जी २० सम्मेलन: ट्रम्प–सी ब्यापार युद्ध स्थगित गर्न सहमत



ब्युनस आयर्स (एजेन्सी)
अमेरिका र चीनबीच जारी ब्यापार युद्धलाई लिएर सकारात्मक संकेत मिलेको छ । जी २० सम्मेलन बाहिर अर्जेन्टिनामा शनिबार अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्ष सी जिनपिंगबीच भेटवार्तामा विद्यमान ब्यापार युद्ध स्थगित गर्ने सहमति भएको बताइएको छ ।

ह्वाइट हाउसले ट्रम्प र सीबीच ब्युनर्स आयर्समा भएको बैठक सफल भएको जानकारी दिँदै दुई नेताबीच नयाँबर्षको सुरुवाटसँगै जनवरी १ देश एक अर्कामाथि नयाँ आयात शुल्क नलगाउने सहमति भएको जनाएको छ । दुई नेताले विद्यमान ब्यापार युद्ध अन्त्य गर्न लगातार वार्ता गर्ने प्रतिबद्धता पनि ब्यक्त गरे । वार्ताका क्रममा रात्री भोजको आयोजना पनि गरिएको थियो । पछिल्लो शिखर वार्ताले अमेरिका र चीनबीचको सम्बन्धमा देखिएका हिउँ छिट्टै पग्लिने सक्ने अनुमान गरिएको छ ।

जी २० सम्मेलन बाहिर ट्रम्प र सीबीचको रात्री भोज बैठक करीब अढाइ घण्टा सम्म चलेको थियो । ट्रम्पले चीनमाथि ९० दिनका लागि २ सय अर्ब डलरको सामानमा शुल्क लगाउने योजनामा रोकेको छ । वार्तामा आम सहमति बनाउने विषयमा चर्चा भएको थियो । अमेरिकाले २०१९ जनवरी १ देखि चीको २ खर्ब डलर मुल्यको सामानमा १० देखि १५ प्रतिशतसम्म आयात शुल्क लगाउने तयारी गरिरहेको थियो ।

९० दिनका लागि नयाँ शुल्क नलगाउने

ट्रम्पले भने– हामी ब्यापारमा छलफल गर्छौं , यसबाट चीन र अमेरिक दुबैका लागि सही हुने समाधान निस्कन्छ भन्ने मलाई लागेको छ । सीले विश्व शान्ति र समृद्धीका लागि नेताहरुसँग निजि मित्रताको उल्लेख गरे ।

यसैबर्षको मध्यमा अमेरिकाले चीनको २ खर्ब ५० अर्ब डलरको सामान आयातमा अतिरिक्त शुल्क लगाएको थियो । त्यसको बदलामा चीनले अमेरिकाका ६० अर्ब डलरको सामानमा शुल्क लगाएको थियो ।
यसबीच चाइना डेली र चिनियाँ ब्रोडकास्टर सीजीटीएनले पनि राष्टपति ट्रम्प र सीबीच जनवरी १ पछि कुनै नयाँ अतिरिक्त शुल्क नलगाउनेमा सहमति बनेको पुष्टी गरेको छ ।

द्विपक्षिय वार्ता अगाडी ट्रम्प र सीले ब्युनस आयर्समा आयोजित रात्री भोजमा कयौं महत्वपुर्ण मुद्दामा छलफल गरेका थिए । ट्रम्पले रात्री भोज सुरुभएपछि पत्रकारहरुसँग उक्त सम्बन्ध अत्यन्तै विशेष भएको बताएका थिए ।
सीले ट्रम्पसँगको आफनो मित्रताको उल्लेख गर्दै विश्व अर्थब्यवस्थालाई फाइदा पुर्याउन उनीसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका थिए । सीले भने– हामी बीचको सहयोगले मात्रै विश्व शान्ति र समृद्धि हासिल हुन सक्छ ।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले दिवंगत पुर्व राष्ट्रपति जर्ज एच डब्ल्यु बुसको परिवार प्रति समवेदना ब्यक्त गर्न र मृतक प्रति सम्मान ब्यक्त गर्न आफनो पत्रकार सम्मेलन रद्द गरे । ट्रम्पले ट्विटमा उक्त कुराको जानकारी दिएका थिए । अमेरिकाका ४१ औं राष्ट्रपति बुसको ९४ बर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्