मिस मंगोल विजेताले घोषणा गरे छात्रवृत्ति



मिस मंगोल नेपालका विजेताले ५० लाख रुपिया“को छात्रवृत्ति कोष घोषणा गरेका छन्। राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी मिस मंगोल नेपाल २०१८ जाङमु शेर्पा, फस्ट रनर्सअप प्रीति गुरुङ र सेकेन्ड रनर्सअप पुनम शेर्पाले संयुक्तरूपमा अभियान घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार असहाय एवं आर्थिक अभावले विद्यालय जान नपाएका बालबालिकालाई कोषमार्फत छात्रवृत्ति उपलब्ध गराइने छ। यो छात्रवृत्ति राजधानी वा मोफसलमा अध्ययनरत विद्यार्थीलाई जुनसुकै कक्षाबाट एसईईसम्मका लागि दिइनेछ।

मिस मंगोलका विजेताले सबैका लागि शिक्षा भन्ने लक्ष्यका साथ शुरू गरेको यो कोषअन्तर्गत आगामी शैक्षिक सत्रदेखि नै बालबालिकालाई पढाउन शुरू गराइने भएको छ। वार्षिक १० भन्दा बढी बालबालिकालाई पढाउने लक्ष्यका साथ शुरू गरिएको कोषको मुख्य स्रोत डोनेसन र फन्ड राइजिङ च्यारिटी प्रोग्राम हुने मिस मंगोल नेपाल २०१८ की विजेता जाङमु शेर्पाले जानकारी गराइन्। ‘मिस मंगोलको उपाधि जितेपछि पाएको सामाजिक पहिचान र जिम्मेवारीलाई आत्मासाथ गर्दै समाजका लागि केही गर्नुपर्छ भन्ने लागेर यो अभियान आरम्भ गरेका हौं।’ –उनले भनिन्। फस्ट रनर्सअप प्रीति गुरुङले कोषलाई पारदर्शी र विश्वव्यापी बनाउन वेबसाइट निर्माण गरी सबै विषयको जानकारी गरिने बताइन्। एक्सन इन्टरटेन्मेन्टको आयोजनामा हु“दै आएको मिस मंगोल नेपालले १०औं वर्ष पूरा गरेको छ।

प्रतिक्रिया दिनुहोस्