अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदै



राजधानीमा सक्रिय ८ नाट्यसंस्था मिलेर नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७५ आयोजना गर्ने भएका छन्। अनामनगरस्थित मण्डला थिएटरमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएअनुसार महोत्सव आगामी फागुन १३ देखि २० गतेसम्म गरिनेछ।

आयोजक समितिका युवराज घिमिरेका अनुसार महोत्सवको शुभारम्भ समारोहमा मुलुकका १० अग्रज नाट्यकर्मीलाई जनही १० हजार रूपियाँसहित नाट्य योगदान सम्मानबाट सम्मानित गरिनेछ। महोत्सवको मुख्य आयोजक समूहमा नाट्यकर्मी अनुप बराल, कवि गीतकार विप्लव प्रतीक, नाट्यकर्मीहरू विमल सुवेदी, चित्रकार अस्मिता रञ्जित र जीआईजेडबाट माइकल थोनहाउजर छन्। ८ नाट्यसंस्थाबाट नाटक आयोजकमा राजकुमार पुडासैनी, राज शाह, केदार श्रेष्ठ, पवित्रा खड्का, आकांक्षा कार्की, विजय बराललगायत छन्।

महोत्सवमा नाटक सहभागिताका लागि यही आगामी १६ पुषसम्म नाटकको आलेख र अभ्यासको भिडियो पठाइसक्नुपर्ने आयोजक पक्षले जनाएको छ। महोत्सव संयोजक सोमनाथ खनालका अनुसार नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७५ मा नेपालका करिब २० र विदेशका करिब १० गरी ३० नाटक मञ्चन गरिनेछन्। नाटक अभ्यास र तयारीका लागि एकल कलाकार भएको नाटकलाई ५० हजार रुपियाँ र बहुलकलाकार भएको नाटकलाई १ लाख रूपियाँ प्रदान गरिनेछ। महोत्सव निर्देशक राजन खतिवडाले निजी नाट्यसंस्थाबाट पनि अन्तर्राष्ट्रियस्तरको महोत्सव गर्न सकिन्छ भन्ने उद्देश्यले आफूहरू ८ नाट्यसंस्था मिलेर महोत्सव गर्न लागेको बताए।

खतिवडाका अनुसार महोत्सव काठमाडौंको अनामनगरस्थित मण्डला थिएटर, बत्तीसपुतलीस्थित गोठाले नाटकघर (शिल्पी थिएटर), कालिकास्थानस्थित सर्वनाम थिएटर, टेकुस्थित कौशी थिएटर र कीर्तिपुरस्थित थिएटर मलमा हुनेछ। यी ५ नाट्यसंस्थासहित कथा घर, एक्टर्स स्टुडियो र वन वल्र्ड थिएटरले संयुक्तरूपमा महोत्सव आयोजना गर्न लागेको हो। महोत्सव निर्देशक राजन खतिवडाका अनुसार करिब २ करोडको बजेटमा यो महोत्सव सम्पन्न हुनेछ। महोत्सवबारे आयोजित पत्रकार भेटघाटमा बोल्दै नाट्यकर्मी अनुप बरालले यो महोत्सवले नेपाली र अन्तर्राष्ट्रिय नाटकलाई जोड्नेछ।

प्रतिक्रिया दिनुहोस्