संकटाको जित, एनआरटी जितविहीन



नेपाल समाचारपत्र, काठमाडौं
जारी सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले पाँचौ जित हात पार्दा छीमेकी टोली न्युरोड टिम (एनआरटी) ले पाँचौ हार बेहोरेको छ ।
मंगलबार एन्फा मैदानमा भएको खेलमा संकटाले विभागिय टोली नेपाल पुलिस क्लबलाई २–१ ले हरायो । एनआरटी भने अर्को विभागिय टोली नेपाल एपीएफ क्लबसँग २–१ ले हा¥यो । ६ खेलपछि संकटा १५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने एनआरटी १ अंक मात्रै लिँदै पुछारमा रहेको छ । यस्तै पुलिसको १० अंक छ भने एपीएफको ७ अंक भएको छ ।

संकटाका लागि २९औं मिनेटमा सरोज दाहालले गोल गर्दै अग्रता दिलाएका थिए । उनले लक्ष्मण रुचालको कर्नरमा गोल गर्न सफल भएका थिए । ३७औं मिनेटमा दिपेश आले मगरले गोल गर्दै संकटालाई २–० को अग्रतामा राखे । एलोन म्याक्सवेलले दिएको पासमा दिपेशले पुलिसका गोलकिपर शत्रुघन चौधरीलाई कुनै मौका नदिई गोल गरेका थिए ।

त्यसो त पुलिसले यसको लगतै गोल फर्काएको थियो । अभिषेक रिजालको पासमा रवि पासवानले गोल गर्दै अन्तर खुम्चाएका थिए । तर दोस्रो हाफमा गोल नभएपछि संकटाले स्पष्ट ३ अंक जोडेको छ ।

यस्तै यसअघि भएको खेलमा एनआरटीको दुर्दशा अझै मेटिएन । लगातार पाँचौ हार खेपेको एनआरटीले दोस्रो हाफमा पेनाल्टीमा गोल आत्मसात गरेपछि हार भएको थियो । खेलमा एपीएफले तेस्रो मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । दायाँ विंगबाट श्याम नेपालीले दिएको लो क्रसमा अनमार्कमा रहेका युवराज खड्काले क्लोज रेन्जमा गोल गरे ।

एनआरटीले एकपछि अर्को आक्रमण बुनेको थियो । यसको परिणाम १५औं मिनेटमा निस्क्यो पनि । कप्तान प्रवीण सैंजुले दिएको लंग पासमा राजेश परियारले बराबरी गोल फर्काएका थिए । यस्तै एपीएफले ७३औं मिनेटमा सुदीप सिख्राकारले पेनाल्टीलाई गोल गर्दै २–१ को अग्रतामा राखेका थिए । असिम गुरुङले युवराजलाई पेनाल्टी बक्समा लडाएपछि एपीएफले पेनाल्टी हान्ने मौका पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्