विमल गएकै दिन च्यासलको जित



नेपाल समाचारपत्र, काठमाडौं
स्टार स्ट्राइकर विमल घर्तीमगर बेल्ज्यिममा ट्रायल दिनको लागि उतैतिर बुधबार प्रस्थान गरेको दिन च्यासल युवा क्लबले जित हात पारेको छ ।

विमलले च्यासल क्लबसँग आफनो सम्झौता समेत रद्द गरेर हिजो बेल्जियम प्रस्थान गरेका थिए । उनको अनुपस्थितमा समेत च्यासलले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हासिल ग¥यो । ललितपुरे टोलीले हिमालयन शेर्पा क्लबलाई २–१ ले हराएपछि जारी लिगमा ६ खेलमा ७ अंक जोडेको छ । टोली सातौं स्थानमा छ भने हिमालयन शेर्पा हार बावजुद १० अंकसहित छैटो स्थानमा छ ।

एक गोलले पछि परेर पनि जित दिलाउन सन्तोष साहुखल र सुनील खड्काले गोल गरेका थिए । सन्तोषले ५६औं मिनेटमा दुई डिफेन्डरलाई छल्याउँदै सानदार गोल गरेर च्यासललाई बराबरीमा ल्याएका थिए । ७३औं मिनेटमा सुनीलले प्रहार गरेको बल विपक्षी खेलाडीसँग डिफ्लेक्ट भएर गोलमा परिणत भएको थियो । यसपछि गोल नहुँदा च्यासलले लिगमा दोस्रो जित संभव पा¥यो ।

यसअघि हिमालयन शेर्पाका लागि त्रिदेव गुरुङले गोल गरेका थिए । १५औं मिनेटमा कर्ण लिम्बुको प्रहार पोस्टमा लागेर रिबाउन्ड भएको थियो । सोही रिबाउन्ड बललाई त्रिदेवले गालको दिशा दिएका थिए । जबकी यस बखत च्यासलका खेलाडीहरु अफसाइड भनेर अलमलमा परेको थियो । जसको फाइदा हिमालयनले लियो ।

थ्रीस्टारको जित
ललितपुरको अर्को टोली थ्रीस्टार पनि शुरुवातमै गोल आत्मसात गर्दै पछाडि परेको स्थिति उल्ट्याएर सरस्वती युथ क्लबलाई २–१ गोलले हरायो । टोलीलाई जित दिलाउन निराजन खड्का र रन्जीत धिमालले १–१ गोल गरेका थिए । सरस्वतीका लागि खेलको चौथो मिनेटमै पेनाल्टी प्रहार गर्ने मौका पाएको थियो । फ्रान्सीस ओनेमाले गरेको प्रहार थ्रीस्टारका पिटर सेगुनको हातमा लागेपछि सरस्वतीले पेनाल्टी प्राप्त ग¥यो । जसलाई भिक्टर अमोबीले गोल गरेपछि सरस्वतीले १–० को अग्रता लिएको थियो ।

थ्रीस्टारले १६औं मिनेटमा पेनाल्टी गोलमार्फत् बराबरी गोल फर्काउन सफल भयो । अनिल गुरुङले गरेको प्रहार सरस्वतीका खेलाडीको हातमा लागेपछि थ्रीस्टारले पेनाल्टी हान्ने मौका पाएको थियो । जसलाई रन्जीतले गोल गरेका थिए ।

३५औं मिनेटमा रन्जन विष्टले गरेको क्रसमा निराजनले क्लोज रेन्जमा गोल गरेपछि थ्रीस्टारले खेलमा २–१ को अग्रता लिएको थियो । निराजनले गरेको सो गोल जारी लिगको १ सयौं गोल समेत थियो । दोस्रो हाफमा गोल नभएपछि थ्रीस्टारले जारी लिगमा पाँचौ जित हात पार्दै १५ अंकसहित दोस्रो स्थानमा उक्लियो । सरस्वती भने ६ अंकमै अडकिएको छ ।

मनाङको शतप्रतिशत नतिजा
डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लबको जारी लिगमा जितको क्रमको संख्या ६ पुगेको छ । लगातार छैटो जितसँगै मनाङले १८ अंक बनाएको छ । शीर्ष टोली बन्दै उपाधि हात पार्नेतिर अग्रसर भइरहेको छ ।

हल्चोकस्थित शसस्त्रको मैदानमा भएको खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १–० गोलअन्तरले हराएको थियो । टोलीका लागि निर्णायक गोल अन्जन विष्टले ६२औं मिनेटमा पेनाल्टीमार्फत् गरेका थिए । यो अन्जनको जारी लिगमा व्यक्तिगत पाँचौ गोल थियो । त्यस्तै चौथो हार बेहोरेको जावलाखेलको ४ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्