कुरोको चुुरो फुरो क्या



ए ! धरहरालाई आइतबार राति पो कुराको चुरो फुरो क्या । कुरो के भन्देखिन, उही वल्र्ड समिटको । अचम्म लागेको थियो हल्लाखल्ला नै नगरी सरकारी मौनतामा किन यत्रो समिट नेपालमा भइरहेको छ ? ४० देशका राष्ट्रप्रमुख लगायतका मानिसको उपस्थिति रहेको यत्रो महाभेलाको आयोजक किन सरकार भइरहेको छैन ? तर गर्नपर्ने काम चाहिँ सरकारका संयन्त्रहरूले गरिरहेकै छन् ।

धरहराले सुन्या कुरा हो –प्रहरी संयन्त्रले सुरक्षाका लागि मात्र ४३ करोड रुपैयाँ माग्या रे । वाफरेवाफ त्यत्रो पैसा कहाँ लगेर राख्या होला ? अनि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल त झन् प्रमुख संयोजक यो समिटको । सभामुख कृष्णबहादुर महरा पनि अतिथि, पूर्वप्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्ड झन् वक्ता । वारे का वाह ! नेताहरूको भान्सा कहाँबाट कसरी चल्दोरहेछ भन्ने कुरा बल्ल धरहरालाई थाहा हुन थाल्यो ।

अति राष्ट्रवादी नेता प्रधानमन्त्री केपी शर्मा ओली पनि तैँ चूप मै चूप । माधवकुमारसँग ठ्याक ग्रह नमिल्ने मान्छे किन यस्तरी मौन भनेको त धरहराले रहस्य खोज्दाखोज्दै थाहा पाइहल्यो ए, एक करोड पुरस्कार लिन पो रहेछ । त्यत्रो समिट गराएपछि एक करोड पारिश्रमिक दिन के ठूलो भयो र पैसावाला सआयोजकलाई ? एउटा हातले दिने अर्काे हातले लिने ? पैसो भयो भने मुलुक त एक–दुईजनाले पनि हल्लाइदिन सक्दारहेछन् गाँठे ।

क्यावत् गोरखाली एकनाथ ? तपाईँ कहाँ एकनाथ मात्रै हो र ! अनेक नाथ, केपी नाथ, माधवनाथ, प्रचण्डनाथ महरानाथहरूलाई समेत नचाउन सक्ने तपाईँ दुईनाथ तीननाथ हुँदै होइन महानाथ ! तपाईँले परिवार दललाई कम्युनिष्टमा बिलय गराएको अहिले पो त छर्लङ्ग भयो त ।

प्रतिक्रिया दिनुहोस्