कालीगण्डकी बहुउद्देश्यीय परियोजनाको पूर्व संभाव्यता अध्ययन शुरु



दुर्गाप्रसाद शर्मा , पर्वत ।
एक हजार मेघावाट बिद्युत, सिंचाइ र जलयात समेत सञ्चालन गर्न सकिने जलासययुक्त कालीगण्डकी बहुद्देश्यीय परियोजनाको पुर्व संभाब्यता अध्ययन शुरु भएको छ ।

उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले पर्वत, बागलुङ्ग र गुल्मी जिल्लामा निर्माण हुने परियोजनाको बिस्तृत सर्बेक्षणका लागि पहिलो चरणको काम सुरु गरेको हो । सरकारले आर्थिक बर्ष २०७५/०७६ को बजेटमा कालीगण्डकी बहुउद्देश्यीय परियोजनाको संभाब्यता अध्ययनका लागि बजेट बिनियोजना गरेको छ ।

सर्बेक्षणका लागि बिद्युत बिकास बिभागको एक टोलीले शुक्रबार देखि भौगोलिक अवस्था, बिद्युतगृह, बाँध निर्माण गर्न सकिने संभाब्य स्थलहरुको स्थलगत निरीक्षण र अवलोकन गरेका छन । इन्जिनियर रबि नेपाल सहितको टोली संभाब्य निर्माणस्थल र भौगर्भिक अवस्थाको बारेमा जानकारी लिइरहेको छ । परियोजनाको संभाब्य बाँधस्थल पर्वतको बिहादी गाउँपालिका १ र २ को बिचमा पर्ने खबराभिर देखि बाँध निर्माण गर्न सकिने बिहादी गाउँपालिका वडा नं ६ सेतीबेणी सम्मको अध्ययन गर्ने कार्यक्रम रहेको टोलीका सदस्य रबि नेपालले जानकारी दिए । ‘अहिले भौगोलिक र अन्य अवस्थाका बारेमा अध्ययन गरिरहेका छौ’ उनले भने ।

प्रदेश नं ४ र ५ कै सबैभन्दा ठुलो जलबिद्युत परियोजनाको रुपमा बन्न सक्ने कालीगण्डकी बहुउद्देश्यी परियोजनाको बिस्तृत संभाब्यता अध्ययन गर्दै परियोजना अघि बढाउन राष्ट्रिय र स्थानियस्तरमा तीब्र लबिङ्ग भैरहेको छ । कालीगण्डकी बहुउद्देश्यीय परियोजनाबाट कालीगण्डकीको तटिय क्षेत्रको बिकास हुने भएकाले परियोजना अघि बढाउन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, पर्वत र बागलुङ्गबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने साँसद देखि तटीय क्षेत्रका ६ वटा स्थानिय सरकारले लबिङ्ग गर्दै आएका छन । यो परियोजना अघि बढेमा पर्वत, बागलुङ्ग र गुल्मीको ठुलो भूभागमा पर्यटन, सिंचाई र यातयातका क्षेत्रमा छलाङ्ग मार्ने बिश्वास स्थानियको छ ।

नेपाल बिद्युत प्राधिकरणले २०५२ सालमा गरेको प्रारम्भिक अध्ययनका अनुसार कालीगण्डकी बहुउद्देश्यीय परियोजनाबाट १ हजार मेघावाट बिद्युत उत्पादन गर्न सकिन्छ भने कालीगण्डकी किनारका हजारौ हेक्टर फाँटहरुमा सिंचाई सुबिधा दिन सकिन्छ । यसबाहेक जलासयमा झण्डै ६० किलोमिटर क्षेत्रमा जलयातयात सञ्चालन गर्न पनि सकिने अध्ययनबाट देखिएको प्राधिकरणका पुर्ब निर्देशक समेत रहेका आइपी तिवारीले जानकारी दिनुभयो ।

कालीगण्डकी नदीमा पर्वतको बिहादी गाउँपालिका १ बाच्छा र बिहादी तथा बाग्लुङ्गको जैमुनी नगरपालिका वडा नं ८ छिस्तीको बिचमा कालीगण्डकी नदीमा १ सय ४५ मिटर अग्लो उच्च बाँध बाँधेर ८ किलोमिटर सुरुङ्गबाट बिहादी गाउँपालिकाको वडा नं ६ गोलाङ्गमा बिद्युत गृह बनाउन सकिन्छ । यसरी जलासययुक्त आयोजनाबाट १ हजार मेघावाट बिद्युत उत्पादन गर्न सकिन्छ । कालीगण्डकी गहिरो खोँच भएर बगेका कारण जलासय ६० किलोमिटर माथि मालढुंगा सम्म आइपुगेपनि धेरै जमिन अधिग्रहण गर्नु पर्दैन भने ठुला बस्ती समेत उठाउन पर्दैन ।

६० किलोमिटरमा जलयात्रा गराउँदै पर्यटन बिकास गर्न सकिन्छ । कालीगण्डकीको गहिराईका कारण यसका किनारका फाँटहरुमा सिंचाई पुग्न सकेको छैन । यो परियोजना कार्यान्वयनमा आउँदा सबै फाँटहरुमा सिंचाई पनि उपलब्ध गराउन सकिन्छ । एउटै आयोजनाबाट बिद्युत र सिंचाई आयोजना बनाउँदा लागत मुल्य समेत असाध्यै कम पर्ने हुन्छ । यस्तै परियोजना अन्यत्र बनाउन परेमा १५ हजार भन्दा बढी स्थानियबासी बिस्थापित हुन्छन तर यो परियोजनामा पाँच सय घर पनि बिस्थापित हुँदैनन ।

प्रतिक्रिया दिनुहोस्