भूकम्प पीडित भन्छन्–संस्थाले गुणस्तरहिन घर बनायो



चिरञ्जीवी मास्के, दोलखा
दोलखाको भीमेश्वर नगरपालिका–९ लाकुरीडाँडामा भुकम्प पीडितहरुको लागि एसओएस चिल्ड्रन भिलेजले बनाई दिएको घर गुणस्तरहिन देखिएको छ । करोडौको लगानीमा बस्तीमा घर निर्माण भएपनि काम गुणस्तरहिन घरमा पानी चुहिने समस्या देखिएको स्थानिय भुकम्प पीडितको गुनासो छ ।

चिल्ड्रन भिलेजले सुरुमा लाकुरीडाँडामा रहेका एक सय सात परिवारको घर पूर्ण लगानिमा बनाई दिने घोषणा गरेको थियो । पछि घर निर्माणको क्रममा स्थानिय भुकम्प पीडित स्वयमले समेत दुई देखि तीन लाखसम्म थप गर्नु परेको थियो । तर अहिले त्यतिधेरै लागतमा निर्माण भएको घरमा पानी चुहिने समस्या भएपछि मर्मतको लागि अर्को एक डेढलाख खर्च लाग्ने देखिएको स्थानिय भुकम्प पीडित बुद्ध लामाले बताए ।

नयाँ घरमा पानी चुहिने समस्या भएपछि आफुहरु टहरामै बस्न बाध्य भएको र चिल्ड्रन भिलेजले मर्मतको लागि सहयोग गर्ने भनेपनि कहिले र कति भन्ने यकिन नभएको अर्का स्थानिय वीरमान तमाङले बताए । ‘आफ्नो घर आफै बनाउछौ भन्दा पनि संस्थाका प्रतिनिधिहरुले मानेनन्, अहिले गुणस्तर हिन सामग्री प्रयोग गरेर चुहिने घर बनाईदिएर हामीलाई टहरामै राखे’–अर्का पीडित बुद्ध लामाले आक्रोश व्यक्त गरे ।

अर्का पीडित ओम तमाङले पनि घर बनाउने ठेकेदारले लार्पबाहि गर्दा समस्या देखिएको बताए । त्यसबारे संस्थालाई जानकारी गराउदा पनि संस्थाले व्यवस्ता गरेको र संस्थाले खर्चको बारेमा सार्वजनिक सुनवाई समेत नगरेको उनको भनाई छ । नयाँ घरमा पानी चुहिने समस्या भएपनि धेरै जसो परिवारले आफै मर्मत गरेका छन् ।

घर निर्माणमा करोडौको लगानि गरिएको भएपनि सरकारी अनुदान र भुकम्प पीडितको लगानि बाहेक संस्थाले कति खर्च गरेको छ भन्ने कुरा समेत सार्वजनिक गरेको छैन । दुई कोठे एउटा घर निर्माणमा १८ लाख खर्च भएको स्थानियको अनुमान छ । तर संस्थाले स्थानिय जनशक्ति प्रयोग नगरेको र हिसाब समेत नदिएकोले यकिन हिसाब थाहा नभएको पीडित बताउछन् ।
एसओएस चिल्ड्रन भिलेजका सञ्चार निर्देशक सिताराम सुवेदी संस्थाले बनाएको घरमा सामान्य पानी रसाउने समसया देखिएको स्वीकार गरे । तर त्यो समस्या गुणस्तर हिन सामग्रीको प्रयोगबाट भएको नभै छतमा पानी पट्टी नदिएको कारण देखिएको उनले बताए ।

प्रतिघर नौ लाख ७५ हजार एक सय ११ पैसा र खानेपानी, शौचालय, रंगरोगन, विजुली सहित १४ लाख ४८ हजार एक सय ९२ रुपैया ११ पैसा खर्च भएको उनको भनाई छ । यसको जानकारी जिल्ला समन्वय समिति, भीमेश्वर नगरपालिका लगायतलाई सुवेदीले बताए । यही मंसिर २० गते स्थानियको समेत सहभागितामा खर्चको विवरण सार्वजनिक गर्ने तयारी भएको उनले बताए ।

घरमा देखिएको समस्या समाधानको लागि लाग्ने मर्मत खर्च ८० प्रतिशत संस्थाले दिने र २० प्रतिशत सम्बन्धित घर धनिले हाल्ने सहमति भएको सुवेदी बताउँछन् । ‘संस्थाले बनाएका एक सय ७ घर मध्ये ७५ भन्दा बढी घरमा भूकम्प प्रभावित परिवार बसिरहेका छन्’–उनले भने ।

घर निर्माणमा संस्थाले कति खर्च गरेको हो त्यसको पूर्ण हिसाब सहितको प्रतिवेदन दिन चिल्ड्रन भिलेजलाई भनिए पछि उसले विवरण बुझाएको तर त्यसमा स्थानिय सन्तुष्ट नभएको भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले बताए । ‘उनीहरुको प्रतिवेदन र प्रतिवद्धतामा अझै पनि भुकम्प पीडित सन्तुष्ट हुन सकेका छैनन् नगरप्रमुख केसीले भने – स्थानिय भुकम्प पीडित सन्तुष्ट हुने काम नभएसम्म नगरपालिकालाई मान्य हुदैन ।’

प्रतिक्रिया दिनुहोस्