गोरखाको २५० घर बनाउन असल छिमेकी पोखराको सहयोग



 

नेपाल समाचारपत्र, गोरखा
भूकम्पको केन्द्र विन्दु गोरखाको विभिन्न गाउँपालिकाको दुइसय ५० घर बनाउन असल छिमेकी पोखराले सहयोग गरेको छ । भूकम्पले ध्वस्त सिरान्चोक गाउँपालिकामा ५० र गण्डकी गाउँपालिकामा २०० घर बनाउन असल छिमेकी पोखराले आर्थिक तथा प्राविधिक सहयोग गरेको हो ।

भूकम्पले घर भत्काएपछि सरकारले दिने तीन लाख रुपैँयाले घर बनाउन नसकेर चिन्तामा रहेकाहरुलाइ असल छिमेकी पोखराले साथ दिएको हो । केही दिन अघि औपचारिक कार्यक्रम नै गरेर सिरान्चोक गण्डकी गाउँपालिका दुबै ठाउँका घरहरु हस्तान्तरण समेत गर्यो ।

‘हामीले भूकम्प पिडितलाई थप मल्हम लगाउने काम गरेका हौँ, असल छिमेकी पोखराका कार्यक्रम संयोजक समेत रहेका विजय कुमार श्रेष्ठले भने, ‘भूकम्प पिडितले पाउने पहिलो किस्ता ५० हजार बुझेर घर नबनाउनेहरु थुप्रै हुनुहुन्थ्यो । केही त यस्तो हुनुहुन्थ्यो त्यती पैसाले घर बनाउन सुरु गर्नै नसक्ने । तर, हामीले प्राविधिक सहयोगका साथै अन्य थपक केही सहयोग दिने भएपछि सब तात्नु भयो बनाउनु भयो ।

असल छिमेकीले यस परियोजना अन्तरगत हरेक भूकम्प पिडितलाई छ हजार ढुवानी खर्च, चार हजार रुपैयाँ बराबरको खाद्यन्न सामाग्री, ६० हजार रुपैयाँ को निर्माण सामाग्री सहयोग उपलब्ध गराएको थियो । साथै भूकम्प पिडितहरुसँगै घर निर्माणमा सहयोग पुर्याउन आफ्नो प्राविधिकहरु गाउँमै खटेको श्रेष्ठले जानकारी दिए ।

असल छिमेकी पोखराले भूकम्प पिडितले समयमै घर निर्माण सम्पन्न गर्न सकुन भनेर फिल्डमा चार प्राविधिक र चार जना सामाजिक परिचालक खटाएको थियो ।

परियोजना अधिकृत लेखनाथ केसीका अनुसार घर निर्माणमा सहयोग गरेका भूकम्प पिडितहरु आठ प्रतिशत बृद्धबृद्धा, असहाय १३ प्रतिशत, अभिभावक विहिन भएकाहरु ४ प्रतिशत, एकल महिला तथा पुरुष रहेका घर २३ प्रतिशत, अति बिपन्न ५३ प्रतिशत रहेका छन् ।

२०७२ बैशाख १२ को गोरखा भूकम्प लगत्तै विभिन्न प्रकारका राहत सामाग्री लिएर गोरखा भित्रेको असल छिमेकी पोखराले पछिल्लो समय राहत भन्दा पनि निर्माणको क्षेत्रमा सहयोग र लगानी गर्यो । असल छिमेकी पोखराले पक्की विद्यालय भवन बनाउन, स्वास्थ्य चौकी बनाउन, लगायत प्रत्यक्ष प्रभाव राख्नेखालका विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ । पछिल्लो समय घर बनाउन सहयोग गरेप्रति भूकम्प पिडितहरु असाध्यै खुसी भएका छन् । असल छिमेकीले गोरखामा कमैको ध्यान पुगेको लोपोन्मुख तथा बिपन्न जाती चेपाङहरुको घर बनाउन पनि सहयोग गर्यो ।

‘पहिले टहरामा बसिन्थ्यो । असल छिमेकी घर बनाइदिने भन्दै आयो । बनाउन सहयोग पनि गर्यो, गण्डकी गाउँपालिकाकी दिलमायाँ चेपाङले भनिन्, ‘बर्खामा पानीले सुत्ने ठाउँ भिज्थ्यो, हावा चल्थ्यो जाडो हुन्थ्यो अब त ढुक्क भएको छ । दुई कोठाको काइदाको घर बनाइदिएको छ असल छिमेकीले ।

दिलमायाँ जस्तै नरमायाँ सुनार पनि असल छिमेकीको सहोगले असाध्यै खुसी छन् । उनले भनिन्, ‘हाम्ले पैसा नपुगेर घर बनाउने काम नै सुरु गरेका थिएनौँ । उहाँहरुले सामान ल्याउन देखि नै सहयोग गरेपछि जग खनियो । त्यो बेला पनि नापजाँच सबै गर्दिनु भो हाम्लाई त साह्रै ठुलो गुन लाउनु भएको छ ।

गण्डकी गाउँपालिकाको घर हस्तान्तरण कार्यक्रममा पुगेका गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले जनता खुसी देखेकोले आफु पनि खुसी भएको बताए । ‘यसरी जनताहरु खुसी हुने गरेर कमै कामहरु भएको होला, उनले भने, ‘मैले असल छिमेकीको कार्यक्रमलाई धेरै पटक नजिकबाट नियाल्ने अबसर पाएको छु । त्यसैले पनि यसखाले कार्यक्रमले जनतालाई प्रत्यक्ष लाभ पुगेको महसुस गरेको छु । आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्न र सहयोग गर्न म असल छिमेकीलाई अनुुरोध गर्दछु ।

 

प्रतिक्रिया दिनुहोस्