सिंह रौतेला, समसाद सेख, अमित श्रेष्ठ, नितेश थापा, पुरण विश्वकर्मा
विदेशी खेलाडीः रोहन मुस्तफा (युएई), केभिन ओ ब्रायन (आयरल्यान्ड)

ललितपुर पेट्रिटस्
ललितपुर पेट्रिटस्ले पनि यसपटक उपाधि जित्ने आस गरेको छ । गत वर्ष एउटा क्याच छुट्नाले प्रतियोगितामा पछि परेको ललितपुर पेट्रिटस्का अध्यक्ष किशोर महर्जनले बताउनुभएको थियो । अहिले भारतीय तीन खेलाडीले राम्रै गर्ने टोलीको अपेक्षा रहेको छ ।

ललितपुरका लागि सन्दीप लामिछाने पहिलो दुई खेलका लागि मात्रै उपलब्ध हुनेछन्। यसपछि उनी अस्टे«लियामा बिग बास खेल्न जानेछन् । उनको अनुपस्थित पछि टोलीका लागि भारतीय खेलाडीहरुले टेवा दिने टोलीले विश्वास गरेको छ ।


ललित राजवंशीले धनगढी प्रिमियर लिगमा सर्वाधिक १४ विकेट लिएका थिए । उनको यो प्रदर्शन ईपीएलमा पनि जारी रहेमा ललितपुरको लागि फायदाजनक नै हुनेछ । त्यस्तै भारतीय खेलाडी सन्नी पटेलको लागि नेपाली भुमि परिचित भइसकेको छ । उनले गत सिजनमा यसै टोलीबाट खेलेका थिए । यस्तै उनले हालै पोखरा प्रिमियर लिगमा चितवन राइनोजबाट र धनगढी प्रिमियर लिगमा काठमान्डु गोल्डेन्सबाट खेलिसकेका छन् ।

यस्तै भारतकै जयकिशन कोल्सावालासँग पनि यसअघिको संस्करण, धनगढी प्रिमियर लिगमा काठमाण्डु गोल्डेन्सबाट र पोखरा प्रिमियर लिगमा काठमाडौं रोयल्सबाट खेलेको अनुभव छ । गत संस्करणको ईपीएलमा कोल्सावालाले २ सय २७ रन बटुलेका थिए । यसैले पनि यसपटक ललितपुरले उनीमाथि विश्वास गरेको छ । अर्का भारतीय खेलाडी गौरव तोमार भने पोखरा प्रिमियर लिगबाट नेपालमा खेल्न शुरु गरेका हुन् । हालै सम्पन्न पोखरा प्रिमियर लिगमा उनको एउटै इनिङ मात्रै गतिलो रह्यो । ६ खेल खेलेकोमा उनले एक खेलमा ९५ रन बनाएका थिए ।

टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, सुमीत झा, सन्दीप जोरा, नारायण जोशी, योगेन्द्र सिंह कार्की, रशीद खान, सन्दीप लामिछाने, ललित राजवंशी, शंकर राना, पवन शराफ, सोनु तामाङ
विदेशी खेलाडीः जयकिशन कोल्सावाला, सन्नी पटेल र गौरव तोमार (भारत)

प्रतिक्रिया दिनुहोस्