निर्मला हत्या प्रकरणः राजधानीबाट एक युवक पक्राउ



काठमाडौ(नेस) । हत्यारा पत्ता नलागेको भन्दै देशभर आन्दोलन भइरहेको बेला प्रहरीले कन्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा संलग्न रहेको आशंकामा राजधानीबाट एक युवकलाई पक्राउ गरेको छ ।

सरकारकै टाउको दुखाईको बिषय बनेको निर्मला हत्या प्रकरणलाई लिएर नागरिक समाजका नाममा भएको आन्दोलनले ब्यापकता पाउन थालेपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले एक युवकलाई बानेश्वरबाट पक्राउ गरेको छ ।

प्रहरीले कन्चनपुरका एक युवकलाई पक्राउ गरेको भएपनि उनको नाम भने गोप्य राखेको छ । पक्राउ परेका ती युवकको पोलिग्राफ टेष्ट र डिएनए परीक्षणपछि मात्रै थप कारवाही अगाडि बढाउने भन्दै नाम गोप्य राखेको हो ।

लागू औषधको कु्लतमा फसेका ती युवकलाई निर्मला पन्तको हत्याका बारेमा छानवीन गर्न गठित समितिले समेत शंकाको घेरामा राखेको र उसको हर्कत हेर्दा शंकास्पद देखिएपछि पक्राउ गरी अनुसन्धान शुरु गरिएको सीआईवीका एक उच्च अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

पक्राउ परेका ती युवकलाई प्रहरीले यस अघि ब्यापक खोजी गरेको भएपनि उनको परिवारले भने ती युवक भारतमा रोजगारीकोलागि गएको भन्दै प्रहरीलाई गुमराहमा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्