प्रदेश–३ मा ४० करोडका विद्युतीय बस



हेटौंडा ।
पेट्रोलियमबाट चल्ने सवारीसाधन बिस्थापित गर्ने घोषणा गरेको प्रदेश–३ सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारका मुख्यमन्त्रीहरुमध्ये पहिलोपटक विद्युतीय कार चढ्नुभएको छ ।

यसको सकारात्मक सन्देश र सफलतापछि प्रदेश–३ सरकारले ३० करोड रुपियाँ र काठमाडौं महानगरपालिकाले १० करोड रुपियाँ खर्चेर विद्युतीय बस खरिद गरी आफ्नो क्षेत्रमा इन्धनबाट चल्ने सवारी बिस्थापन गर्ने तयारी गरेका छन् ।

कुल करिब ४० करोड रुपियाँको विद्युतीय बस खरिद गरेर साझा यातायातसँगको सहकार्यमा सञ्चालनमा ल्याइने भएको छ । प्रदेशका मुख्यमन्त्री डारमणि पौडेल, काठमाडौं महानगर मेयर विद्यासुन्दर शाक्य र साझा यातायात अध्यक्ष कनकमणि दीक्षितसहित बुधबार हेटौंडामा सरोकारवालाको बैठक बसेर विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने निष्कर्षमा पुगेको हो ।

प्रदेश सरकारले १० वर्षभित्र इन्धनबाट सञ्चालन हुने सवारीसाधन बिस्थापित गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेअनुसार नमूनाका रुपमा विद्युतीय बस खरिद गरी साझा यातायातसँगको सहकार्यमा सञ्चालन गर्न लागिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
यस वर्ष १५ देखि २५ वटासम्म बस खरिद गर्ने योजना प्रदेश सरकारको छ । खरिद गर्दा महंगो परे पनि संघीय सरकारलाई चुनौती दिन प्रदेश सरकारले यस्तो प्रयास गर्न लागेको उहाँले बताउनुभयो ।

लामो रुटमा चल्ने बसमा चार्जिङ स्टेसन राखेर विद्युतीय बस सञ्चालन गरिने बताउँदै मुख्यमन्त्री पौडेलले काठमाडौं उपत्यकामा प्रदेश सरकारको उपस्थिति जनाउन त्यहाँ केही बस सञ्चालन गरिने बताउनुभयो ।

नेपालका विद्युतीय गाडीको प्रयोग उपयुक्त र बाध्यता दुवै बन्दैछ । बढ्दो विद्युत् उत्पादन र व्यबस्थापनको चुनौतीका अगाडि विद्युतीय मोटरको प्रयोग नयाँ अवसर हो । विद्युतीय गाडी प्रयोग वृद्धिले असन्तुलित वैदेशिक व्यापार घाटालाई सन्तुलनमा ल्याउन सहयोग गर्छ । इन्धनका हिसाबले ५ गुणा सस्तो पर्ने र प्रदुषण कम गर्ने भएकाले विद्युतीय गाडी प्रयोग राम्रो देखिने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

प्रदेश राजधानी हेटौंडासँग जोडिने गरी तथा अन्य प्रदेशलाई समेत छुने गरी केही बस सञ्चालन गर्ने योजना छ । काठमाडौं महानगर मेयर विद्यासुन्दर शाक्यले विद्युतीय बस सञ्चालनका लागि यस वर्षको बजेटमा १० करोड बिनियोजन गरिएकोले साझा यातायातसँगको सहकार्यमा बस खरिद गरी सञ्चालन गर्न लागिएको बताउनुभयो ।

उपत्यकामा साना सवारीसाधन बिस्थापित गर्ने योजनाअनुसार विद्युतीय बस सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ । प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारले विद्युतीय बस खरिद गरेर साझासँगको सहकार्यमा सञ्चालन गर्न लागिएको बताउनुभयो ।

साझा यातायात अध्यक्ष दीक्षितले काठमाडांैका लाखौं यात्रुको पीडामा मल्हम लगाउन सरकारीस्तरको बस आवश्यक रहेको बताउनुभयो । विद्युतीय बस छिटो सञ्चालन गर्न आफूहरु आतुर रहेको उहाँको भनाइ छ । प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालले काठमाडौं–हेटौंडा जोड्ने गरी बस सञ्चालन गरिने बताउनुभयो ।

प्रदेश–३ सरकारले चीनमा निर्मित बीवाईडी कम्पनीको विद्युतीय कार खरिद गरेको छ । उक्त कार दुई घण्टा चार्ज गरेपछि ४ सय किलोमिटरसम्म चल्ने बताइएको छ । ३ सय १७ भोल्ट क्षमताको कार १० वर्षसम्म सामान्य ब्याट्री मर्मतमात्र गरे पुग्ने बताइएको छ ।

पेट्रोल र डिजेलको कार–जीपभन्दा सञ्चालन खर्च निकै कम हुने विशेषता भएको कारको मूल्य ५५ लाख परेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा आगामी १० वर्षभित्र प्रदेशबाट पेट्रोल र डिजेलबाट चल्ने सवारी बिस्थापन गरी विद्युतीय सवारीसाधन सञ्चालनको योजना छ ।

मुलुकमा विद्युतीय सवारीसाधन प्रयोग गर्ने लहर चल्न थालेको छ । सरकारले विद्युतीय सवारी प्रवद्र्धनको नीति लिएसँगै यसको प्रयोग बढेको हो । विद्युतीय गाडीमा चार्जिङको समस्या समाधान गर्न काठमाडौं उपत्यकाभित्र २० स्थानमा चार्जिङ स्टेसन निर्माण गरिँदैछ भने प्रदेश–३ सरकारले चितवनको मुग्लिन, हेटौंडा, त्रिभुवन राजपथका विभिन्न स्थानका साथै पूर्वपश्चिम राजमार्गमा पनि चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । हेटौंडास्थित मुख्यमन्त्री कार्यालयमा मल्टियुजर चार्जिङ स्टेसन स्थापना गरिएको छ ।

नेपालमा मोटर उत्पादन नहुने, छिमेकी भारत र चीन दुवैले विद्युतीय गाडी अनिवार्य गर्ने, पेट्रोलियम पदार्थबाट चल्ने मोटर उत्पादन बन्द गर्ने ठूला कम्पनीको घोषणाले पनि नेपाललाई विद्युतीय गाडीमा जानुपर्ने बाध्यता छ । नेपालका लागि विद्युतीय सवारी नयाँ होइन, तर प्रविधि नयाँ हो । सन् १९८० मा ट्रली बस आएको थियो । त्यो पनि इलेक्ट्रिक बस नै हो ।

प्रतिक्रिया दिनुहोस्