श्रृंखलालाई हौसला दिन अभिभावक चीनतर्फ



हेटौंडा ।
मिस वल्र्ड नेपाल २०१८ श्रृंखला खतिवडालाई हौसला दिन उनका अभिभावकसहित आफन्त, शुभचिन्तक, छरछिमेकको टोली चीन गएको छ । उनीहरु बिहीबार त्यसतर्फ लागेका हुन् ।

श्रृंखलालाई भेट्न र हौसला दिन ३१ जनाको टोली बिहीबार दिउँसो १ बजे चीन गएको हो । छेन्दुमा ८ घण्टा ट्राञ्जिटका कारण टोली आज (शुक्रबार) सान्या पुग्नेछ ।

श्रृंखलाका बुबा प्रतिनिधिसभा सांसद् विरोध खतिवडा, प्रदेश–३ सांसद् आमा मुनु सिग्देलसहित परिवार, हेटौंडा उपमहानगर उपमेयर मीना लामासहित शुभचिन्तकको टोली चीन गएको छ ।

बुबा विरोधका अनुसार श्रृंखलालाई मिस वल्र्ड आयोजित चीनको पर्यटकीय सहर सान्यामा भेट्ने तयारी छ । मिस वल्र्डको मंसिर २२ गते हुने अन्तिम प्रतिष्पर्धामा सहभागी भएर नेपाल फर्किने योजना रहेको खतिवडाले बताए । मिस वल्र्ड प्रत्यक्ष हेर्न सबैको टिकट बुकिङ भइसकेको छ ।

मिस वल्र्डको अन्तिम तयारीका लागि श्रृंखला व्यस्त रहेको भन्दै आमा मुनुले मंसिर १८ गतेदेखि क्लोज क्याम्पमा श्रृंखला रहेको बताइन् । उनले भनिन्–यसपटकको मिस वल्र्ड नेपालले जित्नेमा ढुक्क छौं ।

श्रृंखलाले मिस वल्र्ड मल्टिमिडिया अवार्ड र ब्युटी विद अ पर्पस अवार्ड हात पार्दै मिस वल्र्ड २०१८ को उत्कृष्ट ३० मा आफूलाई उभ्याएकी छिन् । मल्टिमिडिया अवार्डसहित दुई अवार्ड जित्ने पहिलो र ब्युटी विद अ पर्पस जित्ने दोस्रो मिस नेपाल हुन् उनी । श्रृंखलाको उत्कृष्ट सहभागिताले उनको परिवार, गृहजिल्ला मकवानपुरसहित देशविदेशमा रहेका नेपालीमा उल्लास छाएको छ ।

खुशी साट्दै विरोधले भने–श्रृंखलाले जित्न चाहेकै मिस वल्र्डपछिको दोस्रो ठूलो मानिने ब्युटी विद अ पर्पस अवार्ड जितिन् । मिस वल्र्डमा दुई अवार्ड जितेपछि श्रृंखलामा धेरै उत्साह र आत्मविश्वास बलियो भएको उनले दाबी गरे ।

ब्युटी विद अ पर्पसमा उनले मकवानपुरको भिडियो प्रस्तुत गरेकी थिइन् । उनले गृहजिल्ला मकवानपुरको कैलाश गाउँपालिका–७, भार्तामा रहेको चेपाङ बस्तीमा गएको रिपोर्ट प्रस्तुत गरेकी थिइन् । त्यहाँका बृद्धबृद्धा, बालबालिकासँग भएका कुराकानी तथा समस्याको रिपोर्ट र समस्याका हल गर्ने विषयमा गरिएका उनका प्रयासलाई उनले प्रस्तुत गरेकी थिइन् ।

उनले कुपोषणग्रस्त चेपाङ गाउँको यथार्थ प्रस्तुत गरेकी थिइन् । उनको सहयोगमा त्यहाँ स्वास्थ्यचौकी भवन बनेको छ । डिजाइनअनुसार स्वास्थ्यचौकी अपांग, अशक्त तथा बालबालिकामैत्री, वातावरणमैत्री, तापरहित एवम् हलुका छ । चौकी निर्माणसँगै गाउँमा सुरक्षित डेलिभरी, स्वास्थ्य जनचेतना कार्यक्रम, पोषण कार्यक्रम, परिवार नियोजनका कार्यक्रमले तीव्रता पाउने उनले बताइन् । स्वास्थ्यलाई सुविधा हैन, आवश्यकताका रुपमा हेरिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्