देश बनाउने अवसर नघर्काऊ



लामो समयको एकात्मक र केन्द्रीकृत राज्य व्यवस्थाबाट मुलुक संघीयतामा गएको छ । मुलुकमा दुई तिहाई बहुमतको समर्थन रहेको सरकार छ । देशका अधिकांश दल र सरकार स्वयंको दाबी छ– मुलुकमा राजनीतिक अधिकार प्राप्तिको लडाइँ सकिएको छ, अबको युग भनेको समृद्धि र विकासको युग हो । तर अधिकांश राजनीतिक दल र सरकारले भनेजस्तो मुलुक क्रमशः समृद्धिको दिशामा अघि बढिरहेको सर्वसाधारण जनताले अनुभूत गर्न सकिरहेका छैनन् ।

करिब तीन महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेको एक वर्ष पुग्नेछ । यो सरकार पाँच वर्षका लागि बनेको सरकारको भनाइ छ । सरसर्ती हेर्दा सरकार परिवर्तन हुने सम्भावना कम नै छ । लामो समयदेखि खोजेको राजनीतिक स्थिरता अहिले कायम छ । तैपनि मुलुुक विकासको दिशामा सुस्तरी लम्किएको महसुस पनि गर्न सकिएको छैन । राजनीतिक स्थिरता भए पनि किन मुलुक समृद्धिको दिशमा अघि नबढेको ? सर्वसाधरण, निजी क्षेत्र सबैले यो प्रश्न उठाउन थालेका छन् ।

निर्वाचनपछि संविधानतः राज्यको तीनवटै संरचना अस्तित्वमा आएको छ । संघ, प्रदेश र स्थानीय तहले गति लिइरहेको छ । तर राजनीतिक संघीयतासँगै प्रशासनिक संघीयता भने अझै अन्यौलमा रहेको छ । लामो समयदेखि कर्मचारी समायोजनमा अन्यौल कायमै रहेको छ । प्रदेश र स्थानीय तहमा आवश्यक कानुन बन्न सकिरहेको छैन । वास्तवमा सुदूर भविष्यसम्म हित हुने हिसाबले राजनीतिक दल र सरकारले कार्य गर्नुपर्ने हो ।

विश्वमा जति पनि देशहरु समृद्ध बनेका छन्, ती सबै संविधानपछि नेतृत्वको सुझबुझ, दूरदृष्टि, जनताको हितबाट निर्देशित भएर नै बनेका हुन् । यस हिसाबले अहिलेको समय मुलुकको आर्थिक, सामाजिक विकासको लागि दुर्लभ अवसर हो । अहिलेको समयको महत्वलाई नबुझेर राष्ट्र निर्माण गर्ने सुअवसर त हामीले गुमाइरहेका छैनौं ? अहिले देश विकासको बाटोमा अघि नबढे कहिले बढ्ने हो ? यस्ता प्रश्नहरु उठ्न थालेपछि शोक, भोक र निराशाबाट छटपटाइरहेका जनता कुन आशा लिएर समृद्धि र विकासको बाटोमा हिँड्ने हो ? यस्ता प्रश्नहरुको जवाफ दिनबाट सरकार भाग्न मिल्दैन ।

अहिले पनि समय धेरै घर्किएको छैन । बृहत्तर जनताको सहभागितामा मुलुकको विकास कार्य अघि बढाउन सकियो भने राजनीतिक स्थिरता अवसरको रुपमा परिणत हुनेछ । आर्थिक समृद्धिको मार्गचित्र, त्यसलाई प्राप्त गर्ने प्रतिबद्धता र तत्परताविना राजनीतिक स्थिरता स्वयंमा उपलब्धिमूलक हुँदैन । यो कुरालाई हदयङ्गम गरेर सरकार अघि बढ्नु सबैका लागि हितकर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्