महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको तालाबन्दी



नेपालगञ्ज ।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा विद्यार्थीहरुले अनिश्चितकालीन तालाबन्दी गरेका छन् । सोमबार क्याम्पसमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई सहायक क्याम्पस प्रमुख श्रीनिवास अधिकारीले अपमानपूर्ण व्यवहार गरेको भन्दै विद्यार्थी संगठनहरुले क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

बीसीए दोश्रो सेमेष्टरका विद्यार्थीहरुलाई पढाउँदैं गरेका शिक्षक सन्तकुमार बर्मालाई मानविकी संकायका सहायक क्याम्पस प्रमुख अधिकारीले अपमानपूर्ण व्यवहार गर्दै कक्षाकोठाबाट निकालेको भन्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।

अखिलका क्याम्पस कमिटी सचिव प्रकाश बिक, नेविसंघका कार्यबहाक अध्यक्ष सीपी देवकोटा र अखिल क्रान्तिकारीका उपाध्यक्ष उपेन्द्र रावलले संयुक्त विज्ञप्ति जारी गरी अधिकारीले राजीनामा दिनुपर्ने, बीसीएको आफ्नै कम्प्युटर ल्याब निर्माण गर्नुपर्ने र नियमित पठनपाठनको माग गरेका छन् ।

अनेरास्ववियु बाँकेका सचिव टेकेन्द्र मल्लले पटक–पटक प्राध्यापकहरुबाट विद्यार्थीमाथी यसखालका दुव्र्यवहार हुने गरेका कारण आन्दोलनमा उत्रनुपरेको बताए । क्याम्पस प्रमुख र लेखा शाखामा तालाबन्दी गरेका विद्यार्थी संगठनले माग पूरा नभए आन्दोलन सशक्त पार्ने चेतावनी दिएका छन् ।

शिक्षक बर्माले पढाँउदै गर्दा सहायक क्याम्पस प्रमुख अधिकारीले प्रोजेक्टर नै फालिदिएपछि विद्यार्थीहरु आक्रोशित भएका थिए । विद्यार्थीहरुले घटनापछि अधिकारीले माफी माग्नुपर्ने भन्दै क्याम्पस प्रमुख गणेश रेग्मीको ध्यानाकर्षण गराए पनि रेग्मीले चासो नदिएपछि क्याम्पसमा तालाबन्दी गरिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्